पुँजीगत लाभकरः सेयर खरिद बिक्री ठप्प पार्ने सरकारको नीति




काठमाडौं । सरकारले सेयर खरिद विक्री ठप्प पार्ने गरी कर निर्धारण गरेको छ । बोनस र हकप्रद सेयरको विक्रीमा १०० रुपैयाँ लागत मानेर सोभन्दा बढी जति लाभ हुन्छ त्यति नै रकम बराबरको लाभकर तिर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङलाई पत्र पठाउँदै यस्तो ब्यवस्था गर्न गराउन भनेको छ ।

अहिले बजारमा हकप्रद र बोनस सेयरको संख्या बढी छ । नेपाल राष्ट्र बैंकले २०७२ साल साउनमा ल्याएको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी कम्तिमा पनि ४ गुणाले बढाइएको थियो । यसरी चुक्ता पुँजी बढाउन अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद र बोनसकै सहारा लिएका थिए ।

यस्तै गत बर्ष मात्रै बीमा समितिले पनि बीमा कम्पनीहरुको चुक्ता पुँजी ४ गुणाले बढाउने नीतिगत ब्यवस्था गरेको छ । यस्तो ब्यवस्था पालना गर्न बीमा कम्पनीहरुले पनि हकप्रद र बोनस सेयरकै सहारा लिएका छन् ।

यस्तो ब्यवस्थाले बजारमा साधारण सेयर (आइपिओ) को भन्दा हकप्रद र बोनस सेयरकै संख्या बढी छ । यही सेयरमा आयकर बढी तिर्नुपर्ने भएपछि सेयर कारोबार नै ठप्प हुने संकेत मिलेको छ ।

आन्तरिक राजस्व विभागले अहिले गरेको ब्यवस्था अनुसार तपाइले १०० रुपैयाँमा किनेको वा बोनसको रुपमा प्राप्त गरेको सेयर बजार मूल्य अनुसार ७ सय रुपैयाँमा बेच्नुभयो भने तपाइलाई फाइदा भएको ६ सय रुपैयाँको ब्यक्तिले ७.५ प्रतिशतका दरले र संस्थागत लगानीकर्ताले १० प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्ने भएको छ ।


क्लिकमान्डु