कुन कम्पनीमा बीमा गर्दा बढी फाइदा हुन्छ ? राम्रो कम्पनी कसरी छनोट गर्ने ?




काठमाडौं । जोखिम बहनको लागि बीमा गर्ने गरिन्छ । बीमाले बहन गर्ने भनेको आर्थिक जोखिम नै हो ।

तपाइले बीमा गर्दा जुन अवधिको लागि जति रकम बराबरको बीमा गर्नुहुन्छ त्यो अवधिसम्म किस्ताबन्दी रुपमा त्यति नै रकम तिर्नुपर्छ । जस्तो कि १५ बर्षमा पैसा फिर्ता पाइने गरी तपाइले ५ लाखको बीमा गर्नुभयो भने बर्सेनि ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा रकम बुझाउनु पर्छ ।

यो भनेको तपाइले १५ बर्षमा किस्ताबन्दी रुपमा ५ लाख रुपैयाँ बझाएपछि ५ लाख नै रुपैयाँ फिर्ता पाइन्छ भन्ने हो । यसरी हेर्दा किस्ताबन्दी रुपमा पैसा बुझाएर निश्चित अवधिपछि आफ्नै पैसा एकमुष्ठ लिने प्रक्रिया नै बीमा रहेछ भन्ने लाग्न सक्छ ।

तपाइलाई यस्तै लागिरहेको छ भने यो थोरै सत्य मात्रै हो । पूर्ण सत्य त हुदै होइन । किनभने यसका अरु पाटा पनि छन् ।

जस्तो कि तपाइले केही किस्ता तिर्ने वित्तिकै कुनै कारणले तपाइ पूर्ण रुपमा असक्त वा अंगभंग हुनुभयो भने तपाइले बाँकी किस्ता नतिरी पनि बिमांक रकम अर्थात माथिको उदाहरण अनुसार ५ लाख रुपैयाँ नै पाउनु हुन्छ ।

दुर्घटना वा अन्य कारणले योबीचमा तपाइको मृत्यू भयो भने बीमा कम्पनीले तपाइका आफन्तलाई बाँकी किस्ता तिर्न नलगाइकन तपाइको आफन्तलाई ५ लाख रुपैयाँ नै दिन्छन् । यसको लागि तोकिएको समय अर्थात माथिको उदाहरणमा उल्लेख गरिए जस्तो बीमा गरेको दिनदेखि १५ बर्ष नै पुगिरहनु पनि पर्दैन ।

तर, खासमा तपाइले बीमा गर्दा जति रकम बीमा कम्पनीलाई बुझाउनु हुन्छ त्योभन्दा बढी रकम तपाइले प्राप्त गर्नुहुन्छ । कति बढी रकम पाइन्छ भन्ने यकिन कसैले पनि भन्न सक्दैन । यसको तय बोनस दरले गर्छ ।

बीमा कम्पनीहरुले दिने बोनस दर प्रत्येक बर्ष बढ्न या घट्न सक्छ । जस्तो कि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यो बर्ष बोनस दर ६५ छ भनेको छ । यो भनेको तपाइले बीमा गरेको रकमको प्रतिहजारमा ६५ रुपैयाँ बोनस पाउनु हुन्छ भनेको हो । अर्थात तपाइले यो बर्ष प्रतिहजार रुपैयाँमा ६५ रुपैयाँ बोनसको हिसाबले माथि उदाहरणमा दिइएको ५ लाख रुपैयाँको बीमामा ३२ हजार ५ सय रुपैयाँ बोनस पाउनु हुन्छ ।

अर्काे बर्ष यही बोनस दर कायम नहुन सक्छ । घट्न वा बढ्न सक्छ । यो बोनस दर बढेर ७० रुपैयाँ भयो भने तपाइले पाउने बोनस रकम बढी हुन्छ र घटेर ६० रुपैयाँ भयो भने कम हुन्छ । त्यसकारण आज तपाइले १५ बर्षको लागि ५ लाख रुपैयाँको बीमा गर्दा १५ बर्षपछि कति रकम पाइन्छ भन्ने थाहा हुदैन ।

अहिले बढी बोनस दिएका कम्पनीको आर्थिक अबस्था भोलिका दिन नराम्रो भयो भने बोनस दर घट्न सक्छ । अझ राम्रो भयो भने बढ्न सक्छ । आज बोनस दर कम भएका कम्पनीको आर्थिक अवस्था राम्रो भयो भने भोलिका दिनमा त्यस्ता कम्पनीको बोनस दर बढी पनि हुन सक्छ ।

बोनस दर प्रत्येक बर्ष सम्बन्धित बीमा कम्पनीको बिमांकीय मूल्याकनकर्ता (एक्चुरी) ले गरेको मूल्यांकनको आधारमा सम्बन्धित कम्पनीले प्रस्ताव गर्छ । यस्तो प्रस्ताव उपर बीमा क्षेत्रको नियामक निकायले तोकेको एक्चुरी पुन मूल्यांकन गर्दै ठीक छ भन्ने लागेपछि बीमा समितिले स्वीकृति दिन्छ । अनिमात्र कम्पनीले बिमितलाई बोनस दर दिन्छन् ।

अब कुन कम्पनीको बोनस दर आजको दिनमा कति छ भनेर पनि हेरौं ।

लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) को बोनस दर प्रतिहजारमा कम्तिमा ६१ रुपैयाँ र बढीमा ७५ रुपैयाँ छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दर ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दर ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दर ४१ रुपैयाँदेखि ८५ रुपैयाँसम्म छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दर ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म छ । यो कम्पनीका अधिकांश बीमालेखको बोनस दर ६५ रुपैयाँ छ ।

मेट लाइफ (एलिको) को बीमालेखको बोनस दर ४५ रुपैयाँदेखि ७० रुपैयाँ छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको गत बर्ष ४१ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनस दर थियो । यो बर्ष कम्पनीले नयाँ बीमा दर स्वीकृत गराइ सकेको छैन ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको गत बर्ष ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस दर थियो । नेसनलले पनि यो बर्षको बोनस दर स्वीकृत गराइसकेको छैन ।

सबै बीमा कम्पनीहरुको विस्तृत बोनस दर यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।


क्लिकमान्डु