अन्तराष्ट्रिय समुदायलाई नेपालको आर्थिक विकासमा हातेमालो गर्न मन्त्री खनालको आग्रह



फाइल फोटो

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले कृषि क्षेत्रको माध्यामबाट तीब्र आर्थिक विकास गर्ने नेपालको अभियानमा हातेमालो गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

मन्त्री खनाल इजराजयलको टेल एभिभमा भएको बिसौं अन्तराष्ट्रिय कृषि प्रदर्शनीलाई सम्बोधनका क्रममा अन्टराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

नेपाल सरकारको पहिलो प्राथमिकता कृषि क्षेत्रको विकासका माध्यमबाट तीब्र आर्थिक वृद्धि हासिल गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने दिशामा केन्द्रित रहेको भन्दै अन्तर्राष्ट्रिय विकासका साझेदार, लगानीकर्तालाई आफूहरुको यो अभियानमा हातेमालो गर्न आब्हान गरे ।

नेपालको कृषि क्षेत्र अहिले पनि जीवन निर्वाहमुखी मात्र रहेको भन्दै खनालले कृषिको ठूलो हिस्सा साना र सीमान्तकृत कृषक समुदायले ओगटेको बताए । वैज्ञानिक भूमि सुधारको माध्ययमबाट द्वैध स्वामित्व, खण्डिकरण, भूमिको अनुत्पादक क्षेत्रमा हुने उपयोगजस्ता समस्यालाई निरूत्साहित गरी कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकरण र औधोगिकरण गर्ने थुपै प्रयास भएपनि केही पेचिला चुनौतीहरु रहेको उनको भनाई थियो ।

त्यसमाथि २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको बाढी पहिरोले कृषि विकास र प्रसारका पूर्वाधार तथा कृषि भूमिमा पुगेको क्षतिले गरिबी तथा भोकमरी न्यूनिकरणमा थप चुनौती थपिन गएको मन्त्री खनालले बताए ।

यस बाहेक नेपालको साना किसान विकास बैंक र ईजरायलको सेदोत नेगेभ क्षेत्रीय परिषद् बीच मे, २०१६ मा ‘लर्न एण्ड अर्न’ अवधारणामा आधारित तालिमको समझदारी अनुसार नेपाली युवाहरुलाई ईजरायली कृषि प्रविधिको विषयमा तालिम प्रदान गरी दक्ष बनाउने काम पनि जारी रहेको मन्त्री खनालले बताए ।

यस कार्यक्रमबाट हालसम्ममा २ हजारभन्दा बढी नेपाली युवायुवती लाभान्वित भईसकेको र स्वदेश फर्किएर जरायली प्रविधिमा आधारित आफ्नै कृषि व्यवसाय संचालन गर्न थालेका उनले जानकारी गराए ।

संयुक्त राष्ट्रसंघीय दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्य अनुरुप नेपाल सरकारले कृषि विकास रणनीति २०१५ र यसै अन्तर्गत बहुक्षेत्र पोषण योजना २०१२, खाद्य तथा पोषण सुरक्षा कार्ययोजना २०१४ तथा शून्य भोकमरी कार्ययोजना, २०१६ लगायका नीति तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको पनि अन्तराष्ट्रिय फोरमलाई जानकारी गराए ।

अन्तराष्ट्रिय स्तरको उक्त सम्मेलनको सिकाई नेपालको निर्वाहमुखी कृषि प्रणालीको सार्थक रुपान्तरण, औधोगिकीकरण, व्यवसायीकरण र प्रतिष्पर्धी बनाउन विकासोन्मुख देशको लागि अन्तराष्ट्रिय साझेदारीको उपयुक्त फोरम बन्ने आफूले विश्वास लिएको मन्त्री खनालले बताए ।

सम्मेलनमा विश्वका ४० देशका कृषि मन्त्री र ३०० भन्दा वढी कृषि विज्ञहरुको सहभागिता रहेको छ । इजरायल सरकारले भारत, नेपाल, पपुवान्यूगिनी, सुडान लगायतका १० देशहरूलाई ‘सेमीग्रिड’ देशहरूका कृषि विकासमा देखिएका चूनौतिका बारेमा बोल्न फ्लोर दिएको थियो ।

नेपालबाट मन्त्री खनालसहित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, इजरायल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिशिर भट्ट, साना किसान संघका अध्यक्ष खेमराज पाठक लगायत सहभागि छन् ।

इजरायलमा ३ प्रतिशतले मात्र कृषि पेशा अंगालेको बताइएको छ । जसले देशलाइ खान पुगी निर्यात गर्न समेत भ्याएको छ । मरुभुमीले घेरिएको देश इजरायालले कृषि क्षेत्रमा गरेको आधुनिक विकास र यान्त्रीकीकरणले बिश्वलाइ चकित पारेको छ ।

मन्त्री खनालले इजरायली समकक्षीसँग नेपालको कृषि क्षेत्रको विकासका लागि आवश्यक पर्ने अनुसन्धान, प्रविधि विकास र प्रसार, जनशक्ति विकास लगायतका सहयोग आदान प्रदान गर्ने गरी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । गत सोमबार इजरायल गएको नेपाली टोली आगामी शुक्रबार स्वदेश फर्कने छ ।


क्लिकमान्डु