समृद्ध नेपाल: चाँदीका घेराका सम्भावनाहरु
रोजगारको खोजीमा वर्षेनी लाखौं युवाहरु नेपालबाट पलायन भइरहेका छन् । देशमा असीमित सम्भावनाहरु हुँदाहुँदै पनि युवाहरुलाई सरकारले देशभित्रै केही गर्ने आत्मबल प्रदान गर्न सकिरहेको छैन ।
एक पुस्ता, दुई पुस्ता हुँदै तीन पुस्ताका युवाहरु देशबाट पलायन भइसकेको अवस्था छ । एक पुस्ता मात्रको युवा पलायनले ३० देखि ५० वर्षको मानव संशाधन क्षमता गुमाइरहेको छ । हालसम्म देशले १०० वर्षभन्दा धेरै अवधिको यो लाभांश गुमाइरहेको छ । रेमिटेन्स केही सकारात्मक पक्ष भए पनि थुप्रै नकारात्मक पक्षहरु पनि रहिआएको छ । यसो भनिरहँदा देशमा अपार सम्भावना रहेको छ, जसलाई प्रस्तुत लेखमा व्याख्या गर्ने प्रयास गरिएको छ ।
जलस्रोतको अधिकतम प्रयोग
थुप्रै वर्षको अन्धकारमय अवस्थाबाट पार गरेर देश अहिले भारतलाई करिब ८०० मेगावाट र बंगलादेशलाई ५० मेगावाट बिजुली आपूर्ति गर्ने अवस्थामा आइपुगेको छ । यसले नेपालालाई यस वर्षबाट खुद् आपूर्तिकर्ता बनाए पनि यो क्षेत्रमा धेरै काम गर्न भने बाँकी नै छ ।
स्वच्छ उर्जाको पहुँचबाट गुणस्तरीय जीवनयापन, औद्योगिक क्षमताको विस्तार,तथा जलवायु परिवर्तनको प्रभाव कम गर्न मद्दत मिल्नेछ । नेपालको जलविद्ययुतको अधिकतम उत्पादन गरी बजारीकरण गर्ने हो भने नेपाल, भारत, बंगलादेशमा समेत कार्बन उत्सर्जन गर्न कमि ल्याउनेछ र यस क्षेत्रका उत्पादन विश्वबजारमा स्वच्छ उर्जाबाट उत्पादित उत्पादनको दर्जापाइ उच्च मूल्य पाउनेछ ।
सोझै विद्युत आपूर्ति गर्नुभन्दा भारत र बंगलादेशमा रहेका उद्योगहरु नेपाल भित्रैको सीमाक्षेत्रमा उत्पादन गराउन सके औद्योगीकरणमा एक पाइला अगाडि बढ्ने छ ।
सामान्यतया उत्पादनको कच्चा पर्दार्थको अलावा उत्पादनको लागत, मजदुर खर्च लगायत बिजुली खर्चसमेत हो । करिब करिब सम्पूर्ण करमा छुट दिँदासमेत विद्युत आपूर्तिको राम्रो मूल्य, रोजगार ग्यारेन्टी, स्थानीय व्यापार व्यवसायको विस्तार, लगायत उत्पादन गर्दा लाग्ने केही स्थानीय अशंकोसमेत प्रयोग हुन सक्नेछ ।
एउटा उदाहरण प्रान उप्पादन गर्ने बंगलादेशी कम्पनीलाई नेपालमा उत्पादन गर्न प्रेरित गर्नेहो भने नेपालका आप, लिचि,स्याउ, एभोगाडो, किवि लगायत भाउ नपाएका उत्पादनहरुले अधिक भाउ र बजार पाउने छन् । यसको ज्वलन्त उदाहरण डावर नेपाल हो जसले नेपालमा उत्पादन भएको महलाई समेत प्रशोधन गरीरहेको छ ।
साथै भारत र बंगलादेशमा अधिक बिजुली प्रयोग गर्ने उत्पादन जस्तै स्टिल आलमुनियम र फलाम जन्य उत्पादन, सवारी साधन बनाउन प्रयोग हुने स्पेयर पार्टस लगायतका मोल्डिङ्ग गर्ने कम्पनीलाई नेपालमा उद्योग खोल्न प्रोत्साहन गरेमा बिजुली खपत देशभित्रै उल्लेख्य भई व्यापार व्यवसाय समेत बढ्ने छ ।
यसैगरी नेपालमा कम क्षमतामा चलिरहेका उद्योगको पहिचान गरी लगानी बोर्डबाटै प्रस्ताव आह्वान गरी विदेशी साझेदार कम्पनी पहिचान गर्न सहजीकरण र सम्झौता गर्न पहल गरिदिएको खण्डमा राम्रो स्तरको औद्योगिक विकासको सुरुवात हुने छ । अडानीको सिमेन्ट उद्योगेले नेपाली सिमेन्ट कम्पनीले नेपालमा उत्पादन गरिरहेको क्लिंकर प्रयोग गरी नेपाल सीमा क्षेत्र नजिकै ठूला ठूला क्षमताका सिमेन्ट उद्योगहरुमा लगानी गर्न सुरुवातनै गरीसकेको छ ।
