सेयर किन्दा अर्थमन्त्रीको मुहार हेर्ने कि अर्थतन्त्रको अवस्था ? खेलाडीले बढाएको बजारमा फसिएला है !



श्यामप्रसाद खेतमा खासै काम गर्दैनथ्यो । यसपाली ५ मुरी जति धान उब्जाउने उसको लक्ष्य थियो । मिहिनेत भने फिटिक्कै गर्दैनथ्यो । डोलप्रसादको कुरामात्र काटेर बस्थ्यो । डोलप्रसाद भन्दा कसरी बढी उब्जाउन सकिन्छ भनेरमात्र सोच्थ्यो । खेतमा मलजल, गोडमेल गर्दैनथ्यो ।

डोलप्रसादको खेतमा विष हालिदिएर होस् वा बालीमा राती वस्तुभाउ छाडेर होस्, उसको बाली नष्ट हुनैपर्छ भन्ने सोच राख्थ्यो ।

खुलेआम नै ‘यो डोले खेती गर्नै जान्दैन’ भन्थ्यो । यति भनेपछि ऊ भजन किर्तन गर्थ्यो । ‘डोले’ नाम श्यामप्रसादका लागि एक प्रकारले ‘मैलो’ थियो । भगवानको नाम जपेपछि मात्र सफा भइन्छ भन्ने सोच्थ्यो ।

पोहोर ४ मुरी फलाएकाले यसपाली ५ मुरी फलिहाल्ने ओभरकन्फिडेन्स श्यामप्रसादमा थियो । तर, मिहिनेत भने फुट्टो गर्दैनथ्यो।

श्यामप्रसाद र डोलप्रसाद दुवैले खेती लगाए । ४ महिनापछि धान काटे ५ मुरी त परै जाओस् श्यामप्रसादको खेतमा ३ मुरीमात्र धान फल्यो ।

तर, श्यामप्रसाद एकरत्ति पनि दुःखी भएन । किनकी श्यामप्रसादले दुस्मन ठान्ने डोलप्रसादको भन्दा १ मुरी बढी धान फलाएको थियो ।

अझ भन्दै हिँड्थ्यो, ‘५ मुरी नफलेर के भो त ? बढी धान फलाउने मै हूँ ।’

श्यामप्रसाद यही आत्मरतिमा बाँचिरह्यो ।

०००
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासतको मत लिने क्रममा प्रतिनिधिसभामा भने, ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी लगानीकर्ताहरू संलग्न सेयर बजार पछिल्लो २ सातामा ४०० अंकले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो । अब सेयर बजार मात्र होइन, देशको पूरै बजार चलायमान हुनेछ ।’

प्रधानमन्त्री केपी ओलीको यो बोलीमा ३ मुरी धान फलाउने श्यामप्रसादको झैं एक आत्मरति छचल्किन्थ्यो ।

किनकी न त सेयर बजारको निम्ति ओलीले आफ्नो कार्यकालमा उथलपुथलै सुधारको काम गरेका थिए न त ओलीको दल नेकपा एमाले खुला अर्थतन्त्र र उदारवादको वकालत गर्ने दल नै हो । बोलीमा चिप्लोपन भए पनि पुँजीवादका पक्षधर ओली होइनन् भन्ने सेयर बजारले राम्रोसँग चिनेको छ ।

ओलीलाई मात्र होइन सत्तारुढ नेपाली कांग्रेसलाई पनि देशका दुई ठूला दल मिलेर सेयर बजार बढेको भन्ने भ्रम छ । हिजो अर्थमन्त्री हुँदा बजारको पक्षमा सिन्को नभाँचेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि दुई ठूला राजनीतिक दलहरु एमाले-काँगेस मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको खुलेआम दाबी गर्छन् ।

‘मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको छ, अब सेयर बजारमात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिन्छ,’ महतले सोमबार साँझ भनेका छन् ।

पुँजीवादको वकालत गर्ने तथा खुला अर्थतन्त्र र उदारताको पक्षधर कांग्रेसमा पनि सेयर बजारले अधैर्यताको बाँध भत्काएको बुझाइ कम र आत्मरति बढी रहेको प्रवक्ता महतको बोलीले इंगित गर्दछ ।

०००
सेयर बजारले देखाएको अर्को प्रवृत्ति हो, अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्तिको बहार । जब जब अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् तब तब सेयर बजार बढेकै छ ।

