बैंकका सीइओहरु भन्छन्- सञ्चालकको होइन, बजारको दबाब छ
काठमाडौं । पछिल्लो समय बैंक सञ्चालकहरुले व्यवस्थापनलाई तीब्र दबाब दिएको भन्ने व्यापक गुनासोहरु सुनिए । आधा दर्जन बढी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले जागिर नै छाडिदिए ।
जागिर छाड्नुका कारणहरुमध्ये सञ्चालक समितिको थेग्नै नसकिने दबाब एक प्रमुख कारण रहेको उनीहरुको प्रतिक्रिया छ ।
तर, खुलेरै भने उनीहरु यो कारण भन्न चाहँदैनन् ।
अनौपचारिकरुपमा कुरा गर्दा भने खासगरी चुक्ता पुँजी बढाएपछि सञ्चालक समितिले व्यवस्थापनमाथि हस्तक्षेप बढाएको गुनासो गर्छन् ।
‘पुँजी बढाएपछि सोही अनुपातमा बिजनेश र नाफा बढाउन सञ्चालक समितिले तीब्र दबाब दिएपछि पदबाट राजिनामा दिएँ,’ एक वाणिज्य बैंकबाट केही समयअघि जागिर छाडेकाको सीइओले क्लिकमाण्डूसँग भने ।
आफूले दबाब भोगिरहेको भए पनि कतै सीइओहरुले जागिरको लोभमा भन्न डराएका त होइनन् ? यो प्रश्नको जवाफ चाहीँ अहिले भेटिएको छैन । समयक्रममा जवाफ आउने नै छ ।
हप्ता दिनअघि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पनि बैंकका सञ्चालकहरुले व्यवस्थापनमाथि अनावश्यक दबाब दिएको भन्दै आइन्दा यसो नगर्न कडा चेतावनी दिए ।
‘हामी सुनिरहेका छौं, कतिपय बैंकको सञ्चालक समितिले नै व्यवस्थापन हेरिरहेको छ, ‘फलानोलाई ऋण दे, यस गर, यति नाफा चाहियो भन्दै व्यवस्थापनलाई अनावश्यक दबाब नदिनुहोला,’ गभर्नरले भनेका थिए, ‘हामीसँग कारबाही गर्ने अधिकार छ, फेरि पनि निर्देशन ल्याएर कारबाही गर्नुपर्यो भने हामीलाई पनि नराम्रो लाग्छ ।’
के साँच्चै बैंक सञ्चालकले व्यवस्थापनमाथि हस्तक्षेप बढाइरहेका छन् त ? कस्तो किसिमको दबाब दिइरहेका छन् ? कसरी हस्तक्षेप गरिरहेका छन् ? भनेर हामीले बैंकका सीइओहरुलाई सोधेका थियौं । अधिकांस सीइओहरुले सञ्चालकहरुले भन्दा बढी बजारले दबाब दिएको प्रतिक्रिया दिए ।
हामीले यही प्रश्न सञ्चालकहरुलाई पनि साधेको थियौं । अधिकासंस सञ्चालकहरुले पनि आफूहरुले नभइ बजारले दबाब सिर्जना गरेको प्रतिक्रिया दिएका थिए ।
यो पनि पढ्नुहोस्- बैंक व्यवस्थापनमाथि सञ्चालकको हस्तक्षेपले ‘लक्ष्मणरेखा’ नाघेकै हो ?
