प्राधिकरणले सम्झौता अनुसारको बिजुली दिन नसकेपछि भारतलाई १० करोडभन्दा बढी जरिवाना तिर्नुपर्ने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतका विभिन्न कम्पनीलाई बिड गरे जति बिजुली दिन नसकेका कारण १० करोड रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्ने भएको छ ।

विद्युत प्राधिकरणले असोज १० गते भोलिपल्ट (असोज ११ गते) भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मा ९०० मेगावाटभन्दा बढी बिजुलीको बिक्री गर्न बिड गरेको थियो । उक्त बिड अनुसार भारतीय कम्पनीहरुले बिजुली किन्न प्रस्ताव हाले । कम्पनीहरुले उक्त परिमाणको बिजुली भोलिपल्ट लैजाने प्राधिकरणसँग सहमति गरे ।

तर १० गते राती आएको बाढीलले सरकारीसहित तीन दर्जन जलविद्युतमा क्षति पुर्‍यायो । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहिका करिब १५०० मेगावाटको उत्पादन बन्द भयो । सोही कारण नेपालले भारतमा बिजुली निर्यात गर्न सकेन । उल्टो सिस्टम चार्ज गर्नका लागि भारतबाट केहि मेगावाट आयात गर्नु परेको थियो ।

‘हामीले बिडमा सहमति गरेजति बिजुली दिन सकेनौं भने पेनाल्टी तिर्नुपर्छ । हामीलाई १० करोड रुपैयाँभन्दा बढी क्लेम गरेका छन्,’ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले क्लिकमान्डुसँग भने- ‘प्राकृतिक विपत्ति पर्‍यो भनेर हामीले कुटनीतिक पहल गरेका छौं । तर व्यापार भनेको व्यापार नै हो । तिर्नुपर्ने हुन्छ ।’

प्रतिस्पर्धी बजारमा भोलीपल्ट बिक्रीका लागि अघिल्लो दिन नै बिड गर्नुपर्छ । नेपालको कुल जडित क्षमता ३२०० मेगावाट बढी पुगेको छ । आन्तरिक माग २००० मेगावाट पनि पुगेको छैन । सोही कारण भारतमा बिक्री नहुँदा खेर फाल्नुपर्ने अवस्था छ । अहिले भने बाढीले पुर्‍याएको क्षतिका कारण अहिले १५ हजार ६ सय ५२ मेगावाट आवर निर्यात भइरहेको  छ  । नेपालको आन्तरिक पीक डिमाण्ड सोमबार २३३७ मेगावाट रेकर्ड भएको छ ।  

बाढीका कारण निर्यात घट्यो, हिउँदमा आयात बढाउनुपर्ने

‍ नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ ।

बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको छ ।

‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ’, घिसिङले भने ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीबहिरोभन्दा पहिले दैनिक रुपमा ९०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो । 

असोज १० गतेपछिको बाढीले माथिल्लो तामाकोसीमा ठूलो क्षति पुगेको छ । मर्मत हिउँदसम्म नभएपनि भारतबाट आयात हुने बिजुली बढाउनुपर्ने अवस्था छ । अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना रहेका कारण हिउँदमा उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण आन्तरिक माग पूरा गर्न ६०० मेगावाटसम्म हिउँदमा आयात हुन गरेको छ ।


दिनेश खड्का