नेपालीले ५ वर्षमा खाए ४ अर्ब ८२ करोडको ओखर: राज्यले ध्यान नदिँदा हुँदैन व्यवसायिक खेती



काठमाडौं । स्वास्थ्यको लागि उपयुक्त ड्राइफ्रुट मानिने ओखर अर्थात वालनट तिहारमा नभइ नहुने एउटा विशिष्ट प्रकारको फल हो । भाइटीकामा यसको महत्व अझ बढी छ ।

नेपाली बजारमा यो वर्षको तिहार र भाइटीकामा दाँते ओखर प्रतिकिलो ५५० देखि ६५० रुपैयाँमा बिक्री भएको छ । नेपालमै उत्पादन हुने स्थानीय जातको हाडे ओखर भने प्रतिकिलो १६ सय रुपैयाँसम्ममा बजारमा बिक्री भएको छ ।

नेपाली बजारमा झण्डै १ अर्ब ४० करोड रुपैयाँबराबरको ५० लाख किलोसम्म बिक्री हुने यस्तो ओखरको स्वदेशमै भने उत्पादन नगण्य परिमाणमा छ ।

स्वदेशमा उत्पादन नहुँदा मागअनुसार सम्पूर्ण हिस्सा आयात नै भइरहेको छ । नेपालमा उत्पादन नहुँदा बार्षिक करिब डेढ अर्बको व्यापार घाटा ओखरबाट मात्रै नेपालले व्यहोर्दै आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार नेपालमा खासै ओखरको उत्पादन नहुने भएकाले कति परिमाणमा उत्पादन हुन्छ भन्ने विषयमा यकिन तथ्याँक छैन ।

‘कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी जिल्लामा दाँते जातको ओखरको खेती सुरु भएको छ, तर त्यो व्यवसायिक रुपमा छैन,’ प्रवक्ता केसीले भने,‘बजारलाई नै प्रभावित हुने गरी हामी कहाँ उत्पादन भएको छैन । यसले गर्दा उत्पादन र मागको बारेमा केही भन्न सकिन्न ।’

उनका अनुसार बजारमा अहिले आयात भएको र खपत हुने करिब शत प्रतिशत दाँते जातको ओखर छन् ।

बागवानीविद् शिवबहादुर नेपालीका अनुसार नेपालमै उत्पादन भएको हाँडे ओखर गुणस्तरीयका साथै महँगो पनि छ । मध्य एशियामा उत्पति भएको ओखर युरोपबाट विश्वभर फैलिएको हो ।

‘युरोपमा ग्रीसबाट पुगेको अनुमान छ, जहाँ हजारौं वर्ष पहिलेदेखि ओखरको उत्पादन हुन्थ्यो, मध्यकालिन समयमा युरोपमा ओखरलाई औषधीको रुपमा समेत प्रयोग गरिन्थ्यो,’ नेपालीले भने ।

नेपालीका अनुसार कर्णाली प्रदेशमा करिब १ हजार हेक्टरमा ओखरको खेती हुँदै आएको छ । ३ सय ५० हेक्टरबाट एक हजार ४ सय मेट्रिक टनको हाराहारीमा ओखरको उत्पादन भएपनि अधिकाँश स्थानीय बजारमै खपत हुन्छ ।

उनका अनुसार कर्णाली प्रदेशको सुर्खेत, सल्यान, कालीकोट, जुम्ला र मुगुमा ओखर खेतीको प्रचुर सम्भावना छ । लुम्बिनी प्रदेशमा रुकुम पूर्व, प्यूठान र रोल्पामा पनि खेतीको सम्भावना छ । लुम्बिनीकै पुथा उत्तरगंगा गाउँपालिकालाई ओखर खेतीको केन्द्र बनाइएको छ । प्रदेश मन्त्रालयकै पहलमा प्यूठानमा पनि तीन हजारभन्दा बढी बिरुवा रोपिएका छन् ।

ओखर खेती प्रवर्द्धनका लागि हेल्भेटास नेपालको ‘ओखर मूल्य शृङ्खला सबलीकरण परियोजना (मिठो ओखर)’ कार्यक्रमले स्थानीय उद्यमीहरूको आम्दानी बढाउन कर्णाली प्रदेशको ओखर उत्पादन हुने क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

मिठो ओखर कार्यक्रमले जुम्लाको रैथाने प्रजातिको ओखर जोगाउन सन् २०१८ देखि २०२० सम्म हाडे र दाँते ओखरको मुख्य समस्या पहिचान र तिनको समाधानको काम थालेको हो ।

पहिलो चरणको तीन वर्षीय परीक्षण परियोजना सन् २०२० मा सम्पन्न भएपछि दोस्रो चरणमा पाँच वर्षका लागि कार्यक्रम भइरहेको परियोजनाले जनाएको छ ।

कति हुन्छ नेपालमा आयात ?

