४ महिनामा साढे १८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत, सबैभन्दा बढी आईसीटी क्षेत्रमा
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) को अवधीमा १८ अर्ब ६६ करोड ५१ लाख १३ हजार रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतालाई स्वीकृत गरेको छ ।
उद्योग विभागले आइतबार सार्वजनिक गरेको चार महिनाको तथ्याँकअनुसार विभिन्न प्रकारका २ सय ६३ वटा परियोजनाको लागि उक्त वैदेशिक लगानी प्रतिवद्धतालाई स्वीकृत प्रदान गरिएको हो ।
यसमध्ये कात्तिक महिनामा मात्रै ५९ परियोजनाको लागि २ अर्ब २२ करोड ३७ लाख ९६ हजार ८ सय रुपैयाँबराबरको वैदेशिक लगानीको प्रतिवद्धता स्वीकृत भएको छ ।
२ सय ६३ परियोजनाबाट ७ हजार ६ सय ६७ जनालाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध हुने पनि प्रतिवद्धता आएको छ । यस्तै कात्तिकमा मात्रै ५९ परियोजनाबाट १ हजार १ सय २४ जनालाई रोजगारी प्राप्त हुने प्रतिवद्धता आएको छ ।
गत आवभर भने ७० अर्ब दुई करोड सात लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो। चालू आवमा विदेशी लगानी प्रतिबद्धता औसत देखिएको विभागको भनाइ छ।
समीक्षा अवधिमा अटोमेटिक रुटबाट एक सय नौ परियोजनामा एक अर्ब ६२ करोड ७३ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । गत वैशाखमा सम्पन्न लगानी सम्मेलनको अवसरमा ५० करोड रुपैयाँसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट स्वीकृत गरिने प्रणाली ल्याइएको थियो।
त्यसमार्फत चालू आवको समीक्षा अवधिमा सोबराबरको लगानी स्वीकृत भएको हो। त्यसमा कात्तिक महिनामा मात्रै ३६ परियोजनामा ६१ करोड ३७ लाख रुपैयाँ लगानी प्रतिबद्धता अटोमेटिक रुटबाट आएको छ। उर्जा र कृषि क्षेत्रमा भने यो चार महिनाको अवधीमा लगानीको प्रतिवद्धता आएको छैन ।
समीक्षा अवधिमा अटोमेटिक रुटबाट आइटी क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रस्ताव आएको छ। अटोमेटिक रुटबाट आइटी क्षेत्रका ८० परियोजनामा ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ।
यसैगरी उत्पादनका ६ परियोजनामा ३५ करोड ५० लाख रुपैयाँ, पर्यटनका १३ परियोजनामा ४२ करोड ९० हजार रुपैयाँ, सेवाका आठ परियोजनामा ३८ करोड रुपैयाँ, पूर्वाधारका दुई परियोजनामा चार करोड १० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।
कागजी प्रक्रियाबाट भने एक सय ५४ परियोजनामा १७ अर्ब तीन करोड ७७ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ। त्यसमा एक सय ५१ साना, एक मझौला र दुई ठुला परियोजना छन्। कागजी प्रक्रियाबाट कात्तिक महिनामा मात्रै २३ परियोजनामा एक अर्ब ६१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
कागजी प्रक्रियाबाट आउने वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आकर्षित देखिएको छ। समीक्षा अवधिमा पर्यटन क्षेत्रका एक सय १३ परियोजनामा ११ अर्ब १८ करोड लगानी प्रतिबद्धता आएको छ।
यो कुल प्रतिबद्धताको ६० प्रतिशत हो। नेपालमा पर्यटनको सम्भावना र सरकारले पर्यटकलाई प्राथमिकतामा राख्दा पनि यस क्षेत्रमा लगानी आकर्षण भएको विज्ञहरू बताउँछन्।
दोस्रो नम्बरमा भने सेवा क्षेत्र रहेको छ। समीक्षा अवधिमा सेवा क्षेत्रका २० परियोजनामा तीन अर्ब ८५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ। उत्पादनका १३ परियोजनामा एक अर्ब २२ करोड ८४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ।
यसैगरी, आइटीका सात परियोजनामा १७ करोड ४० लाख रुपैयाँ, कृषिका दुई परियोजनामा पाँच करोड ८० लाख रुपैयाँ, खनिजका दुई परियोजनामा चार करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ।
यो उद्योग विभागमार्फत आउने विदेशी लगानी प्रतिबद्धता मात्रै हो। समीक्षा अवधिमा एक अर्ब १३ करोड ६१ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री सम्झौता भएको छ । विभिन्न २५ परियोजनामा सोबराबरको सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको हो।
चार महिनाको अवधीमा प्रविधि हस्तान्तरण सम्बन्धी १६ वटा सम्झौता भएको विभागको तथ्यांकमा उल्लेख छ।
समीक्षा अवधिमा विदेशी लगानीकर्ताले लैजान लाभांश घटेको छ । गत आवको पहिलो चार महिनामा विदेशी लगानीकर्ताले एक अर्ब ४१ करोड ६ लाख ८८ हजार रुपैयाँ लाभांश लगेका थिए।
तर चालू आवको चार महिनामा भने ६ करोड ४० लाख ४२ हजार रुपैयाँ मात्रै लाभांश लगेका छन्।
यस्तै समीक्षा अवधिमा रोयल्टीमार्फत नेपाली रुपैयाँमा ३८ करोड ८६ लाख ६७ हजार, डलरमा आठ लाख १५ हजार, भारतीय रुपैयाँमा २० करोड पाँच लाख र युरोमा १० हजार दुई सय रहेको छ।
यस्तै सेवाशुल्कअन्तर्गत नेपाली रुपैयाँमा ३८ करोड आठ लाख ६८ हजार, डलरमा २८ लाख ६८ हजार र भारतीय रुपैयाँमा पाँच करोड ७६ लाख १५ हजार बाहिरिएको छ।