सीइओहरुको प्रतिक्रियाबाट बैंक व्यवस्थापनमाथि सञ्चालकको दबाब छैन भन्ने प्रष्ट बुझिन्छ । केही बैंकमा सञ्चालकहरुले व्यवस्थापनलाई दबाब दिएको भन्ने आफूले सुनेको सीइओहरु बताउँछन् । तर, आफूले त्यस्तो दबाबको महशुस नगरेको उनीहरुको भनाइ छ । आफूले दबाब भोगिरहेको भए पनि कतै सीइओहरुले जागिरको लोभमा भन्न डराएका त होइनन् ? यो प्रश्नको जवाफ चाहीँ अहिले भेटिएको छैन । समयक्रममा जवाफ आउने नै छ ।
पुँजी बढेपछि त्यसको अनुपातमा बिजनेश र नाफा बढाउने दबाब आफूहरुमाथि परेको सीइओहरुको भनाइ छ । त्यतिमात्रै होइन, एक अर्कासँग सेवाको गुुणस्तर, सस्तो र ग्राहक आकर्षित गर्ने सेवा दिनुपर्ने, बढ्दो जोखिमको न्यूनिकरण गर्दै अघि बढ्नुपर्ने र बजारमा पैसा नहुँदा लगानी योग्य पुँजी (तरलता) अभावको समस्या झेल्नु परिरहेको उनीहरु बताउँछन् ।
कुन बैंकका सीइओले के भने ?
ज्ञानेन्द्र ढुंगाना
सीइओ, एनबी बैंक तथा अध्यक्ष बैंकर्स संघ
पुँजी बढेपछि लगानीकर्ताहरुले त्यसको अनुपातमा नाफा खोज्नु स्वभाविक नै हो । बैंकका सञ्चालकहरुले बिजनेश बढाउ, नाफा बढाउन भनेर लगातार भनिरहेकै हुन्छन् । जुन उहाँहरुको धर्म हो । तर, सञ्चालकहरुले भने भन्दैमा जथाभावी बिजनेश बढाउने कुरा हुँदैन ।
ब्वयस्थापनले धेरै कुरा हेर्नुपर्छ । बैंकहरुले राष्ट्र बैंकका नीति निर्देशनहरुको अक्षरस पालना गर्नुपर्छ । दिनप्रतिदिन नियमहरु कडा बन्दै आइरहेका छन् ।
पछिल्लो समय सञ्चालकले ब्यवस्थापनलाई बढी दबाब दिएको भन्ने समाचारहरु म पनि सुनिरहेको छु । हेरिरहेको छु । तर मलाई त अहिलेसम्म सञ्चालक समितिबाट त्यस्तो कुनै अनावश्यक दबाब आएको छैन । कुनै कुनै बैंकका सञ्चालकले दबाब दिएका होलान्, मेरो बैंकका सञ्चालकले दिएका छैनन् । किनभने अहिले बैंकको सञ्चालक हुनेहरुले पनि बजारको अवस्था राम्रोसँग बुझेका छन् ।
बरु बैंक व्यवस्थापनलाई बजारको दबाब बढी छ । समकक्षी बैंकहरुसँग बिजनेश र सेवा दुबैमा प्रतिस्पर्धा गरेर जित्नु छ । सबैले सबैलाई जित्न लाग्दा प्रतिस्पर्धा तीब्र हुन्छ । त्यसको दबाब व्यवस्थापनलाई छ नै । राम्रो हुनका लागि गरिएको प्रतिस्पर्धाले बैंकिङ इन्ड्रष्टिलाई मात्रै नभई मुलुकलाई नै फाइदा गर्छ । यसरी बजारले दबाब सिर्जना नगर्ने हो भने त बैंक व्यवस्थापकहरु सुतेर बसिाल्छन् नि ।
राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड दर) ५ प्रतिशतभन्दा बढी नगर्नु भनेको छ । तर, अहिले अधिकांस बैंकहरुको स्प्रेड दर ३ प्रतिशत छ । बैंकहरुबीच आपसमा भएको प्रस्पिर्धाका कारण यो भएको हो ।
