संघाईको हातमा पुग्ने बित्तिकै नेपाली बजारमा बुलेटको रेकर्ड ब्रेक, एक वर्षमै बेच्यो १० हजार बाइक



काठमाडौं । नेपाली बजारमा रोयल एनफिल्डको बिक्रीले रेकर्ड कायम गरेको छ । संघाई परिवारको त्रिवेणी ग्रुप कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता बनेपछि नेपाली बजारमा बुलेट बाइक भनेर चिनिने रोयल एनफिल्डका मोटरसाइक बिक्री नयाँ उचाइमा पुगेको हो ।

त्रिवेणी ग्रुप अन्तर्गतको टीजी अटो ग्रुप स्थापनाको पहिलो वर्षमै १० हजार वटा बाइक बेचेको हो । यो उपलब्धि एनफिल्ड बाइकको नेपालमा वार्षिक बिक्री संख्यामा यसअघिको रेकर्ड ६ हजारभन्दा ४ हजार बढी हो ।

रोयल एनफिल्डको बिक्रेता बनेलगत्तै कम्पनीले नेपालमै एनफिल्डको एसेम्बली प्लान्ट स्थापना गरेको थियो । जसकारण नेपाली बजारमा बुलेट सस्तिएको हो । नेपालमा सीकेडी प्लान्ट स्थापना गरेकाले कम्पनीले अन्तःशुल्कमा ५० प्रतिशत र भन्सार महसुलमा २५ प्रतिशत छुट पाएको हो । यो छुट कम्पनीले उपभोक्तामा ट्रान्स्फर गरेका कारण नेपाली बजारमा बुलेट बाइकले थप आकर्षण कमाएको थियो ।

यही कारण नै टीजी अटो ग्रुपले एक वर्षमै २ अर्ब ९२ करोड रुपैयाँको व्यापार गरेको छ । २०८० जेठमा स्थापना भएको कम्पनीले आव २०८०/८१ मा १९ करोड रुपैयाँको व्यापार गरेकामा त्यसपछिको आवमा कम्पनीले गरेको व्यापार आकासिएको हो ।

कम्पनीको नाफाको मार्जिन ६.३५ प्रतिशत रहेको छ । नेपालमा एसेम्बलिङ प्लान्टले गर्ने कुल व्यापारमा कर, ब्याज र डिप्रिसियसन अघिको नाफा ५ देखि ७ प्रतिशत रहने गरेको छ ।

नेपालको दुईपांग्रे प्रिमियम सवारी बजारमा रोयल एनफिल्डको उपस्थिति बलियो छ । ३५० सीसीभन्दा ठूला बाइक बजारमा एनफिल्ड बजार लिडर हो ।

देशकै ठूलो व्यावसायिक समूहमध्येको एक त्रिवेणी ग्रुप बैंकिङ, बिमा, उत्पादनमुलक उद्योग, व्यापार र अन्य व्यवसायमा संलग्न छ । वीरेन्द्रलाल संघाइ टीजी अटोको अध्यक्ष हुन् ।

टीजी अटो रोयल एनफिल्डको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता र उत्पादक पनि हो । कम्पनीले बारा जिल्लामा १ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको सुविधासम्पन्न एसेम्बली प्लान्ट निर्माण गरेको छ । सो प्लान्टले प्रतिवर्ष २० हजार युनिट मोटरसाइकल उत्पादन गर्न सक्छ ।

टीजी अटोले ७० करोड ऋणका लागि केयर नेपालबाट रेटिङ गराएको छ । जसअनुसार २५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि केयर एनपी ट्रिपल बी माइनस र बाँकी अल्पकालीन कर्जाका लागि केयर एनपी एथ्री रेटिङ पाएको छ ।


क्लिकमान्डु