२ वर्षपनि टिकेन बिजुली बेचेर धनी नभइने ज्ञानेन्द्रलालको सोच, भन्छन्- अब बिजुली बेचेरै धनी हुने हो



काठमाडौं । दुई वर्ष अगाडि ऊर्जा उद्योगी ज्ञानेन्द्रलाल प्रधानले क्लिकमाण्डूसँगको कुराकानीमा अब विजुली बेचेर धनी बन्न नसक्ने बताएका थिए ।

तर, दुई वर्षपछि उद्यमी ज्ञानेन्द्रलाल प्रधानले १ सय ६४ मेगावाटको कालिगण्डकी गर्ज बनाउनको लागि चीनको युनान हाइड्रो सोलुसनसँग सम्झौता गरे ।

दुई वर्षअघि विजुली बेचेर धनी भइदैन भन्ने प्रधान किन पुरानो नीतिमा फर्के ? यसबारे हामीले प्रधानलाई प्रश्न गरेका थियौ । उनको भनाई जस्ताको तस्तैः

दुई वर्ष अगाडि विजुली बेचेर धनी बन्न सकिदैन भन्ने अवस्थामा म पुगेको थिए । हाइड्रो पावरबाट लगानीसमेत कम गर्दै लगेको थिए ।

दुईवर्ष अगाडि र अहिलेको फरक भनेको बजार हो । सबै कुरा बजारले निर्धारण गर्ने हो । डिसेम्बर १८ मा भारतले विजुली आयातको नीति परिवर्तन गर्यो । पहिला भारतको ५१ प्रतिशत लगानी भएको कम्पनीले उत्पादन गरेको मात्र विजुली आयात गर्ने नीति थियो । यसलाई भारतले अहिले परिवर्तन गरेको छ ।

अब बिजुली बेचेर धनी हुने सपना नदेखे हुन्छ

अर्को बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विजुली आयात गर्न सक्ने बताएको छ । नेपालको विजुली भारत हुँदै बंगलादेश जाने हो । यसमा भारतले सहजिकरण गर्ने भनेको छ । विजुली बेच्नको लागि अहिलेजस्तो उपयुक्त वातावरण कहिले पनि छैन ।

आन्तरिक बजारको लागि मेरो पहिलेको अडान कायम नै छ । ११/१२ प्रतिशत बैंकको ब्याजदरमा अहिलेको पिपिए दरमा विजुली बेचेर फाइदा छैन ।

दुई वर्ष अगाडि भएको लगानी सम्मेलनमा जलविद्युत्मा लगानी गर्नको लागि लगानीकर्ता आएका थिए । तर, बजार सुनिश्चित थिएन । बजार सुनिश्चित नभएको कारण पश्चिम सेतीबाट थ्री गर्जेज फिर्ता गयो ।

अहिले नेपालको जलविद्युत्मा लगानी गर्नको लागि लगानीकर्ता आएका छन् । त्यो सँगै बजार समेत सुनिश्चित भएको छ ।

भारतले सोलारबाट ठूलो मात्रामा विद्युत् उत्पादन गरेपनि साझ ५ बजेदेखि ९ बजेसम्म अत्याधिक मागको कारण विद्युत् आपूर्ति सहज छैन । यस्तै अवस्था बंगलादेशको पनि छ । यस्तो अवस्थामा विद्युत् आपूर्ति गर्ने भनेको जलविद्युत्बाट हो ।

भारतले विद्युत् आपूर्तिको नीतिमा परिवर्तन गरेपछि बेच्नको लागि उपयुक्त मौका आएको छ । अत्याधिक महंगो ऊर्जा भारतले अहिले उपयोग गरिरहेको छ ।

सरकारले लगानी सम्मेलन गरेर लगानीकर्तालाई राम्रो सन्देश दिएको छ । हामीले बनाउन लागेका परियोजना बनाउने बेलामा माग अझै बढ्छ । बजारको सुनिश्चितता समेत भएको हुँदा विजुली बेच्ने सुनौलो मौका आएको छ । यसलाई गुमाउनु हुँदैन ।

लगानी सम्मेलनमा सरकारले प्रतिबद्धता जनाए अनुसारको काम कार्यान्वयन गर्नुपर्छ । अबको ५ वर्षभित्रमा विजुली बेच्न सक्ने गरेर हामीले काम गर्नुपर्छ । यो मौका गुम्यो भने हामीले विजुली कहिलेपनि बेच्न सक्दैनौं ।


पुष्प दुलाल