रत्नराज बज्राचार्य
सीइओ, सनराइज बैंक
२ अर्ब रहेको चुक्ता पुँजी बढाएर ८ अर्ब पुर्यापछि त्यसलाई धान्नेगरी बिजनेश बढाउने दबाब व्यवस्थापनलाई छ नै । तर, अहिले नै पुँजीको अनुपातमा बैंकहरुको बिजनेश बढिरहेको छैन । त्यसैले सञ्चालक समितिले व्यवस्थापनलाई बिजनेश बढाउन र नाफा बढाउन दबाब दिइरहेका छन् भन्ने कुराहरु सुन्नमा आएको छ । सञ्चालक भनेको लगानीकर्ता हुन्, लगानीकर्ताको धर्म नाफा कमाउनु हो । त्यसैले लगानीकर्ताले नाफा कमाउ, बिजनेश बढाउ भन्नु स्वभाविक हो । यसलाई दबाब भन्नु हुँदैन । तर, सञ्चालकहरुले अन्धधुुन्ध बिजनेश बढाउन दबाब दिन्छन् भने त्यो गलत हो । त्यसलाई रोक्नै पर्छ ।
पछिल्लो समय राष्ट्र बैंक वित्तीय क्षेत्रको संस्थागत सुशासनमा धेरै कडा हुँदै आएको छ । जसकारण विगतमा भन्दा अहिले सुशासनको अवस्था र सञ्चालकहरुको हस्तक्षेप लगातार घटिरहेको छ ।
बजार प्रतिस्पर्धी छ । प्रतिस्पर्धामा खरो उत्रिनुपर्ने प्रतिस्पर्धा छ । आगामी १/२ वर्षमा पुँजी वृद्धिको अनुपातमा बैंकहरुले बिजनेश पनि बढाउँछन् । बिजनेश बढेपछि नाफा बढ्छ नै । अहिले २/४ वटा संस्थामा सञ्चालकहरुले दबाब दिएका होलान् । ठूला र अधिकांस संस्थामा सञ्चालकहरुले दबाब दिएका छन् वा हस्तक्षेप गरेका छन् जस्तो मलाई लाग्दैन ।
अशोक राणा
सीइओ, हिमालयन बैंक
बैंक र बैंक व्यवस्थापनको प्रफर्मेन्स नाफासँग जोडेर हेर्ने गरिन्छ । त्यसैले बैंकका सीइओ तथा उच्च व्यवस्थापनलाई सँधै बढी नाफा कमाउने दबाब हुन्छ । अहिले त झन् गुणात्मकरुपमा पुँजी बढाइएको छ । यस्तो अवस्थामा लगानीकर्ताले नाफा बढाउन दबाब दिने नै भए । पत्रकारले पनि नाफाका आधारमा बैंकको र्याङकिङ गरिदिन्छन् । त्यसका आधारमा सर्वसाधारणले यो बैंक बलियो रहेछ । र, यो बैंक कमजोर रहेछ भन्ने धारणा बनाउँछन् ।
सञ्चालकहरुले आफ्नो बैंकभन्दा बढी प्रगति अर्को बैंकले गर्यो भने तपाईंले किन प्रगति गर्न सक्नुभएन ? भन्ने प्रश्न गर्छन् । त्यसैले ग्रोथका लागि बैंक ब्यवस्थापनलाई सँधै दबाब हुन्छ । मलाई पनि बिजनेश बढाउने दबाब छ ।
तर, हामीले वर्षमा २०/२५ प्रतिशतको ग्रोथको टार्गेट बनाएका छौं । हामीलाई ५०/१०० प्रतिशतको ग्रोथ चाहिँदैन । २०/२५ प्रतिशतको सस्टेनेवल ग्रोथ भए पुग्छ । कतिपय बैंकका सञ्चालकहरुले कम्प्लाइन्स र सेक्युरिटीमा कमभन्दा कम खर्च गरेर भए पनि नाफा कमाउन व्यवस्थापनलाई दबाब दिइरहेका छन् भन्ने सुन्छु । मेरो बैंकमा भने त्यस्तो छैन । कम्प्लाइनस र सेक्युरिटीमा मैले भनेजति खर्च गर्न पाएको छ ।
