आज दिउँसो ३ बजे श्वेतपत्र, सेयर र घरजग्गालाई अर्थमन्त्री खतिवडाले कस्तो सम्बोधन गर्लान् ?



काठमाडौं । सरकारले आज (शुक्रबार) दिउँसो ३ बजे श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयबाट श्वेतपत्र सार्वजानिक गर्ने अर्थ मन्त्रालयका सल्लाहकार डा. रामशरण खरेलले जानकारी दिए ।

चैत २ गते नै श्वेतपत्र ल्याउने अर्थमन्त्रीको तयारी भएपनि विभिन्न कारण देखाउँदै सारिएको थियो ।

‘अर्थमन्त्रीज्यूले १ बजे श्वेतपत्र संसदमा प्रस्तुत गर्नुहुने छ र ३ बजेपछि अर्थ मन्त्रालयमार्फत सार्वजानिक गर्नुहुने छ,’ अर्थमन्त्रीका स्वकीय सचिव तुलसीराम मैनालीले क्लिकमाण्डूसँग भने ।

सरकारले श्वेतपत्रमार्फत् अघिल्लो सरकारले कस्तो अर्थतन्त्र छाडेर गएको छ भनेर जनतालाई प्रष्ट पार्न लागेको हो । साथै यो सरकारले अर्थतन्त्रलाई कसरी अघि बढाउने छ भनेर समेत नीतिगत कुराहरु उल्लेख गरिने बताइएको छ ।

‘अघिल्लो सरकारले छाडेर गएको अर्थतन्त्रबारे जनतालाई प्रष्ट पार्ने र यो सरकारले आगामी दिनमा कस्तो आर्थिक नीति लिन्छ भन्ने कुराको नीतिगत सम्बोधन हुनेछ,’ सल्लाहकार खरेलले क्लिकाण्डूसँग भने, ‘क्षेत्रगत रुपमा के कस्तो सम्बोधन गरिएको छ भन्ने कुरा अर्थमन्त्रीले सार्वजानिक नगरिकन भन्न मिल्दैन ।’

नयाँ सरकार बनेपछि लगातार जसो सेयर बजार घटिरहेको छ । यसरी सेयर घट्न थालेपछि लगानीकर्ताहरु अत्तालिएका छन् ।

अर्थमन्त्री खतिवडाले सार्वजानिक बीबीसी नेपाली सेवामा सेयर बजार अनुत्पादक हो भने अन्तवार्ता दिएपछि लगानीकर्ताहरु नयाँ सरकारप्रति अझ धेरै शशंकित भएका छन् । त्यस्तै केहीदिन अघि बिराटनगरमा भएको एक कार्यक्रममा बोल्दै सेयर बजार घट्नु नहुने ? लहडका भरमा सेयर लगानी नगर्न अर्थमन्त्रीले आग्रह गरेको थिए ।

यस्तो अभिव्यक्तिका कारण सेयर लगानीकर्ताहरु अर्थमन्त्री डा. खतिवडा सेयर बजारप्रति कठोर भएको विश्लेषण गरेका छन् । जसकारण उनले कठोर नीति लिए भने सेयर बजार अझै तल झर्ने विश्लेषण गर्दै लगानीकर्ताहरु सेयर किन्न भन्दा बेच्नतिर आकर्षित भएका छन् । जसकारण सेयर बजार सूचक नेप्से लगातार घटेको हो ।

त्यसैगरी, अर्थमन्त्री खतिवडालाई घरजग्गा व्यवसायीले पनि शंकाको घेरामा राखेका छन् । खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गाप्रति निकै अनुदार भएका थिए । उनै व्यक्ति अहिले अर्थमन्त्री हुँदा घरजग्गाप्रति अझ बढी अनुदार हुनसक्ने अनुमान गरिएको छ ।

बैंकिङ क्षेत्र अहिले लगानी योग्य पुँजी (तरलता) अभावको चरम मारमा छ । जसकारण ब्याजदर अचाक्ली बढेको छ । ब्याजदर बढेपछि नयाँ उद्योगी÷व्यवसायीहरु ऋण लिएर नयाँ उद्योग स्थापना गर्न र भइरहेको उद्योग विस्तार गर्न सक्ने स्थितिमा छैनन् । जसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्नेछ । त्यसैले अर्थमन्त्री खतिवडाले ब्याजदरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा श्वेतपत्रमार्फत् सम्बोधन गर्नुपर्ने देखिन्छ ।


पुष्प दुलाल