२०७३ साउनमा नेप्से १८८१ अंकसम्म पुग्दा अर्थमन्त्री रहेका विष्णु पौडेललाई सेयर बजारको ‘गुडलक’का रुपमा प्रचार गरियो । सत्ता परिवर्तन भएर एमालेको इन्ट्री हुनासाथ अर्थमन्त्रीका रुपमा सेयर बजारले विष्णु पौडेललाई नै रोज्यो ।

सेयर बजारले सत्तामा एमाले र अर्थमन्त्रीमा एमालेका अरु नेतालाई नरुचाउने प्रवृत्ति पनि अचम्मको छ । ओली सरकारमा रहेका बेला २०७६ मंसिरमा पछिल्लो १० वर्षकै तल्लो बिन्दु ११११ अंकसम्म पुगेको नेप्से परिसूचकमा अर्थमन्त्रीबाट पूर्वगभर्नर डा. युवराज खतिवडाको बहिर्गमन भइ पौडेलको आगमन भएपछि ३०२२ अंकसम्म पुगेको इतिहास छ ।

तेस्रोपल्ट पौडेल २०७९ पुस ११ गते अर्थमन्त्री बनेपछि नेप्स दुईसातामै साढे ३०० अंकले उचालिएको थियो ।

चौथोपल्ट असार तेस्रो साता सत्ता गठबन्धन फेरिएर पौडेल अर्थमन्त्री नियुक्त हुने हल्ला चलेयता बजार ५०० अंकले बढिसकेको छ । पौडेल अर्थमन्त्री बनेयतै नेप्सेमा ३०० अंकको सुधार आइसकेको छ ।

यो तथ्यको स्पष्ट अर्थ हो, अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा पछिल्लो १० वर्ष विष्णु पौडेलको मुहार देखिने गरेको छ ।

अर्थतन्त्रको ऐनामा पौडेलको मुहार
आर्थिक वर्ष २०८०/८१ को अन्त्य र २०८१/८२ को सुरुवात हुँदै गर्दा देशले पुँजी बजारबारे अंगिकार गर्ने नीति फेरिएको छैन । अर्थतन्त्र चलायमान भइसकेको छैन । उपभोक्ताको क्रयशक्ति र मागमा सुधार आइसकेको छैन । सरकारी खर्च बढेको छैन, बिल बुझाएर बसेका निर्माण व्यवसायीले भुक्तानी पाइसकेका छैनन् । बैंकबाट कर्जा लिने क्रम खासै बढेको छैन ।

उल्लेखित परिदृष्यमा भविष्यप्रति कोही विश्वस्त भइहाल्ने स्थिति पनि छैन । न त नियमनले कसेको अर्थतन्त्र तुरुन्तै खुला हुने सम्भावना नै छ न त सूचीकृत कम्पनीले व्यापक नाफा गरेका छन् र सोच्नै नसकिने प्रतिफल बाँड्ने योजनामै छन् ।

तर, नेप्से परिसूचकले भने २५०० अंक पार गरिसकेको छ ।

जानकारहरु सेयर बजार निरन्तर बढिरहनुले लगानीकर्तामा अर्थन्त्रको अवयबप्रति विश्वास बढेको संकेत गर्ने बताउँछन् । उनीहरुको नजर र वास्तविकता निकै फरक छ ।

सेयर बजार उचाइतर्फ लम्किँदै गर्दा लगानीकर्ताहरु ग्रोथको सम्भावना र भविष्य उज्ज्वल देख्छन् । यसको सीधा अर्थ हुन्छ, डिमान्ड बढेको छ, कम्पनीको प्रोफिटाविलिटी राम्रो छ र लगानीको वातावरण बनेको छ ।

सेयर बजारले आर्थिक वृद्धि वा अर्थतन्त्र विस्तार सुरुवात गर्दैन, साथ मात्र दिन्छ । सिद्धान्ततः सेयर बजार बढ्न थालेर आर्थिक गतिविधि विस्तार हुन्छ भन्नु गलत हो । किनकी सेयर बजारले विस्तार हुँदै गरेको अर्थतन्त्रमात्र संकेत गर्दछ ।

यसो भन्नुको अर्थ हो, सेयर बजार बढ्न थालेर आर्थिक वृद्धि हुँदैन । आर्थिक वृद्धि हुन थालेपछि मात्र सेयर बजार बढ्छ । र यस्तो बढाइ दीगो हुन्छ ।

यस मानेमा सेयर बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ ।

पछिल्ला वर्षमा देशको सेयर बजार दुई कारणले घटबढ हुने गरेको छ । पहिलो कारण हो, मौद्रिक नीति र दोस्रो कारण हो, अर्थमन्त्री ।

अर्थमन्त्री कुन दलको र कस्तो नीतिको पक्षधरभन्दा पनि को व्यक्ति नियुक्त हुन्छ भन्ने नजरले हेरिन्छ ।