राजनसिंह भण्डारी
सीइओ, सिटिजन्स बैंक
पछिल्लो समय बैंक सञ्चालकले व्यवस्थापनमाथि हस्तक्षेप बढाएको भन्ने खबरहरु सुन्नमा आएको छ । विगतमा पनि यस्ता खबर सुनिन्थ्यो नै । वितेका ८/१० वर्षदेखि म सिटिजन्स बैंकको सीइओ छु । मेरो बैंकका सञ्चालकहरुले आजसम्म पनि व्यवस्थापनमा हस्तक्षेप गरेका छैनन् । नीति निर्माणको तहमा बाहेक व्यावसायिक काममा कुनैपनि हस्तक्षेप छैन । म त दाबीका साथ भन्छु– कसैलाई संस्थागत सुशासनको नमुना हेर्न मन लागे सिटिजन्स बैंक आउनोस् ।
राष्ट्र बैंकले पुँजी बढाउने नीति लिएपछि हाम्रो बैंकले पनि नीति लियो । हामीले पहिले कम्प्लाइन्स त्यसपछि मात्रै नाफा भनेर हाम्रो प्राथमिकता छुट्याएका छौं । त्यसैले पछिल्ला वर्षहरुमा हाम्रो बैंकको ग्रोथ केही कम देखिएको छ । हामी तत्काल बिजनेश बढाउने, नाफा कमाउनेभन्दा पनि सस्टेनेवल ग्रोथका लागि काम गरिरहेका छौं ।
‘सञ्चालन समितिको हस्तक्षेप भएका संस्थाहरु विगतमा पनि बिग्रिएर गएको हामीले देखेका छौं,’ उनले भने, ‘अहिले केही बैंकमा सञ्चालकले हस्तक्षेप गरिरहेका छन्, हेर्दै जानुहोस् ती बैंक बिग्रिएको देख्न धेरै वर्ष कुर्नुपर्दैन ।’
अशोक शेरचन
सीइओ, प्रभु बैंक
वास्तवमा भन्ने हो भने बैंक व्यवस्थापनले सञ्चालक समितिबाट सकरात्मक सहयोग पाइरहेको छ । बैंकलाई सही दिशामा अघि बढाउने नीति लिएर होस् वा बिजनेश एक्सप्लोर गर्न सञ्चालक समितिको सँधै सकरात्मक भूमिका छ । सञ्चालकहरुले कहिलेकाहीँ नयाँ ग्राहक खोजेर ल्याउनुहुन्छ, अहिले सञ्चालकले कुन राम्रो कुन नराम्रो भनेर छुट्याउन सक्ने अवस्थामा छन् । कुन ब्यापारी वा उद्योगी कस्तो छ भनेर कहिलेकाहीँ व्यवस्थापकलाई भन्दा बढी सञ्चालकलाई थाहा हुन्छ ।
आफ्नो लगानी परेको हुनाले सञ्चालकले व्यवस्थापनमाथि दबाब दिनु वा हस्तक्षेप गर्न खोज्नु अस्वभाविक होइन । सामान्यतया सञ्चालकले व्यवस्थापकलाई अनावश्यक दबाब दिँदैनन् । कथमकदाचित अनावश्यक दबाब दिएको खण्डमा पनि व्यवस्थापकले मान्दैनन् । किनभने राष्ट्र बैंकका नीति निर्देशनहरु धेरै कडा छन् । त्यहाँ बैंकमा सञ्चालक र व्यवस्थापकको भूमिका के हुने भनेर प्रष्ट छ । सीइओ वा उच्च व्यवस्थापनको काम भनेको बिजनेशलाई एउटा स्तरमा पुर्याएर लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिन खोज्नु हो । संसारभरको नियम यही नै हो ।
