प्राकृतिक स्रोतको अधिकतम प्रयोगमा पूर्वाधार र जनशक्तिको भूमिका
प्राकृतिक स्रोत भन्नाले प्रकृतिबाट हामीले सित्तैमा प्राप्त गरेका स्रोतसाधन हुन् । जसको निर्माणमा मानवको कुनै लगानी छैन । ती प्राकृतिक स्रोत उपभोग गर्न सके मानवजातीका लागि अति लाभदायी छन् ।
यदाकदा कोसिस गरे पनि प्राकृतिक स्रोतको निर्माण गर्न आधुनिक विज्ञान प्रविधि पनि सफल भएको छैन । विज्ञान प्रविधिले केवल ती स्रोतसाधनको उपयोग प्रभावकारी रुपमा कसरी बढीभन्दा बढी मानव हितमा उपयोग गर्न सकिन्छ भन्ने कुराको मात्र विकास गरेको छ ।
हाल नेपालमा उपलब्ध प्रकृतिक स्रोत साधनहरु मध्ये जलस्रोत, वन, हिमाललगायत बिभिन्न उचाइमा रहेका खेतीयोग्य जमिन, जडिबुटी आदि हुन् ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि ठाउँको प्रकृतिक स्रोतसाधनमा त्यस ठाँउका स्थानीयको पहिलो अधिकार कायम रहन्छ । यसैअनुसार प्राकृतिक स्रोतसाधन नजिक रहेका गाँउ बस्ती र स्थानीयले दीर्घकालीनरुपमा त्यस प्रकृतिक स्रोतसाधनको प्रयोग गर्न पाउनु पर्छ ।
प्राकृतिक स्रोतको सहज उपयोगको लगि पूर्वाधारको विकास निर्माण अनिवार्य हुन्छ । ती पूर्वाधार सरलदेखि जटिलसम्म हुने गर्दछन् । जस्तै, बाह्रैमहिना बग्ने खोलाबाट सिंचाइको लागि कुलो बनाउँदा सामान्य किसिमको पूर्वाधार भए पुग्छ भने नदीलाई सिंचाइको लागि प्रयोग गर्दा निर्माण गर्ने पूर्वाधार अलि जटिल किसिमको हुन्छ ।
नेपाल जस्तो अल्पविकसित देशले कम लगानीमा धैरैभन्दा धैरे प्राकृतिक स्रोतको उपयोग गरी छिटोभन्दा छिटो लाभ लिने गरी लगानी गर्नुपर्छ । हामीले परम्परागत रुपमा प्रकृतिक स्रोतको उपयोग गर्न निर्माण गरिएका संरचनाको अध्ययन गर्नुपर्दछ । हो, हामीसँग जलविद्युत निर्माण आयोजनाको परम्परागत संरचना थिएन तर सिंचाई र खानेपानीका लागि निर्माण भएका परम्परागत संरचना कुलो बाँध र पोखरी जस्ता संरचना थिए । त्यसैले ती परम्परागत संरचना र उपलब्ध स्रोतसाधन र तिनको प्रयोग गरिने स्थान आदिको विस्तृत अध्ययन गरिनुपर्दछ ।
नेपालमा भएका प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गर्न सकिएको छैन । यस तथ्यलाई हामी सबैले मनन् गर्नुपर्दछ । किनकि हामीले हाम्रा प्राकृतिक स्रोतसाधनको उपयोग नीति बनाउन धोरै ढिला भइसकेको छ ।
नेपालमा भएको जलस्रोतको विकास कसरी गर्न सकिन्छ ? र नेपालको समृद्धिको आधार के हो ? भन्ने प्रश्न विसं २०५८ सालतिर बीबीसी नेपाली सेवामा कार्यक्रम प्रस्तोताले सोधेको प्रश्नमा तत्कालीन प्रधालमन्त्री शेरबहादुर देउवाले नेपालको समृद्धिको आधार भनेको जलस्रोतलगायतका प्रकृतिक स्रोतसाधनको समुचित प्रयोग नै हो भन्ने जवाफ दिनुभएको थियो ।
यसको अर्थ राजनीतिक नेतृत्व पनि देश विकासको आधार प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग नै हो भन्नेमा त्यतिबेलै देखि विश्वस्त देखिन्थ्यो ।