पहिला पहिला कांग्रेस नेता डा. रामशरण महत अर्थमन्त्री बन्दा बढ्ने सेयर बजार पछिल्लो समय एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बनेपछि बढ्ने गरेको छ।

अचम्म त के छ भने उदारीकरणको वकालत गर्ने नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महत अर्थमन्त्री बन्दा पनि सेयर बजार खुसी भएन । प्रकाशशरण नेपालमा आर्थिक उदारीकरणको सुरुवात गर्ने उनै डा. रामशरणका भाइ हुन् ।

कांग्रेसमात्र सरकारमा हुँदा खुसी नभएको सेयर बजार समाजवादको पक्षधर एमाले सरकारमा आएपछि खुसी भयो । एमाले सत्तारुढ बन्दाखेरी सेयर बजार त्यति खुसी थिएन जति खुसी पौडेल अर्थमन्त्री बन्दाखेरी भयो ।

विष्णु पौडेल अर्थशास्त्री होइनन् । एक शालीन व्यक्तित्व भएका मध्यमार्गी नेता हुन् । कसैप्रति कटु बचन नबोल्ने पौडेललाई नेपालको सेयर बजारले निकै रुचाएको छ ।

अरु नीतिगत रुपमा हर्दा एमाले कांग्रेसभन्दा धेरै फरक पनि छैन । एउटै भिन्नता के छ भने कांग्रेस पुँजीवादलाई प्रश्रय दिन चाहन्छ, एमाले समाजवादको पक्षधर दावी गर्छ । एमाले कांग्रेसभन्दा केही बढी ‘र्‍याडिकल’ राजनीतिक दल हो ।

कांग्रेस खुला बजारलाई मलजल गर्ने र खुला बजार अर्थतन्त्रलाई समर्थन गर्छ । सेयर बजारका लगानीकर्ताहरु कांग्रेससँग खुसी हुनु सिद्धान्ततः मेल खान्छ पनि ।

ठूला राजनीतिक दल मिल्दाखेरी लगानीकर्तामा आशा बढेको कुरा सत्य पनि हो । किनकी पुँजी बजारमा लागेका ९० प्रतिशत लगानीकर्ता यी दुईमध्ये एक राजनीतिक दलमा वैचारिक आस्था राख्छन् भन्दा फरक पर्दैन ।

अर्कातर्फ नेपालको सेयर बजार अर्थतन्त्रको ऐना हो त ? भन्ने जानकारका लागि निकै सजिलो प्रश्न हो । वित्तीय क्षेत्रका कम्पनीको बाहुल्यता रहेको सेयर बजारले अर्थतन्त्रको मुहार देखाउन सक्दैन । जलविद्युत, उत्पादनमुलक, पर्यटनलगायत वास्तविक क्षेत्रका केही कम्पनीका सेयर दोस्रो बजारमा कारोबार हुने गरेको भएपनि बजार पुँजीकरणमा यी कम्पनीको हिस्सा उल्लेखनीय नभएका कारण नेपालको पुँजी बजारलाई अर्थतन्त्रको ऐना जानकारहरु मान्दैनन् ।

कोही पनि पुँजी बजारको गति रोकियोस् भन्ने चाहँदैन

हालसम्म उल्लेख गरेको परिदृष्य र श्यामप्रसादको आत्मरति बीच कुनै फरक छैन ।

जसरी मिहिनेत र खेती मलजल तथा गोडमेल नगरी ३ मुरी धान उब्जनी गर्दा श्याप्रसादले फुईं लगाए, उसैगरी कुनैबेला ३२०० अंकसम्म पुगेको सेयर बजार २५०० अंक पुग्दै गर्दा पनि फुईं लगाइएको छ । यसबीचमा एउटा कुरा अकाट्य छ, त्यो हो पुँजी बजार सुधार्न मलजल-गोडमेल गरिएको छैन भन्ने ।

बिनाप्रयास तथा आधार नै सेयर बजार बढेको देख्दा र यो सुधारप्रति सबैले जस लिएको सुन्दा यस्तो लाग्छ, यो गति रोकियोस् भन्ने कोही चाहँदैन ।

सेयर बजार एउटा बिन्दुसम्म पुगोस् भन्ने हालको परिस्थितिमा जोकोही पनि चाहन्छन् । प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकर, व्यवसायी र सर्वसाधारण सबैलाई पुँजी बजार परिसूचक नेप्से बढेर फाइदै छ ।

