रेकर्ड तोडिरहेको सेयर बजार कहाँसम्म पुग्ला ?



काठमाडौं । पछिल्ला दिनहरुमा पुँजी बजारमा कारोबार रकमले रेकर्ड ब्रेक गर्दै ‘अलटाइम हाइ’ मा पुगेको छ । बजार परिसूचक नेप्से पनि निरन्तर उकालो यात्रामा छ ।

आइतबार नेप्से ९४.५३ अंकले बढ्दा २६ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो । सोमबार उक्त रेकर्ड ब्रेक गर्दै २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भयो भने ७०.८१ अंकले बढेर नेप्से २९३१.६५ विन्दुमा पुगेको छ । यो २०७८ भदौयताकै उच्च हो ।

कोरोना महामारीका बेला नयाँ नयाँ रेकर्ड बनाउँदै २०७८ भदौ २ गते हालसम्मकै उच्च अर्थात् ३१९८ अंक पुगेर तल झरेको थियो। २०७९ असोज ९ गते १८१५ को न्युन अंकमा झरेको थियो ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन बनेपछि नेप्सेले बुलिस ट्रेन्ड समातेको छ । गत असार १७ गते कांग्रेस एमालेको सत्ता गठबन्धन बन्ने सहमति हुनुअघि नेप्से २००० अंकको हाराहारीमा थियो । नयाँ गठबन्धन बनेपछि सेयर बजारका लगानीकर्ताहरुमा आत्मविश्वास बढेका कारण सेयर बजारले रेकर्ड ब्रेक गरेको आम बुझाइ छ । र, भइरहेको पनि त्यस्तै छ ।

नहोस् पनि कसरी ? प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेल र अन्य मन्त्रीहरु नै सेयर बजार बढाएर जस लिन सक्रिय छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासतको मत लिने क्रममा संसदमै ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो । अब सेयर बजार मात्र होइन, देशको पूरै बजार चलायमान हुनेछ’ भनेर जस लिन भ्याइसकेका छन् ।

लगातार नेप्से बढिरहँदा सेयर बजार अर्थतन्त्रको वास्तविक ऐना भएको मान्न सकिँदैन । किनभने, आर्थिक वर्ष २०८०/८१ को अन्त्य र २०८१/८२ को सुरुवात हुँदै गर्दा देशले पुँजी बजारबारे अंगिकार गर्ने नीति फेरिएको छैन । अर्थतन्त्र चलायमान भइसकेको छैन । उपभोक्ताको क्रयशक्ति र मागमा सुधार आइसकेको छैन । सरकारी खर्च बढेको छैन, बिल बुझाएर बसेका निर्माण व्यवसायीले भुक्तानी पाइसकेका छैनन् । न त सूचीकृत कम्पनीले व्यापक नाफा नै गरेका छन् ।

फेरिएको छ त केबल सरकार । अनि सरकार र राष्ट्र बैंकबीचको ट्युनिङ ।

२०७८ असार २८ गते ओलीको सत्ता बहिर्गमन भएसँगै सरकार र राष्ट्र बैंकबीच खटपटी सुरु भयो । सुधारका लागि भन्दै राष्ट्र बैंकले सरकारका नीतिलाई सहयोग गरेन । ढुकुटीको चाबी लिएर बसेका गभर्नर महाप्रसाद अधिकारीले पैसाको मुहानमा बाँध बाँधिदिए । ओलीका पालामा जथाभावी कर्जा विस्तार गर्ने नीति लिएका गभर्नरले त्यसपछि सुधारका नाममा गरेको कडाइले थप सर्वसाधारण डुब्नबाट त बचे । तर, ३ वर्षपछि ओली सत्तामा आएपछि गभर्नर अधिकारीको सुधार अभियानमा पूर्णविराम लाग्यो । जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ ।

‘सरकार परिवर्तनले आम लगानीकर्तामा एउटा आशा जगाएको थियो, साउन ११ गते राष्ट्र बैंकले बजारका केही माग सम्बोधन गरेर सकारात्मक सन्देश दिएपछि लगानीकर्ताहरुले आड/भरोसाको अनुभूति गरेका छन्,’ एक ब्रोकरले भने, ‘त्यसबेलासम्मम पूराना खेलाडीहरु डराइ/डराइ प्रोफिट बुक गरिरहेका थिए । तर, पछिल्ला १०/१५ दिनमा बुक गरेको प्रोफिट फेरि बजारमै खन्याएका छन् भने नयाँ लगानीकर्ताको प्रवेश निकै बाक्लो हुन थालेको छ । यसले बजार अझै केही सय अंकले माथि जानसक्ने देखिएको छ ।’

ब्रोकर कार्यालयमा भेला भएका लगानीकर्ताहरुको कुरा सुन्दा बजार ३५००–४००० पुग्छ । नेप्से ४००० अंकसम्म पुग्छ भन्दै अहिले धेरैले धमाधम सेयर किनिरहेका छन् । त्यतिमात्रै होइन, रियल टाइम अनलाइन ट्रेडिङ गर्नेहरुको संख्या पनि सामान्य अवस्थाकोमा भन्दा ३ गुणाले बढेको छ ।

‘लगानीकर्ताहरुमा बुलिस ट्रेण्डको भूत सवार भएको देखिन्छ,’ ती ब्रोकरले भने, ‘हेरौं कहाँ पुगेर रोकिन्छ ।’

तर पछिल्ला दिनहरुमा ठूला खेलाडी, पूराना, संस्थागत र नयाँ लगानीकर्ता ओइरिन थालेपछि भने बजार अझै केही समय बढ्दो ट्रेण्डमै रहने विश्लेषण गरिएको छ ।

