वाणिज्य बैंकहरुले भारतीय मुद्रामा ऋण नेपाल ल्याउन असम्भव



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण ल्याएर यहा लगानी गर्ने बाटो खोलिदियो ।
वाणिज्य बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म भारतीय बैंकबाट ऋण ल्याएर यहाँ तोकिएको क्षेत्रमा ऋण दिन पाउँछन् ।

मौद्रिक नीतिमा भारतीय बैंकबाट भारतीय मुद्रामा ऋण ल्याउने बाटो खोलेपछि केहीले नेपालमा भारतीय मुद्रा नै चलाउन खोजेको रुपमा समेत बुझे । अझ सर्बोच्च अदालतमा समेत यो विरुद्दमा मुद्दा समेत दायर भयो ।

सर्बोच्चले सुरुमा अन्तरिम आदेश दिएर भारतीय मुद्रामा ऋण ल्याउन रोक लगायो । पछि सर्बोच्चले अन्तरिम आदेश खारेज गरेपछि कानूनी रुपमा नै वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण ल्याउने बाटो खुल्ला भयो ।

राष्ट्र बैंकले परिपत्र्य विदेशी मुद्रामा वाणिज्य बैंकलाई ऋण ल्याउने बाटो खुल्ला गरेको थियो । भारतीय मुद्रासँग स्थिर विनिमयदर अपनाएको र दुईतिहाईभन्दा बढी व्यापार भारतसँग भएको हुँदा भारतीय मुद्रामा समेत ऋण ल्याएर यहाँ लगानी गर्न सकिने कानूनी बाटो राष्ट्र बैंकले खोलेको थियो ।

नेपालमा लगानीको लागि आन्तरिक पुँजीले मात्र नपुग्ने भएको हुँदा वाणिज्य बैंकलाई नै विदेशी बैंकबाट परिपत्र्य विदेशी मुद्रा वा भारतीय मुद्रामा ऋण ल्याएर यहाँ उत्पादन मुलक क्षेत्रमा ऋण दिने व्यवस्था गरिएको थियो ।

अहिलेसम्म परिपत्र्य विदेशी मुद्रामा एनएमबि बैंकले मात्र ऋण ल्याएको छ । केही बैंकले प्रक्रिया सुरु गरेपनि धेरै बैंकले भने विदेशी बैंकबाट ऋण लिने सम्भावना छैन ।

राष्ट्र बैंकले भारतीय मुद्रामा समेत ऋण ल्याएर यहाँ लगानी गर्न सक्ने बाटो खोलेपछि धेरैको बुझाई भारतीय बैंकबाट ऋण आउछ भन्ने थियो । नेपालमा भारतीय लगानीमा खुलेका दुईवटा वाणिज्य बैंक पनि छन् । नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकमा भारतीय बैंकको लगानी छ ।

तर, भारतीय मुद्रामा नेपालमा ऋण ल्याउनको लागि सम्भव नभएको भारतीय सयुक्त लगानीमा स्थापना भएका बैंकका अधिकारीहरु बताउँछन् ।

‘पहिलो भारतीय केन्द्रीय बैंकले नै यसरी विदेशमा ऋण लगानीको लागि अनुमति दिदैन, दिएपनि ब्याजदर यहाभन्दा महंगो हुने हुँदा ऋण ल्याएर फाइदा छैन,’ भारतीय लगानी रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

यसले भारतीय लगानीमा खुलेका बैंकले नै नेपालमा भारतीय मुद्रामा ऋण ल्याउन नसक्ने देखिएको छ ।


क्लिकमान्डु