राष्ट्र बैंकको नियम अनुसार ३÷४ वटा कमिटिमा सञ्चालकहरु हुन्छन् । जस्तै, रिस्क, अडिट, स्टाफ बेनिफिटलगायतका कमिटिका संयोजक सञ्चालक नै हुन्छन् । यस्ता कििमटमा बसेर पनि सञ्चालकहरुले सकरात्मक र रचनात्मक नै भूमिका खेल्छन् ।
अहिले बैंकिङ क्षेत्रमा तरलता लगायतका समस्याहरु छन् । जसकारण सञ्चालकले व्यवस्थापकलाई बढी दबाब दिए भन्ने समाचारहरु आइरहन्छन् । तर, समाचारमा आएजसरी सञ्चालकहरुले दबाब दिएको अनुभूति मैले चाहीँ गर्न पाएको छैन ।
वास्तवमा भन्ने हो भने बजारमा खरो प्रतिस्पर्धामा उत्रिएर आफ्नो प्रफर्मेन्स देखाउने दबाबचाहीँ बैंकका व्यवस्थापकहरुलाई अलि बढी नै छ जस्तो मलाई लाग्छ ।
अनिल शाह
डेपुटी सीइओ, नविल बैंक
बैंकिङ भनेको ट्रेडिङ बिजनेश होइन । यो त दीर्घकालीन बिजनेश हो । ३४ वर्षअघि नविल बैंकमा लगानी गर्नेहरुले आज गज्जप ठाउँमा लगानी गरिएछ भनिरहेका छन् । अब नयाँ बैंकका लगानीकर्ताहरुले हामीलाई पनि नविल बैंकको जति नै नाफा चाहिन्छ भनेर भन्नु भएन । त्यतिमात्रै होइन, विगतमा २० प्रतिशत प्रतिफल पाएका थियौं, अब पनि २० प्रतिशत नै चाहिन्छ भन्नु पनि भएन । किनभने विगतमा पुँजी २ अर्ब रुपैयाँ मात्रै थियो । अहिले ८ अर्ब रुपैयाँ छ । पुँजी बढाएअनुसार बिजनेश बढेको छैन । बजारमा तरलताको समस्या छ । बैंकहरुले थप निक्षेप परिचालन गर्न पाइरहेका छैनन् । यस्तो अवस्थामा ऋण बढाउन सक्ने पनि कुरै भएन ।
बैंकको उच्च व्यवस्थापनमा काम गर्नेहरुकासँग ३०औं वर्षको अनुभव छ । त्यसैले सञ्चालकहरुले सीइओले भनेको सुन्नुभयो भने अझ धेरै राम्रो हुन्छ । किनभने हामीले पनि बैंकलाई राम्रो बनाउँछौं, लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिन्छौं भनेर नै जिम्मेवारी सम्हालेका हौं । उदाहारणका लागि अहिले विश्वकपको समय छ । नेपालको टिमले विश्वकप जित्नैपर्छ भनेर खेलाडीलाई दबाब दिने हो भने नेपालको टिमले विश्वकप जित्छ र ? उल्टै दुर्घएटना हुन्छ । देशकै बेइज्जत हुने काम हुन्छ । त्यसैले लगानीकर्ताहरु सचेत हुन जरुरी छ ।
पछिल्लो समय केही बैंकमा सञ्चालकहरुले दबाब दिइरहेका छन् भन्ने सुन्नमा आएको छ । गभर्नरसाब र राष्ट्र बैंकका अधिकारीहरुले व्यवस्थापनलाई दबाब नदिनुहोस् भनेर भनिरहनु भएको छ । आशा गरौं । राम्रो हुन्छ । सस्टेनेवल ग्रोथ हुन्छ । हामी सबै सस्टेनेवल ग्रोथतिरै लाग्नुपर्छ ।
शोहनदेब पन्त
सीइओ, बैंक अफ काठमाण्डू
