‘सेयर धितोमा बैंकले ६५ प्रतिशत ऋण दिने ब्यवस्था छ तर अवस्था छैन’



काठमाडौैं । गत पुस ११ गते राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गर्दै सेयर धितोमा ६५ प्रतिशत ऋण दिन निर्देशन दियो । त्यतिमात्रै होइन राष्ट्र बैंकले बैंकहरुको प्राथमिक पुँजीको २५ प्रतिशत मात्रै सेयर धितोमा ऋण दिन पाउने ब्यवस्थालाई बढाएर ४० प्रतिशत पुर्यायो ।

यही व्यवस्था गर्न माग गर्दै सेयर लगानीकर्ताहरु लामो समयदेखि विभिन्न निकायमा डेलिगेसन धाइरहेका थिए ।

राष्ट्र बैंक र अर्थ मन्त्रालयले आफूहरुका माग नसुनेको भन्दै लगानीकर्ताहरु आमरण अनसनसमेत बसे । अनसन बस्ने लगानीकर्ताहरुको मागमध्ये सेयर धितोमा दिइने ऋणको सीमा बढाउनुपर्ने, एनआरएन भित्र्याउनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका माग थिए ।

सबैभन्दा पहिला राष्ट्र बैंकले लगानीकर्ताका माग पूरा गरिदियो, त्यसपछि नेपाल धितोपत्र बोर्डले ।

लगानीकर्ताहरुका अधिकांश माग सम्बोधन भइसक्दा पनि नेप्से किन बढ्न सकिरहेको छैन ? यो भने अहिलेको महत्वपूर्ण प्रश्न हो ।

लगानीकर्ताहरु आन्दोलनमा उत्रिएपछि सरकार उनीहरुको माग सम्बोधन गर्न बाध्य भयो । तर, बजार भने बढ्ने अवस्थामा नभएकाले माग सम्बोधन हुँदा पनि त्यसको प्रभाव नदेखिएको जानकारहरु बताउँछन् ।

‘राष्ट्र बैंकले बैंकहरुलाई सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण दिन निर्देशन दियो, तर बैंकहरु थप ऋण विस्तार गरिरहेका छैनन्’ सेयर लगानीकर्ता दिलीप मुनाकर्मीले क्लिकमाण्डूसँग भने, ‘जसकारण पनि बजार बढ्न नसकेको हो । ’

लगानीकर्ता मुनाकर्मीले भनेको कुरामा माछापुच्छ्रे बैंकका डेपुटी सीइओ सन्तोष कोइराला पनि सहमत छन् ।

‘तरलता अभावका कारण बैंकहरु थप ऋण विस्तार गर्न सन्के अवस्थामा नएकाले राष्ट्र बैंकले सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण दिनू भने पनि बैंकहरुले दिन सकिरहेका छैनन्,’ कोइरालालो क्लिकमाण्डूसँग भने, ‘बैंकले ऋण दिनसक्ने अवस्था भएर पनि ऋण नदिएका होइनन्, बैंकहरु ऋण दिन सक्ने अवस्थामा नै छैनन् ।’

खासगरी बैंकहरुले पुस मसान्त नसकिएसम्म थप ऋण विस्तार नगर्ने उनको भनाइ थियो ।

राष्ट्र बैंक र धितोपत्र बोर्डले लगानीकर्ताका माग समबोधन गर्ने हल्लाले नै बजार ४०÷५० अंकले बढेको थियो । तर, त्यसयता संस्थागत लगानीकर्ता म्युचुअ फण्डहरुले धमाधम सेयर बिक्री गरिरहेका छन् ।

म्युचुअल फण्डमा सेयर बजारका विज्ञहरु हुन्छन् । विज्ञहरुले प्राविधिक विश्लेषण गर्दा बजार बढ्ने नदेखेपछि बजारबाट बाहिरिएका हुन् । जसकारण पनि सेयर बजार लगातारजसो घटेको हो ।

सामान्य लगानीकर्ताहरुले यस्तो कुरा बुझ्न जरुरी छ ।


पुष्प दुलाल