सेयर बजारबाट पैसा कमाएकाहरु फेरि बजारमै फर्किँदा केही समय बुल हुने गरेको विगतको अनुभव छ ।

लगानीकर्ताको मनोविज्ञानलाई सस्तो ब्याजदर र बैंकहरुमा रहेको अधिक तरलताले पनि उल्लेख्य सपोर्ट गरेको छ ।

‘मन्त्री र प्रधानमन्त्रीले भाषण गरेकै भरमा मात्रै बजार यसरी बढ्ने थिएन,’ एक बैंकरले भने, ‘एकातिर ब्याजदर सस्तो भयो भने अधिक तरलता बोकेर बसेका बैंकहरुले पनि सेयर धितो कर्जा बढाए, जसले बजार बढ्न थप मद्दत मिल्यो।’

सेयर बजार बढे अर्थतन्त्र चलायमान हुन्छ भन्ने सरकारको आस, सेयर बजार नबढे बैंकको कर्जा असूली थप बिग्रने बैंकरको त्रास र सरकार परिवर्तनलाई कमाउने मौका छोपेर बसेका खेलाडीको सक्रियताले नयाँ गठबन्धन बनेपछि नेप्से ९०० अंकले बढिसकेको छ ।

‘सेयर बजार ३००० अंकको हाराहारीमा पुग्यो भने लगानीकर्ताहरुले बेचेर बैंकको ऋण तिर्छन भन्ने अपेक्षामा हामीले कर्जा बढाएर सहयोग गर्यौं,’ ती बैंकरले भने ।

सेयर बजारका कारोबारीहरु लामो समय कमाउन नपाएको झोंकमा छन् । नेप्सेसँगै विभिन्न कम्पनीको सेयर मूल्य बढ्नु उनीहरुका लागि कमाउने उपयुक्त अवसर हो ।

अर्थमन्त्रालयका अधिकारीहरु रोजगारी सिर्जना गर्ने नीति ल्याउन भन्दा पनि सेयर बढे कारोबारसँगै राजस्व पनि वृद्धि हुन्छ, सेयरबाट पैसा कमाएकाले घरजग्गा किन्छन् र अर्थतन्त्र थप चलायमान हुन्छ भन्नेमा ढुक्क भएर बसेका छन् ।

पुँजी बजार बढ्दा लगानीको अवसर खोजिरहेको अर्काथरी सर्वसाधारण पनि मख्ख छन् । सेयर बढेर अर्काले कमाएको देखेर बजारमा हाम्फाल्नेको संख्या पनि ह्वात्तै बढेको छ ।

सरकारको आस र बैंकरको त्रासमा राष्ट्र बैंकले पनि नीतिगत सहयोग गर्यो । केन्द्रिय बैंकले साना र ठूला दुवै लगानीकर्तालाई ढाडस दियो । एकातिर १२५ प्रतिशत रहेको ५० लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्यो भने संस्थागत लगानीकर्ताको हकमा २० करोडको सीमा खारेज गर्यो ।

राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको हकमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको क्याप हटाएपछि पछिल्लो समय यो व्यवस्थाका कारण बैंकमा मार्जिन कर्जा माग गर्न जाने संस्थागत लगानीकर्ताको संख्या बढेको छ । ब्रोकरहरुले पनि बढिरहेको बजार भएकाले सर्वसाधारण लगानीकर्तालाई लिमिट दिन कञ्जुस्याईं गरेका छैनन् ।

समग्र माग कमी भएका कारण उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षिक हुन नसकिरहेको परिस्थितिमा धेरैका लागि अल्पकालमै कमाउन सक्ने क्षेत्रका रुपमा सेयर बजार उदाएको छ । सेयर बजार बढ्दो गतिमा रहेकाले प्राकृतिक रुपमा सर्वसाधारण लगानीकर्ताले सेयर बजारमा लगानीको अवसर देख्नु र लगानी गर्न थाल्नु, यसरी एक जनाले कमाउन थालेपछि सिको गरेर उसको जस्तै काम सुरुवात गर्नु नेपालमा नयाँ कुरा होइन । पछिल्ला दिनहरुमा सरकारी कर्मचारीका आफन्त र केही वर्षदेखि बैंकमा राखेर ब्याज खाने वर्ग बजारमा प्रवेश गर्न थालेको छ ।

‘बाठा खेलाडीहरु नेप्से एउटा विन्दुमा पुगेपछि प्रोफिट बुक गर्छन् र बाहिरिन्छन् । त्यसपछि फेरि सेयर बजार घट्न थाल्छ । र उच्च अंकमा प्रवेश गरेका सोझासाझ लगानीकर्ताहरु फस्ने ठूलो जोखिम रहन्छ । तर त्यो अंक कुन हो भन्ने यकिन भइसकेको नभए पनि केही ठूला खेलाडीहरु ३२०० देखि ३४०० पुर्‍याएर बाहिरिने मुडमा देखिन्छन्,’ अर्का एक ब्रोकर भन्छन्, ‘तपाईं आफ्नै कमाइ वा बचतमा भएको पैसा लगानी गरेर होल्ड गर्न सक्नुहुन्छ भने त लगानी गर्नु ठीक हुन्छ । तर बजार बढेको लहडमा ऋण लिएर लगानी गर्नुभयो भने त्यो भविष्यमा जोखिमपूर्ण हुने देखिन्छ ।’


क्लिकमान्डु