बैंक सञ्चालक समितिलाई आफ्नै प्रेसर छ । बजारको पनि प्रेसर छ । राष्ट्र बैंकले पुँजी बढाउनुपर्ने नीति लिएपछि सबैले पुँजी थप गरेका छन् । कतिपयले बैंकबाट ऋण लिएर लगानी थपेका छन् । बैंकको ब्याज १२/१३ प्रतिशत छ । कम्तिमा त्यो ब्याज तिर्ने पैसाचाहीँ ब्यवस्थापनले लाभांस दियोस् भन्ने दबाब एकातिर छ । यस्तो अवस्थामा कतिपय संस्थामा व्यवस्थापनले कम्प्रमाइज गर्नुपर्ने अवस्था पनि आएको होला ।
पूर्णरुपमा बैंक चलाउन निजी क्षेत्रलाई दिँदा कुनै समयमा गएर त्यहाँ कन्फ्लिट अफ इन्ट्रेष्ट हुन्छ नै । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) निर्माणका बेला कन्फ्लिट अफ इन्ट्रेस्ट राम्रैसँग देखियो । र, बाफियामा कार्यकारी अध्यक्ष राख्न पाउनेसम्म ब्यवस्था गरियो । यो भनेको बैंक सञ्चालकहरु बैंकको व्यवस्थापनमाथि थप दबाब सिर्जना गर्न चाहन्छन् भन्ने नै । म त बैंकको मालिक पो हुुँ भन्ने जस्ता प्रवृत्तिहरु पनि कहिलेकाहीँ देखिन्छन् । सबैले आफू अनुकुलको वातावरण पर्खेर बसिरहेका हुन्छन् । तर, व्यवस्थापनले राष्ट्र बैंकको कम्प्लाइन्सलाई ध्यान दिनुपर्छ ।
जनक शर्मा
सीइओ, ग्लोबल आइएमइ बैंक
२ अर्बको चुक्ता पुाजीलाई ८ अर्ब रुपैयाँ बनाएपछि बैंक व्यवस्थापनमाथि बढेको पुँजीको अनुपातमा नाफा बढाउने दबाब छ । लगानी थपेका लगानीकर्ताहरुले नाफा पनि थपियोस् भन्ने अपेक्षा गर्नु स्वभाविक हो । हकप्रद सेयरबाट पुँजी बढाउँदा लगानीकर्ताहरुले लगानी थप्नुपर्यो । जसकारण जुन बैंकले हकप्रदमार्फत पुँजी बढाए ती बैंकका लगानीकर्ताले व्यवस्थापनलाई नाफा बढाउन दबाब दिएका हुन सक्छन् । बोनस सेयर जारी गरेर पुँजी बढाएका बैंकमा यो दबाब कम हुन्छ । अझ हामीजस्तो मर्जरमार्फत पुँजी बढाउने बैंकको ब्यवस्थापनलाई लगानीकर्ताले नाफा बढाउने दबाब अलि कम दिन्छन् ।
तर, यहाँ बैंक व्यवस्थापनलाई लगानीकर्ताको दबाबभन्दा ठूलो बजारको छ । तीब्र प्रतिस्पर्धी बजारमा संस्थालालाई सुरक्षित र सन्तुलितरुपमा अघि बढाउन ब्यवस्थापनलाई चुनौतिपूर्ण पनि छ ।
एकातिर बैंकहरुको पुँजी गुणात्मकरुपले बढेको छ । तर, अर्थतन्त्रको ३/४ प्रतिशतले मात्रै बढिरहेको छ । पछिल्ला वर्षमा रेमिट्यान्सको वृद्धिदर घटिरहेको छ । सरकारले आफ्नो खर्च गर्नसक्ने क्षमता बढाएको छैन । अवस्थामा बजारमा पैसा छैन । बैंकहरुमा आउने निक्षेपमा संकुचन आइरहेको छ । यस्तो अवस्थामा बैंकहरुबीच प्रतिस्पर्धा भएपछि व्यवस्थापनलाई दबाब हुने नै भयो । अर्कातिर अरुको भन्दा राम्रो, भरपर्दो, गुणस्तरीय र सस्तो सेवा दिएर ग्राहक आकर्षित गर्नुपर्ने प्रतिस्पर्धा छ ।