पुँजी बजारको परिसूचक बढेर आर्थिक वृद्धिमा टेवा नपुग्ने भए पनि अर्थतन्त्र चलायमान बनाउन, आर्थिक गतिविधि सल्बलाउन मद्दत पुगिरहेको चेत वौद्धिक वर्गमा छ ।

प्रधानमन्त्री र सत्तारुढ दलका नेता सेयर बजार बढ्नुलाई आफ्नो कार्यसम्पादनमा ‘अब्बल’ दर्ज गर्ने उपकरण मानिरहेका छन् । उनीहरु वृद्धिको जस लिन तम्तयार छन् ।

अर्थमन्त्री सेयर बजारको ‘गुडलक’ को रुपमा आफू स्थापित हुन सघाउ कडीको रुपमा लिइरहेका छन् ।

गभर्नर आर्थिक सुस्तता निम्त्याएको दोष पखाल्न सेयर बजारको वृद्धिको सहयोग लिइरहेका छन् । यो मौका गुमाउन उनी तयार छैनन् । प्रधानमन्त्रीको आत्मरति पनि नेप्से वृद्धिमा रहेकाले उनलाई रिझ्याउने कार्यमा सानो चुक गर्ने मुडमा गर्भनर छैनन् । किनभने कार्यकालको सुरुवातमा जस्तै अन्तिममा पनि सरकारसँग गभर्नर अधिकारीको ‘ट्युनिङ’ मिलेको छ ।

बैंकहरुको आफ्नै स्वार्थ छ । सेयर बजार बढे बेचेर आफ्नो ऋणी बाहिरिन्छन् र आफूसँग लिएको कर्जा तिर्छन् भन्ने अपेक्षामा धेरै बैंकरहरु भित्रभित्रै बजार बढाउन सक्रिय रहेको पाइन्छ ।

सेयर बजारका कारोबारीहरु लामो समय कमाउन नपाएको झोंकमा छन् । नेप्सेसँगै विभिन्न कम्पनीको सेयर मूल्य बढ्नु उनीहरुका लागि कमाउने उपयुक्त अवसर हो ।

अर्थमन्त्रालयका अधिकारीहरु रोजगारी सिर्जना गर्ने नीति ल्याउन भन्दा पनि सेयर बढे कारोबारसँगै राजस्व पनि वृद्धि हुन्छ, सेयरबाट पैसा कमाएकाले घरजग्गा किन्छन् र अर्थतन्त्र थप चलायमान हुन्छ भन्नेमा ढुक्क भएर बसेका छन् ।

पुँजी बजार बढ्दा लगानीको अवसर खोजिरहेको अर्काथरी सर्वसाधारण पनि मख्ख छन् । सेयर बढेर अर्काले कमाएको देखेर बजारमा हाम्फाल्नेको संख्या पनि ह्वात्तै बढेको छ ।

त्यसैमा अडेको छ मौद्रिक नीति
विगतमा देखाएको चरित्रअनुसार बजार आर्थिक गतिविधि विस्तार भएपछि मात्र सेयर बजारले बढेको थियो । कोरोना महामारीले थङथिलो बनाएको अर्थतन्त्रमा लगानीको अवसर खोजी हुँदै गर्दा बजार बढेको थियो । र चलायमान हुन थालेको अर्थतन्त्रलाई सघाउ पुर्‍याएको थियो ।

मार्केटमा पछिल्लो बुल कर्जाको ब्याजदर घटेपछि, उत्पादनको कार्यमा लगानी बढेपछि, सवसाधारणले बढीभन्दा बढी खपत गर्न थालेपछि, घरजग्गा कारोबार बढेपछि आएको थियो । यसपाली कर्जाको ब्याजदर घटेको त छ तर अरु गतिविधि बढेको छैन ।

र, नेपालसहित विश्व इतिहासका कुनै पनि घटनाक्रम सेयर बजारले आर्थिक वृद्धिलाई इनिसियट (सुरुवात) गरेको छैन ।

२०८१ साउनको पहिलो साता नेप्से परिसूचक बढेर २५०० अंक पार गर्दा पनि अर्थ मन्त्रीमा विष्णु पौडेलको इन्ट्रीबाहेक कुनै पनि आधारले यो बिन्दु पार गर्नमा समर्थन गर्दैनन् । जानकारले सरकारको नीति अर्थतन्त्रको सुस्तता तोड्न सामर्थ्य नभएको तर्क गरिरहँदा यतिखेर सेयर बजार बढ्नुको तात्विक कारण भेट्न सकिएको छैन ।