यसै कुरा पुनर्पुष्टी विस २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धिको आधार भनेको जलस्रोतलगायतका प्रकृतिक स्रोतसाधनको समुचित प्रयोग नै होभन्दै दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेका थिए । हालसम्म पनि दश हजार मेगावाट विद्युत उत्पादन भइ नसकेको भए पनि जलस्रोतको विकास एउटा राष्ट्रिय नीति कै रुपमा अघि बढेको छ ।
प्राकृतिक स्रोतसाधनबाट आम्दानी गर्नको लागि सर्वप्रथमत पूर्वाधारको विकास हुनुपर्दछ । पूर्वाधारको विकास गर्न दक्ष जनशक्तिको उत्पादन गर्नु पर्दछ । नेपालको भूगोलमा स्तरीय पूर्वाधार निर्माण गर्ने नेपाली जनशक्ति उत्पादन हुनुपर्दछ ।
त्यसका लागि नेपालको प्राकृतिक स्रोतसाधन उपयोग गर्न चाहिने पूर्वाधारको विकास गर्न सक्षम बनाउन नेपाली जनशक्तिलाई नेपालका विश्वविद्यालयहरुले ध्यान दिनु पर्दछ । विदेशको कुनै विश्वविद्यालयमा प्राकृतिक स्रोत ब्यवस्थापनमा विज्ञता हासिल गरेको जनशक्तिले नेपालको भौगोलिक अवस्थाको बारेमा यथार्थ धरातलीय ज्ञान नपाउन सक्छ ।
त्यसैले हाम्रा विश्वविद्यालयले स्थानीय र परम्परागत ज्ञान तथा सीपहरुमा अध्ययन अनुसन्धान गरी ती ज्ञान तथा सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्दछ । यसरी विकास गरिएको ज्ञान र सीपले हाम्रा पूर्वाधार विकासमा दिगोपना ल्याउँछ ।
यसकासाथै, हामीले हाम्रो आम्दानीको स्रोत व्यवस्थापन गर्न पूर्णरुपमा सक्षम हुनु पर्दछ । हाम्रो आम्दानीको स्रोत भनेको प्राकृतिक स्रोतसाधन नै हुन् । त्यसैले नेपालका विश्वविद्यालयमा विदेशी पाठ्यक्रम पढाएर विदेशका निम्ती जनशक्ति उत्पादन गरिदिनुभन्दा नेपालकै प्राकृतिक स्रोतसाधनको विकासमा योगदान दिनसक्ने जनशक्ति उत्पादन गर्नु पर्दछ ।
यसले गर्दा नेपालको परम्परागत ज्ञान तथा सीपको विकास र विस्तारमा सहयोग पनि पुग्दछ । यसका साथै, हाल प्रत्येक प्रदेशहरुले आ–आफ्ना प्रदेशमा विश्वविद्यालय खोल्ने क्रम सुरु भएको छ । अब ती विश्वविद्यालयले आफ्ना प्रदेशमा भएका प्राकृतिक स्रोतसाधनको अधिकतम उपभोग गर्न, विकासका पूर्वाधार निर्माण गर्न सक्षम जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम विकास गर्नु पर्दछ । अन्यथा ती विश्वविद्यालयको सान्दर्भिकता हुँदैन ।
हरेक प्रदेशका विश्वविद्यालयले एउटा विशेष पाठ्यक्रम विकास गर्नु पर्दछ । जस्तै गण्डकी प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयले जलविद्युतको पूर्वाधार र वितरण प्रणालीको पाठ्यक्रम विकास गरि पठाउन सक्छ भने अन्य प्रदेशका विश्वविद्यालयले मध्यपहाडी र हिमाली क्षेत्रको कृषि प्रणालीलाई आधुनिकिकरण गर्नसक्ने जनशक्ती उत्पादन गर्नसक्दछ ।
