कहिले हुन्छ पाइपलाइनबाट पेट्रोल आयात ?
पाइपलाइनबाट पेट्रोल आयात नहुँदा ७५ दिनमा निगमलाई साढे ३० करोड रुपैयाँ नोक्सान
काठमाडौं । निर्धारित कार्यतालिकामा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात नहुँदा नेपाल आयल निगमले पछिल्लो ७५ दिनमा बचत हुनुपर्ने ३० करोड ६० लाख रुपैयाँ ढुवानी शीर्षकमा नोक्सानी बेहोरेको छ ।
कार्यतालिकाअनुसार साउन पहिलो साता (अगस्ट) देखि उक्त पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात हुनुपर्ने थियो । तर इण्डियन आयल कर्पोरेशन(आईओसी)को ढिला सुस्तीका कारण हालसम्म यो पाइपलाइनबाट पेट्रोल आयात हुन सकेको छैन ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दोस्रो चरणअन्तर्गत यसअघि गत वर्षको अप्रिलबाट उक्त पाइपलाइनबाट पेट्रोल खसाल्ने योजना थियो । त्यो बेला भारतीय पक्षले भौतिक पूर्वाधार निर्माण र उपकरण जडान कार्यमा गरेको ढिला सुस्तीका कारण निर्धारित समयमा पेट्रोल ल्याउने काम प्रभावित भएको थियो ।
दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि आईओसीले लिखिता इन्फ्रास्ट्रक्चरसँग सम्झौता गरेको छ । पाइपलाइन अन्तर्गत पेट्रोल भण्डारण गर्ने ट्रकट्याँक निर्माणमा ढिलाई भएको हुँदा निर्धारित समयमा पाइपलाइनबाट पेट्रोल खसाल्न नसकिएको हो ।
पाइपलाइनबाट आयात हुन नसक्दा बरौनी–अमलेखगञ्जसम्म ट्याँकरबाट पेट्रोल आयात हुँदै आएको छ । बरौनीबाट पेट्रोल ल्याउन २ सय ४ वटा २० किलोलिटर (२० हजार लिटर) को ट्याँकर परिचालन भएको छ ।
निगम स्रोतका अनुसार पाइपलाइनमार्फत अमलेखगञ्ज डिपोसम्म पेट्रोल आयात भएको भए अहिले बरौनी–अमलेखगञ्जसम्म हुँदै आएको ढुवानी खर्च बचत हुन्थ्यो ।
आईओसीको ढिलासुस्तीका कारण अब यो पाइपलाइनमार्फत आगामी डिसेम्बरको अन्तिम साता वा जनवरीको पहिलो साताबाट मात्रै पेट्रोल ल्याउने अन्तिम तयारी छ ।
उता निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भने आगामी नोभेम्वरदेखि पाइपलाइनबाट नियमित रुपमा अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालय डिपोमा पेट्रोल खसाल्ने योजना अघि बढेको जानकारी दिए ।
‘भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण काम सकेर पाइपलाइनबाट पेट्रोल ल्याएर टेस्टिङ्ग गर्ने काम पनि सम्पन्न भइसकेको छ, अब उद्घाटन गरेर नियमित रुपमा पेट्रोल ल्याउने हो,’ भट्टले क्लिकमान्डुसँग भने,‘यसका लागि आईओसीले एउटा मिति निर्धारण गरेर उपलब्ध गराउन भनेको छ, हामी गृहकार्य गरेर एउटा मिति उपलब्ध गराउन लागेका छौं । सम्भवतः नोभेम्बरदेखि पाइपलाइनबाट नियमित रुपमा पेट्रोल आउनेछ ।’
यसरी तोकिएको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेपछि नियमित रुपमा पाइपलाइनबाट पेट्रोल खसालिने योजना छ ।
बरौनीबाट भैरहवा, पोखरा, वीरगञ्ज, काठमाडौं र बिराटनगर डिपोसम्म मासिक ३६ हजार(३ करोड ६० लाख लिटर) देखि ४० हजार किलोलिटर(४ करोड लिटर) पेट्रोल ट्याँकरमार्फत ढुवानी हुँदै आएको छ ।
समाचारमा बरौंनी–अमलेखगञ्जसम्म ट्याँकरमार्फत हुने पेट्रोलको ढुवानीको मात्रै हिसाव गरिएको छ । यसको लागि मासिक औषत ३६ हजार किलोलिटर पेट्रोलको आधार लिइएको छ ।
निर्धारित कार्यतालिकाअनुसार पछिल्लो समयमा अगस्तदेखि पाइपलाइनबाट ढुवानी हुनुपर्ने थियो । तर निर्माणपक्षको ढिलाईले ढुवानी नहुँदा पछिल्लो समयमा करिब ७५ दिन अर्थात अढाई महिना बरौंनीबाट ट्यांकरमार्फत पेट्रोल ढुवानी भएको छ ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार पाइपलाइनमार्फत पेट्रोल आयात नहुँदा शनिबारको विदा वाहेक करिब ७५ दिन ट्याँकरमार्फत बरौंनीबाट सोझै काठमाडौंसहित भैरहवा, पोखरा, वीरगञ्ज र बिराटनगर डिपोसम्म पेट्रोल ढुवानी भएको छ ।
७५ दिनमा निगमले ट्याँकरमार्फत भारतको बरौनीबाट अमलेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा ३० करोड ६० लाख रुपैयाँ खर्च गरेको हो ।
