कृषि बीमाको दायरा बढ्दै, अघिल्लो वर्षभन्दा ४३ प्रतिशतले बढ्यो बीमा शुल्क




काठमाडौं । कृषि तथा पशुबाली बीमा शुल्क आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आर्थिक वर्ष २०७४/७५ मा ४३ प्रतिशतले बढेको छ ।

बीमा समितिका उपनिर्देशक कुन्दन साप्कोटाका अनुसार गत आर्थिक वर्षमा कृषि बीमाबाट ५७ करोड २८ लाख ५१ हजार रुपैयाँ बराबरको बीमा शूल्क संकलन भएको छ ।

सो बीमा शुल्कको करिब आधा रकम बीमा दाबी पर्ने गरेका छ । गत आर्थिक बर्षमा बीमा कम्पनीहरुले ३० करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी किसानलाई दिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७३÷७४ सालमा ४२ करोड ५९ लाख २४ हजार रुपैयाँ बराबर बीमा शूल्क मार्फत संकलन भएको थियो भने २५ करोड ५८ लाख ६९ हजार रुपैयाँ भुक्तानी भएको थियो ।

त्यसअघि २०७२/७३ सालमा २७ करोड ८७ लाख ४५ हजार रुपैयाँ बराबर बीमा शूल्क संकलन भएको थियो भने ११ करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबर रकम भुक्तानी भएको थियो ।

२०७२/७३ सालमा १६ करोड १० लाख २ हजार रुपैयाँ बराबर रकम बीमा शूल्क मार्फत संकलन भएको छ । सो अवधिमा ८ करोड ८ लाख २९ हजार रुपैयाँ भुक्तानी भएको थियो ।

यसरी बीमा समितिको तथ्याङ्कले प्रत्येक वर्ष कृषि बीमाप्रती चासो बढ्दै गएको देखिन्छ ।

बीमा समितिका उपनिर्देशकसापकोटाका अनुसार पछिल्लो समय बीमा समितिले बीमा कम्पनीलाई ७ वटै प्रदेशको पहँुचमा पुर्याउने गरी काम गरिरहेको छ ।

‘हामी कृषि बीमालाई ७ वटै प्रदेशमा पुर्याउने अभियानमा लागेका छौँ, बीमाको पहुँच बर्सेनि बढ्दो क्रममा छ,’ सापकोटाले भने ।

यस्तै, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीका अनुसार पछिल्लो सयम बीमा गाउँसम्म जान थालेपनि पशु पशुपालनको तुलनामा बालीलाई कम महत्व लिइने गरेको बताए ।

कतिपयले सजिलै पाएको, तर केहीले कम्पनी, भूगोल र पात्र विशेष असहज बन्ने गरेको उनले बताए ।

‘बीमा गरे जति प्रायः सबैले क्षतीपुर्ती पाएका छन्, धेरै जसो अवस्थामा राम्रो पनि देखिएको छ, केहीमा नराम्रो असर परेको समेत पाइएको छ,’ अधिकारीले भने ।

कृषि तथा पशुबाली बीमा कार्यक्रम २०६९ देखि कृषि बीमा शुरु भएको हो । निर्जीवन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै पठाउने गरिएको छ ।


क्लिकमान्डु