वैदेशिक लगानी आकर्षित गर्न पनि दक्ष जनशक्तिको उपलब्धता र आवश्यकता भएका कारण यसरी विशिष्टीकृत विश्वविद्यालयले नेपालका रैथाने विकास प्रबिधि तथा परम्परगत ज्ञान र सीप तथा आधुनिक ज्ञान तथा सीप सिकाउन सक्दछ । उदाहरणका लागि भारतमा रहेको आईआईटी र जेएनयु जस्ता दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाका कारण भारतका जनशक्ति विश्वविख्यात संस्थाको नेतृत्वमा पुगेका छन् । यसबाट भारतमा वैदेशिक लगानी आकर्षण गर्न पनि सहज भएको छ ।
विविध कारणले नेपाल विकासमा पछि परेको भएपनि नेपाल सधै यथास्थितीमा रहन सक्दैन । भविष्यमा विकासको एउटा उच्चतम अवस्थामा पुग्नका लागि नेपाललाई दक्ष जनशक्ति चाहिन्छ । त्यसैले नेपालमा पनि भारतको आईआईटी जस्ता विशिष्टीकृत अध्ययन संस्थान चाहिन्छ । तर नेपालमा त्रिचन्द्र कलेज स्थापना भएको एक शतब्दी पुग्न लाग्दा समेत विश्वमा पहिचान दिनसक्ने विशिष्टीकृत अध्ययन संस्था नहुनु दुखद हो ।
हामीले अहिले गरेको जलविद्युत क्षेत्रको विकासको उपलब्धीलाई अनुभवको रुपमा लिएर आधुनिक कृषिको लागि चाहिने पूर्वाधारको दीगो विकास गरि कृषिमा आधारित उद्योगलाई प्राथमिकतामा राख्न आवश्यक छ । जसका कारण उच्च गुणस्तरका खाद्यान्न उत्पादन गरि निर्यात गर्न सके बिश्व सामु नेपाललाई नयाँ चिनारी मिल्नेछ ।
हाल युरोपमा छाएको अशान्ति र खाद्यान्न आपुर्ति श्रृखंलामा भएको अवरोधलाई अवसरको रुपमा प्रयोग गरि कृषि पूर्वाधारको विकास गर्दा कृषिमा रोजगारी पनि सिर्जना हुन्छ । हालको खाद्यान्न आपुर्ति श्रृखंलामा भएका विश्वब्यापी अवरोध अबका केही बर्षसम्म कायम रहने भएका कारण पनि नेपालको लागि यो एउटा मौका हो ।
त्यसैले यस्तो अवसरलाई प्रयोग गर्न हामीले तत्कालै कृषि उत्पादनमा ध्यान दिनुपर्ने देखिन्छ । हाम्रो देशमा उपलब्ध जलस्रोेतका कारण सिँचाईको पूर्वाधार निर्माण गर्न ढिलो भैसकेको छ । बाँझो रहेका मध्यपहाड र उच्चपहाडका खेतीयोग्य जमिनलाई बाह्रै महिना सिँचाईको सुबिधा पुर्याउन सके खाद्यान्न उत्पादनमा नेपाल आत्मनिर्भर हुने थियो ।
यसका लागि कृषिको दीगो पूर्वाधार विकासमा ढिलाइ भइसकेको छ । जसका कारण हाम्रो अर्थतन्त्र आत्मनिर्भर हुने र स्वदेशमा नै रोजगारी सिर्जना हुँदा नेपाली युवाको पसिना नेपाल निर्माणमा नै उपयोग हुने अवसर बन्दछ ।
हाल स्वदेशमा सम्मानजनक रोजगारी सिर्जना नभएका कारण युवाको विदेश पलायनले तराई, मध्यपहाड र उच्चपहाडमा रहेका खेतियोग्य जमिन बाँझो रहेका छन् । हामीले औद्योगिक उत्पादनमा हाम्रा दुई बिशाल छिमेकीसँग प्रतिस्पर्धा गर्न सक्दैनौ तर कृषि उत्पादन र कृषिउपजको औद्योगिकिकरणले आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छौं ।
(प्रस्तुत लेख लेखकको निजी विचार हो । उनी सम्बद्ध संस्थासँग यसको कुनै संलग्नता छैन। )