नेपालमा भने सबैभन्दा बढी चीन, अमेरिका, चिली, भारत र युएईबाट यस्तो ओखर आयात हुन्छ । नेपालमा आयात हुने ओखरको कूल परिमाणमध्ये झण्डै ८० प्रतिशत चीनबाट आउँछ ।

पछिल्लो आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधीमा नेपालमा ४ अर्ब ८२ करोड ९१ लाख ३९ हजार रुपैयाँबराबरको १ करोड ५० लाख ३४ हजार किलो ओखर नेपालमा आयात भएको छ ।

भन्सार विभागको तथ्याँक अनुसार नेपालमा चीनबाट मात्रै वर्षेनी करिब ७० करोड नेपाली रुपैयाँबराबरको ओखर आयात हुन्छ । अमेरिकाबाट ४० करोड रुपैयाँबराबरको आयात हुन्छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो तीन महिनामा मात्रै नेपालमा २० करोड ९८ लाख ३९ हजार रुपैयाँबराबरको ६ लाख ७ हजार किलो ओखर नेपालमा आयात भएको छ ।

यस्तै गत् आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब १४ करोड १३ लाख रुपैयाँबराबरको ३३ लाख किलो ओखर आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने नेपालमा सबैभन्दा कम परिमाणमा ओखर आयात भएको भन्सार विभागको तथ्याँकले देखाएको छ । त्यो वर्षमा ७२ करोड ८५ लाख ६२ हजार रुपैयाँबराबरको २३ लाख ७९ हजार १ सय ९७ किलो ओखर आयात भएको थियो।

उत्पादनमा विश्वमै चीन सबैभन्दा अग्रस्थानमा

विश्वमा सबैभन्दा बढि ओखर फलाउने मुलुक उत्तरी छिमेकी मुलुक चीन हो । विश्वभर उत्पादन हुने कूल ओखरको परिमाणमध्ये झण्डै ५१ प्रतिशतका दरले चीनमा बार्षिक रुपमा १.४ मिलियन मेट्रिक टन (१ अर्ब ४० करोड किलो) उत्पादन हुन्छ ।

दोश्रोमा अमेरिकाले २८ प्रतिशतका दरले ६८९.५ हजार मेट्रिक टन (६८ करोड ९५ लाख किलो) उत्पादन गर्दै आएको छ । यस्तै तेश्रोमा चिली ७ प्रतिशत र चौथोमा युरोपियन मुलुकले ५ प्रतिशतको परिमाणमा ओखरको उत्पादन गर्दैआएको छ ।

यसपछि इरान, युक्रेन, फ्रान्स, भारत, रोमानिया, मोल्डोभा र टर्कीले पनि उल्लेख्य परिमाणमा ओखरको उत्पादन गर्छ ।

दक्षिणी छिमेकी मुलुक भारतको अरुणाचल प्रदेश, हिमाचल प्रदेश, उत्तराखण्ड र जम्मु कस्मिरका ओखरको खेती हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय तथ्याँक संस्था स्टाटीकाका अनुसार पछिल्लो १० वर्षको अवधीमा ओखर उत्पादनमा ४ प्रतिशतको दरले बृद्धि भएको छ । स्टाटीकाका अनुसार ओखरको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुकमा अमेरिका हो । अमेरिकाले एक वर्षमा ६२४.६ मिलियन अमेरिकी डलरबराबरको ओखर विभिन्न मुलुकमा निर्यात गर्छ ।

यस्तै दोश्रोमा मेक्सिकोले ५००.७ मिलियन अमेरिकी डलरबराबरको निर्यात गर्छ । तेश्रोमा चीनले २५४.३ मिलियन अमेरिकी डलर, चौथोमा चिलीले १८७.२ मिलियन डलर र पाँचौंमा जर्मनीले ११९.५ मिलियन अमेरिकी डलरबराबरको ओखर विश्व बजारमा निर्यात गर्दैआएको छ ।

विश्वमा ओखरका २१ वटा प्रजाति पाइन्छन् । तीमध्ये खानका लागि उपयोग हुने प्रजाति जे रेगिया हो । यो प्रजाति अन्तर्गतका ओखरलाई दाँते र हाडे ओखर गरी दुई समूहमा विभाजन गरिएको छ । खानका लागि दाँते ओखर उपयोगी हुन्छ भने कलमी गर्न मूल बिरुवाका रूपमा उपयोग गर्न हाडे ओखर उपयोगी हुन्छ ।

यस्ता छन् ओखर खानुका फाइदा

दिमागका लागि ओखर राम्रो खाद्य पर्दाथ मानिन्छ । यसमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ । यसले दिमाग तेज बनाउनुका साथै शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ । नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैन । यसका साथै अनावश्यक तौल पनि बढ्दैन् ।

एक अध्ययन अनुसार ओखरले एकाग्रकता बढाउनमा ठूलो मद्दत गर्छ । ओखरमा पाइने ओमेगा ३ फ्याटी एसिडले मस्तिष्क स्वस्थ राख्न सहयोग गर्छ ।

बढ्दो उमेरका केटाकेटीलाई ओखर खुवाउँदा यसले छिटो मानसिक तथा शारीरिक वृत्ति विकास गर्छ । नियमित ओखरा खाँदा निन्द्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ । यसमा मेलाटोनिन नामक हर्मोन हुन्छ । यो हर्मोनको काम निद्रा लगाउनु हो ।

डाइटिङमा रहेकाहरुका लागि यो फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यो डाइटिङ गर्नेहरुका लागि फाइदाजनक मानिएको हो । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । फाइवरले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । नियमित सेवन गरे रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसले क्यान्सर, हृदयघात र अन्य रोग लाग्नबाट बचाउँछ । कोलेस्ट्रोल कम गर्छ । हड्डी बलियो बनाउँछ । छालामा चमक ल्याउन पनि ठूलो सहयोग गर्छ ।


राजेश बर्मा