जहाँसम्म सञ्चालक समितिबाट कस्तो किसिमको दबाब आइरहेको छ भन्ने तपाईंको जिज्ञासा छ । यसमा मैले आफ्नो कुरा गर्दा आजसम्म कुनैपनि गैरव्यावसायिक दबाबको अनुभव गर्न पाएको छैन । बैंकलाई राम्रो हुने काम गर्न र आगामी दिनमा बैंक कसरी अघि बढाउने भनेर सञ्चालक समितिले बनाएको नीतिले हामीलाई सहज बनाएको अनुभूति भएको छ ।
पर्शुराम कुँवर क्षेत्री
सीइओ, जनता बैंक
जब चुक्ता पुँजी बढ्यो । तब व्यवस्थापन आफैंलाई बिजनेश बढाउन दबाबको महशुस भयो । तर, तबाब आयो भन्दैमा जथाभावी ऋण दिने कुरा त हुँदैन । हामीले राष्ट्र बैंकको कम्प्लाइन्सको पूर्णपालना गर्नुपर्छ । यसअघि बिजनेश बढ्ने वातावरण पनि खासै थिएन । राजनीतिक अस्थिरता र बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले बैंकहरुले बिजनेश बढाउन सकिरहेका छैनन् ।
तर, अहिले स्थायी सरकार आएको छ । नयाँ आशा पलाएको छ । अचेल ग्राहकहरुले नयाँ–नयाँ बिजनेश प्लान सुनाउन थालेका छन् । आशा गरौं अब हामी ग्रोथ गर्छौं ।
कुनै कुनै बैंकमा सञ्चालक समितिको बढी दबाब छ भन्ने कुरा मैले पनि सुनेको छु । मेरो बैंकको कुरा गर्नुहुन्छ भने मलाई अहिलेसम्म सञ्चालक समितिले दबाब दिएको महशुस गर्न पाएको छैन । म प्रोफेसनल्ली काम गर्ने मान्छे हुँ । अनावश्यक दबाब आयो भने मान्दिन । बरु जागिर छाडिदिन्छु ।
सञ्चालक समितिले व्यवस्थापनलाई बिजनेश र नाफा बढाउन निरन्तर दबाब दिइरहेको हुन्छ, यो स्वभाविक कुरा हो । बजारमा तीब्र प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा खरो उत्रिन बजारले नै दबाब सिर्जना गरिरहेको छ । ग्राहकलाई गुणस्तरीय, छिटो, छरितो र सस्तो सेवा दिन सक्नुपर्छ । र, लगानीकर्तालाई उच्चतम प्रतिफल ।
उता राष्ट्र बैंकको कम्प्लाइन्स उतिकै कडाइका साथ पालना गरेको हुनुपर्छ । कर्मचारी खुसी बनाउने र समाजका लागि पनि केही योगदान दिएर समाजमा संस्थाको छवि राम्रो बनाउँदै लानुपर्छ । यी सबै कुरालाई सन्तुलित ढंगले व्यवस्थापन गरेर हिँड्का लागि व्यवस्थापनलाई दबाब भइरहन्छ नै ।
सुनिल केसी
सीइओ, एनएमबि बैंक
अरु बैंकमा के छ मलाई थाहा भएन । तर एनएमबि बैंकमा भने सञ्चालक समितिले व्यवस्थापनलाई कुनै अनावश्यक दबाब दिएको मलाई फिल छैन । हामीले कर्पोरेट गभर्नेन्सलाई बलियो बनाएका छौं । किनभने हामीसँग विदेशी बैंक पनि साझेदार छ । उहाँहरु गुड गभर्नेन्समा निकै सिरियस हुनुहुन्छ । हामी पूर्णरुपमा कम्प्लाइन्समा चलेका छौं ।