निगमका अनुसार बरौंनीबाट अमलेखगञ्जसम्म ढुवानी गर्दा प्रतिलिटर ३ रुपैयाँ ४० पैसा ढुवानी खर्च लाग्छ । यस्तै अमलेखगञ्जबाट काठमाडौंको थानकोट डिपोसम्म ढुवानी गर्दा प्रतिलिटर २ रुपैयाँ ५० पैसा खर्च लाग्छ । डिजेलको मूल्य थपघट हुँदा यो ढुवानी खर्र्च पनि थपघट हुन्छ ।
निर्धारित कार्यतालिका अनुसार पाइपलाइनबाट पेट्रोल आयात भएको भए पाइपलाइनबाट मोतिहारीबाट अमलेखगञ्जसम्म पेट्रोल आयात हुन्थ्यो । यसले गर्दा पेट्रोल ढुवानी भएको भए त्यो ढुवानीवापतको रकम जोगिन्थ्यो ।
ट्याँकरमार्फत आयात हुने पेट्रोलको कूल परिमाणमध्ये दैनिक ८ सय किलोलिटर राजधानीमै भित्रिने र खपत हुने गरेको छ । यसरी हेर्दा काठमाडौंको हकमा अहिले बरौनीबाट अमलेगञ्जसम्म मात्रै पेट्रोल ढुवानी गर्दा प्रति दिन ८ लाख लिटरवरावरको ढुवानी खर्च २७ लाख २० हजार रुपैयाँ बचत हुन्थ्यो ।
सकियो पाइपलाइनबाट पेट्रोल खसाल्ने टेस्टिङ
अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलंकर आचार्यका अनुसार गत् असोज १७ गते आईओसीको प्राविधिक टोलीले पाइपलाइनबाट पेट्रोल ल्याएर टेस्टिङ्ग गर्ने काम सम्पन्न गरेको छ ।
पाइपलाइनबाट ५ हजार ५ सय किलोलिटर(५५ लाख लिटर) पेट्रोल अमलेखगञ्जको डिपोमा खसालेर भारतीय प्राविधिक टोलीले सफल परीक्षण गरिसकेका छन् । यो पाइपलाइनको सहयोगमा प्रतिदिन ६ हजार किलोलिटर पेट्रोल ल्याउन सकिन्छ ।
पाइपलाइनबाट नियमित रुपमा पेट्रोल खसाल्न जडान गरिएको नयाँ मोटर, फ्लोमिटरहरु चार्ज गर्ने काम पनि सम्पन्न भइसकेको आर्चायले जानकारी दिए ।
‘पाइपलाइनबाट पेट्रोल खसाल्न आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारको निर्माणका साथै उपकरणसम्मको जडान कार्य सम्पन्न भइसकेको छ,’ आचार्यले भने,‘औपचारिक रुपमा उद्घाटन गरेर नियमित रुपमा पाइपलाइनबाट पेट्रोल खसाल्न मात्रै बाँकी छ।’
अहिलेसम्म के के काम सकियो ?
अमलेखगञ्ज डिपोमा पेट्रोल झार्ने बिषयमा निगम र आईओसीबीच सम्झौता भएको थियो । यो सम्झौताअनुसार सन् २०२४ को मार्च २ (फागुन १९ गते) मा पहिलो र दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण गरिसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।
निर्माण कार्य सम्पन्न भएपश्चात् परीक्षण गरेर अप्रिलदेखि पाइपलाइनबाट पेट्रोल ल्याउने लक्ष्य राखिएको थियो ।
सम्झौताअनुसार पहिलो चरणअन्तर्गत आईओसीले ४ हजार १ सय किलोलिटर (४१ लाख लिटर) क्षमताको पेट्रोल भण्डारण गर्ने एउटा ट्यांक, २ सय ५० किलोलिटर (२ लाख ५० हजार लिटर) क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक र ३ हजार १ सय किलोलिटर (३१ लाख लिटर) को दुई फायर वाटर ट्यांक निर्माण गर्नुपर्ने थियो ।
सम्झौताअनुसार दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणको जिम्मेवारी निगमले पाएको थियो । निगमले ४ हजार १ सय किलोलिटर (४१ लाख लिटर) क्षमताको पेट्रोल भण्डारण गर्ने दोश्रो ट्यांक, अत्याधुनिक प्रयोगशाला, पम्प हाउस, फायर फाइटिङ स्तरोन्नति, आयल वाटर सेपरेटर, कन्ट्रोल रुम र एकै पटकमा २४ वटा ट्यांकमा इन्धन भर्न सक्ने क्षमताको २४ वे टीएलएफ निर्माण गर्नुपर्ने थियो ।
सम्झौताअनुसार भारतीय पक्ष र निगम पक्षले आ–आफ्नो जिम्मेवारीमा परेको भौतिक पूर्वाधारको निर्माण सम्पन्न गरिसकेको आचार्यले जानकारी दिए ।
दक्षिण एशियामै पहिलो अन्तरदेशिय पाइपलाइन नेपाल–भारतको सीमामा मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालन आएको छ । करिब ६९ किलोमिटर लम्बाई भएको यो पाइपलाइनको २०१९ को सेप्टेम्बर १० तारिखदेखि सञ्चालनमा आएको हो ।
पाइपलाइनका कारण थप ७० करोड ढुवानी खर्च जोगिने
निगमले मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत भित्र्याइने पेट्रोलका कारण निगमले वार्षिक रुपमा थप करिब ७० करोड रुपैयाँ ढुवानी शिर्षकअन्तर्गत बचत हुने जनाएको छ ।
नेपालमा वार्षिक ७ लाख किलोलिटर (७० करोड लिटर) पेट्रोल खपत हुन्छ । यसमध्ये पाइपलाइनबाट ७० प्रतिशतका दरले ४ लाख ९० हजार किलोलिटर (४९ करोड लिटर) आयात गर्ने लक्ष्य निगमले राखेको छ ।