बिपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली प्रयोग बिहिन



सिन्धुली । पूर्वी तराईलाई संघीय राजधानी काठमाडौसँग जोड्ने छोटो दूरीको विपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्ड नौ वर्षदेखि प्रयोग विहिन बनेको छ ।

उक्त प्रणाली सञ्चालनका लागि अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । सूचना डिस्प्ले गर्ने बोर्ड घाँस उम्रिएर छोपिएको छ । सडक सूचना प्रणालीमा सूचना उपलब्ध नहुँदा नागरिकले सास्ती व्यहोर्न बाध्य भएका छन् ।

वर्षातका कारण पटक पटक विपी राजगर्माको विभिन्न खण्ड अवरोध हुने गरेको छ । राजमार्ग छेउछाउ सञ्चालन गरिएका अबैद्य क्रसर, खानी र ग्रामिण सडकको लेदो बगाउँदा विपी राजमार्गमा ५० भन्दा धेरै स्थानमा अवरुद्ध हुँदै आएको छ । उक्त सूचना समयमा नपाउँदा यात्रुहरु बीच सडकमा घन्टौ अलपत्र पर्ने गरेका छन् भने केहि सवारी साधन पुरिएका पनि छन् ।

यस प्रणाली अन्तर्गत पाँचवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ ले निरन्तर रूपमा बर्षातको मापन गरेर सडक विभाग स्थित डाटा सेन्टरमा सूचना पठाउँछ । सो प्रणाली अन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरू जिपिआरएस मोडेममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डहरूमा नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो ।

चौबिसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति ९सोलार० मार्फत विद्युत् आपूर्ति हुने व्यवस्था समेत मिलाइएको थियो । काठमाडौँ थापाथलीस्थित उप–आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा समेत रहने व्यवस्था आयोजनाले गरेको थियो ।

राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेल लगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको सडक आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिए।

राजमार्ग प्रवेशस्थल धुलिखेल स्थित बोर्डमा समेत मौसम अनुसारको सूचना अद्यावधिक गर्न नसकेको प्रमुख दासले बताए ।

‘इआइएस मर्मत र सञ्चालन निकै चुनौतीपूर्ण छ, जनशक्ति र आवश्यक बजेट नहुँदा सञ्चालन गर्न सकिएको छैन,’ दासले भने,’२०८१ साउन देखि यसको जिम्मेवारी र दायित्व पनि सरेको छ । कसले हेर्ने भन्ने अझै टुंगो लागिसकेको छैन । सडक खण्डमा सूचना दिन विभागसँग जनशक्ति नै छैन ।’

इआइएस व्यवस्थित गरिएको सात वर्षपछि सञ्चालनमा चासो राखेको विभागले राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई अझै पनि निरन्तरता दिन नसकेको हो । धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनु’, ‘ट्राफिक नियमको पालना गरौं’ जस्ता सामान्य सूचनाहरु एक वर्ष देखि डिस्प्ले गरिएको थियो ।

उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले जाइका एक्सपोट्र्स टिमलाई अध्ययन स्वीकृत दिएको थियो । अध्ययनपछिको प्रतिवेदनले प्रणालीलाई निरन्तरता दिने योजना बनाएपनि बजेट र जनशक्ति नहुँदा मर्मत गरी सञ्चालन गर्न नसकिएको कर्मचारीहरुले बताएका छन् ।

विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समय पश्चात् उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ । राजमार्गमा वर्षा, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो ।

यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहेको डिजिटल सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।

एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेसनसहित वेबसाइट र इआइएसलाई इन्जिनियररिङ सफ्टवेयर कम्पनीले ‘प्रणाली’ समेत तयार पारिसकेको थियो । धुलिखेलबाट २०५४ देखि बनेपा–सिन्धुली बर्दिबास निर्माण शुरु गरिएको थियो । उक्त सडकको लम्बाई १ सय ६० किलोमिटर छ ।


क्लिकमान्डु