विगतमा ३२०० अंकसम्म पुगेको नेप्से परिसूचक अहिले २६०० अंकसम्म पुग्नुलाई पनि ठूलो उपलब्धि मानिएको छ । सेयर बजारबारे जान्ने अधिकांशले यसपल्टको अधिकतम बिन्दु २६/२७०० नै रहेको बताएका छन् । यो भन्दा बढीलाई बजार र अर्थतन्त्रले थेग्न नसक्ने उनीहरुको तर्क छ ।

बजार बढ्न थालेपछि नयाँ लगानीकर्ता आउन थालेकाले बेचेर निस्किनेहरुको जमात निकै धेरै छ । २४०० अंक नाघेपछि केही ठूला लगानीकर्ता बेचेर ढुक्कसँग परिस्थिति नियाली रहेका पनि छन् ।

सेयर बजार परिसूचक २५०० अंक पारे गरेपछि पनि दैनिक १२-१५ अर्ब रुपैयाँको कारोबार भइरहनुले बजारबाट बाहिरिनेको संख्या अहिले पनि रहेको संकेत गर्दछ । यसर्थ बजारको चरित्र र अर्थतन्त्रको स्थितिले नयाँ लगानीकर्ता प्रवेश गर्नु नहुने बताउँछ। यदी कोही प्रवेश गरेको छ भने यो नै बाहिरिनु विकल्प रहेको जानकारहरुको तर्क छ ।

अर्थमन्त्रीमा पौडेलको इन्ट्रीसँगै बहुअपेक्षित मौद्रिक नीतिले नै अहिलेको बजारसँग सम्बन्ध राखेको छ । गत शुक्रबार नै ल्याउन लागेको मौद्रिक नीतिले कर्जा उपलब्धताका प्रावधान खुकुलो बनाउने अपेक्षा छ ।

कर्जा सजिलो बनाए अर्थतन्त्र विस्तारमा पनि सघाउ पुग्ने निष्कर्षमा राष्ट्र बैंक छ । राष्ट्र बैंककै अधिकांश अधिकारीहरु खुकुलो गर्नुपर्ने र गभर्नर महाप्रसाद अधिकारी यसअघि लागेका दाग मेटाउने पक्षमा छन् ।

बजारमा खेल्नेहरुका लागि अहिलेको धमिलो पानी मौद्रिक नीति हो । अहिले बेचेर बाहिरिएकाहरु बजार घटोस् भन्ने चाहन्छन् । मौद्रिक नीति पनि अपेक्षा गरेअनुसार हदैसम्म लचिलो नहुने अवस्थाबारे जानकार रहेका खेलाडीहरु तत्कालमा मौद्रिक नीतिलाई नै कारण बनाएर बजार बढाउने दाउमा छन्।

यिनै मानसिकताका आधारमा मौद्रिक नीति आएपछि सेयर बजार घट्छ भन्नेमा प्रधानमन्त्रीदेखि शक्तिमा रहेकाहरुले बुझिसकेका छन् । मौद्रिक नीति आउन ढिलाइ गरिनुमा यो पनि एक कारण हुनसक्ने जानकारहरुको बुझाइ छ।

यी तर्कलाई साथ दिने घटनाक्रम प्रधानमन्त्रीको कार्यालयबाट ‘एकपल्ट हेर्छु’ भनेर मौद्रिक नीति रोक्नु, अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ भन्नु र सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मौद्रिक नीति नै अर्थतन्त्रमा सहजता सिर्जना गर्ने आधार बनाउने तय भएको दाबी गर्नु आदि हुन् ।

अहिले सबै पक्ष मौद्रिक नीतिबारे अधिक अपेक्षा राख्ने वातावरण तय गरिरहेका छन् । जसको अर्थ हो, मौद्रिक नीति अपेक्षाअनुसार अर्थतन्त्र ध्वस्त बनाउने गरी नआउने भएकाले सोहीमा टेकेर बजार घटाउने गेम खेल्न सुरु हुने पक्का छ ।

किनभने, आर्थिक क्रियाकलाप, रोजगारी र व्यक्तिको आम्दानी बढाउने काम सरकारले बजेट अर्थात वित्त नीतिले गरेको छैन । जबसम्म कुनै अर्थमन्त्रीले देशको अर्थतन्त्र चलायमान बनाउने बजेट ल्याउँदैनन् तबसम्म उसको नाममा सेयर बजार बढ्छ भने त्यो सीमित व्यक्तिले गरेको चलखेल मात्रै हो ।

र, अहिले बजार बुल भयो भन्दै हौसिएर सेयर किन्ने लगानीकर्ता केहि समय रोएर बस्नुपर्ने दिन आउने निश्चित छ ।


रोविन पौडेल