पुँजी बढेपछि बिजनेश गर्ने र जोखिम मोल्ने क्षमता बढ्छ भन्ने हो । तर, तरलता लगायतका समस्याले गर्दा बैंकहरुले बिजनेश बढाउन सकिरहेका छैनन् ।
सेयर होल्डरप्रति बैंक व्यवस्थापनको उत्तदायित्व हुन्छ । एक किसिमको प्रतिफल दिनुपर्छ नै । त्यो दबाब सँधै व्यवस्थापनलाई भइनै रहन्छ । यसलाई सञ्चालक समितिको दबाब भन्न मिल्छ जस्तो लाग्दैन मलाई । यो त बजारले गरेको दबाब हो ।
सुदेश खालिङ
सीइओ, लक्ष्मी बैंक
मेरो बैंकको कुरा गर्ने हो भने मैले अहिलेसम्म सञ्चालकको दबाबको महसुस गर्नअ पाएको छैन । सञ्चालकले नीति बनाउँछ । हामी त्यही नीतिअनुसार बजेट र टार्गेट बनाएर काम गरिरहेका छौं । ३ वर्षअघि हाम्रो बैंकको पुँजी ३ अर्ब थियो । अहिले ८ अर्ब छ । पुँजी अनुसारको नाफा दिने दबाब त हामीलाई छ नै । सञ्चालकहरुले बढी नाफा खोज्नु पनि स्वभाविक नै हो ।
तर, व्यवस्थापनले बजेट बनाएर नाफाको प्रक्षेपण गरेर सञ्चालक समितिलाई दिन्छ । त्यसमा सञ्चालकहरु पनि सहमत छन् । अहिले बैंकहरुको नाफा हेर्ने हो भने सन्तोसजन कै छ । बैंकका तरलता अभाव भएका कारण यस्तो कुरा अलि बढी आएको हो । बजारमा तरलता नजभएपछि एकअर्काको बैंकको निक्षेप तान्न प्रतिस्पर्धा छ । जसकारण यो कुरा आएको हुनुपर्छ । यसलाई सञ्चालकको दबाब भन्न मिल्दैन । यो बजारले सिर्जना गरेको दबाब हो ।
भुवन दाहाल
सीइओ, सानिमा बैंक
सानिमा बैंक पहिलेदेखि नै अत्यत्नै प्रोफेसनल ढंगले सञ्चालन हुँदै आएको बैंक हो । त्यसैले सानिमा बैंकमा एक दिन पनि सञ्चालक समितिबाट गैरव्यवसायिक हस्तक्षेप व्यहोर्नु परेको छैन ।
खासगरी सञ्चालकहरुबाट आफ्नो मान्छेलाई जागिर लगाउने र ऋण दिने दबाब हुन्छ । हामीले कर्मचारी नियुक्तिमा लोकसेवा जत्तिकै कडा नियम बनाएका छौं । त्यसैले सञ्चालकहरुले भनसुन र दबाब दिने आँट नै गर्नुहुन्न । सञ्चालकले आफ्नो मान्छेलाई ऋण दिन कति दबाब दिइरहनु भएको होला भन्ने कुरा त हाम्रो निष्क्रिय कर्जाको अनुपात हेरेर पनि थाहा पाउन सक्नुहुन्छ । सानिमा बैंकको निष्क्रिय कर्जा प्राय १ प्रतिशत भन्दा कम नै छ । सञ्चालकको दबाबमा जथाभावी कर्जा प्रवाह गरिएको भए पक्कैपनि यो स्तरमा निष्क्रिय कर्जा रहने थिएन ।
बैंकको व्यवस्थापनलाई ग्रोथको प्रेसर भने छ नै । ञ्चालकहरुले ग्रोथ खोज्नु स्वभाविक हो । यसलाई दबाब भन्न मिल्दैन । हाम्रो बैंकको विषयमा कुरा गर्ने हो भने हामीले गरेको ग्रोथमा सञ्चालक समिति सन्तुष्ट छ । किनभने हामीले बैंकिङ इन्ड्रस्टीको औषतभन्दा राम्रो ग्रोथ गरेका छौं ।