१० वर्षमा ४३ खर्ब रेमिट्यान्स



काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएसँगै रेमिट्यान्स वृद्धिदर पनि घटेको छ ।

तर पनि नेपालले आर्थिक वर्ष ०६५/०६६ देखि चालू आर्थिक बर्षको ६ महिनासम्ममा झन्डै ४३ खर्ब रुपैयाँ रेमिट्यान्सबाट प्राप्त गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०६५/०६६ देखि चालु आवको ६ महिनासम्ममा देशले ४२ खर्ब ९५ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ । तर, पछिलो तीन वर्षदेखि रेमिट्यान्स रकमको वृद्धिदरमा कमी आएको छ ।

रेमिटेन्सको घट्दो वृद्धिदरप्रति विश्व बैंक तथा एसियाली विकास बैंकजस्ता नेपालका विकास साझेदारले चासो व्यक्त गरिसकेका छन् ।

रेमिटेन्स घट्नुमा गैरकानुनी हुन्डीको पनि हात रहेको राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकले सरकारलाई हुन्डीको विषयमा अध्ययन गर्न अनुरोध गरिसकेको छ ।

रेमिट्यान्स रकमको वृद्धिदरमा कमी आउनुको पहिलो कारण वैदेशिक रोजगारी जाने नेपालीको संख्या नै घनट्नु रहेको छ । दुई वर्षदेखि मलेसिया तथा खाडीमुलुकमा रोजगारीका लागि जाने नोपलीको संख्या निरन्तर कम हुदै गएको छ ।

विदेशमा पुगेका युवाले पनि पहिलेको जस्तै अवस्थामा सेवा सुविधा र तलब पाउन सकेका छैनन् । खाडी मुलुकको आर्थिक स्रोत कमजोर बन्दै जानुले पनि नेपाली अर्थतन्त्रको लाइफ लाइन मानिएको रेमिट्यान्स बृद्धिदर घट्नुको एउटा प्रमुख कारण हो । जसकारण विदेशमा नेपाली युवाले पाउँदै आएको सेवा/सुविधामा समेत कटौती भएको छ । नेपालबाट जानेको संख्यामा पनि कमी छ ।

तर, चालू आवको पहिलो पाँच महिनामा रमिट्यान्सको वृद्धिदर ०.८ प्रतिशतमा झरेको छ । चालू आव २०७४÷०७५ को पहिलो पाँच महिना (साउनदेखि मंसिर) सम्ममा कुल दुई खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

तर, आव २०७३÷०७४ को पहिलो पाँच महिनामा रेमिटेन्सको वृद्धिदर ६ प्रतिशत थियो । सोही आवको पहिलो पाँच महिनामा कुल दुई खर्ब ८७ अर्ब ६६ करोड रुपैयाँ देशमा रेमिट्यान्सबाट प्राप्त भएको थियो ।

कामदारको संख्यामा थोरै कमी भएपनि रेमिट्यान्स रकमको वृद्धिदरका भने ठूलो असर परेको छ । यसैगरी आव ०७३/७४ मा भने आव ०७२/७३ को तुलनामा रेमिट्यान्स ४.६ प्रतिशतल बढेर ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ पुगेको थियो ।

यसैगरी आव ०७२/०७३ मा आव ०७१/०७२ को तुलनमा ७.७ प्रतिशतले बढेर ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ देशमा रेमिट्यान्सबाट प्राप्त भएको थियो । आब ०७१/०७२ मा भने आव ०७०/७१ को तुलनामा १३.६ प्रतिशतले वृद्धिहुँदै ६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको थियो ।

आव ०७०/७१ मा भने रेमिटेन्सको वृद्धिदर ०६९/७० को तुलनामा २५ प्रतिशतले बढेर ५ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ पुगेको थियो । आव ०६९/७० मा ०६८/६९ को तुलनामा २०.८६ प्रतिशतले बढेर ४ खर्ब ३४ अर्ब ५८ करोड देशमा रेमिटेन्स प्राप्त भएको थियो । यसैगरी, ०६८/६९ मा भने आव ०६७/६८ को तुलनामा ४१.८९ प्रतिशतले वृद्धि हुँदै देशले ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो ।

यसैगरी, आव ०६७/६८ मा ०६६र/६७ को तुलनामा ९.४१ प्रतिशतको वृद्धिदरमा २५३ अर्ब ५५ करोड, आव ०६६/६७ मा ०६५/६६ को दाँजोमा १०.५ प्रतिशतको वृद्धिदरमा २ खर्ब ३१ अर्ब ७२ करोड र आव ०६५÷६६ मा अघिल्लो आवको तुलनामा ४७ प्रतिशतको वृद्धिदरमा देशले २ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ रकम रेमिटेन्सबाट प्राप्त गरेको थियो । त्यस्तै, आव ०६५/६६ को वृद्धिदर नेपालको इतिहासमै रेमिट्यान्स सबैभन्दा बढी ठूलो वृद्धिदर हो । त्यसपछि आव ०६८/६९ मा पनि रेमिटेन्सको वृद्धिदर ४१ प्रतिशतभन्दा बढी पुगेको थियो ।

 


क्लिकमान्डु