पर्यटनको अपार सम्भावना
नेपालको एउटा अधिक सम्भावना रहेको क्षेत्र पर्यटन हो तर कमसल पूर्वाधार जस्तै कमसल सडक, असुरक्षित हवाई उडान लगायतका पूर्वाधारले गर्दा भारत लगायतका पर्यटक उचित सङ्ख्यामा नेपाल आउन सकिरहेका छैनन् ।
पूर्वाधार र पर्यटकहरुलाई गरिने व्यवहार सुधार्न सकेको खण्डका वर्षेनी ३०/४० लाख पर्यटक नेपालले सजिलै भित्र्याउन सक्छ
नेपाली जनताहरुले समेत पर्यटकहरुलाई अपमान र अमर्यादित हुने व्यवहारसमेत गरको अवस्थामा पनि आर्थिक वर्ष २०८०/८१ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएका छन् ।
माथि उल्लेखित पूर्वाधार र पर्यटकहरुलाई गरिने व्यवहार सुधार्न सकेको खण्डका वर्षेनी ३०/४० लाख पर्यटक नेपालले सजिलै भित्र्याउन सक्छ । नेपालमा रहेका पदमार्गहरु सुरक्षित रहेको ग्यारेन्टी मात्र दिलाउन सके नेपाल ट्रेकिङका लागि विश्वस्तरीय रुपमा अब्बल हुँदै जाने छ । लामो समय पर्यटकलाई १५ देखि ३० दिनसम्म नेपालमै खर्च गर्न प्रेरित गर्ने पर्यटकीय प्रडक्टनै ट्रेकिङ र हिमालको आरोहण हो ।
एक पटक एउटा ट्रेकिङ रुटमा लालयित भएका पर्यटक दोहोराएर अन्य रुटमा ट्रेकिङ गर्न आउन सक्ने सम्भावना अधिक रहेको हुन्छ । त्यसैले नेपाल पर्यटन बोर्डले नै विश्वबजारमा प्रचार गर्ने, नेपालका एजेन्सीलाई प्रचार प्रसार गर्न सहुलियत गर्ने र विदेशमा पर्यटन मेलामा अधिकभन्दा अधिक कम्पनी सामेल गर्ने गराउने गरेका गुणस्तरीय पर्यटक लाखौंको संख्यामा नेपाल भित्रने छन् ।
तरकारी तथा फलफूल
देशभित्र सानो साने टुक्रामा जग्गाहरुको खण्डीकरण भइसकेकोले एउटा वा केही किसानहरुवाट बजारीकरण गर्न योग्य परिणामको कृषि उत्पादन गर्न सहज छैन । तर एकैनासको फलफूल तथा तरकारी लगायतका उत्पादन गर्न प्रेरित गरेको खण्डमा बजारीकरण गर्न योग्य उत्पादन गर्न सकिन्छ । जस्तै मुस्ताङको स्याउ, आलु र ओखर, इलाम लगायत पूर्वी पहाडको चिया र अलैँची, जुम्लाको स्याउ र दाल,पूर्वी पहाडको किबी र एभोकाडो तथा पोखरा आसपासको टुसा जस्ता एकीकृत उत्पादनले राम्रो बजार पाइरहेको छ ।
यसको अलावा देशव्यापी रुपमा प्रत्येक घरधुरीलाई कम्तीमा एक/दुई उन्नत मौरी घार उपलब्ध गराइ अभियानको रुपमा मह उत्पादन गर्न प्रेरित गरेको खण्डमा थोरै लगानीबाट देश र जनताले ‘हिमालयन मह’को ब्राण्डबाट विश्वबजारको लाभ पाउने अवसर रहेको छ ।
मह उत्पादन नेपाली भूगोलका लागि पनि उपयुक्त कृषि कार्य हो र यो अभियान संघीय सरकारको पहलमा स्थानीय तहले नै चलाउन सक्ने छन् ।
आईटी र व्यापार प्रशोधन आउटसोर्सिङ
उचित हावा पानी, तथा स्थानीय वातावरणको हिसाबले नेपाल आईटी र व्यापार प्रशोधन आउटसोर्सिङको उत्कृष्ठ स्थल बन्न सक्छ । कुनै एक क्षेत्रभन्दा नेपालको पहाडी क्षेत्रलाई ब्रान्डिङ गरी काठमाडौं उपत्यका वरपरका क्षेत्र, नुवाकोट उपत्यका, आबुखैरनीदेखि पर्वत सम्मको क्षेत्रलाईनै ब्रान्डिङ गरी आईटी र व्यापार प्रशोधन आउटसोर्सिङ सिटी बनाइ निजी क्षेत्रको सहभागितामा उत्कृष्ठ कार्यक्षेत्र, होस्टेल, अर्पाटमेन्ट बनाइ केही स्थानमा रिकृएसन जोन, बैंकिङ जोन, सपिङ जोनहरु बनाउन केन्द्र सरकारले घोषणा गरी प्रदेश सरकारबाट पूर्वाधार निमार्ण गर्न सकेको खण्डमा विश्वका उत्कृष्ठ कम्पनीहरुको कार्यक्षेत्र, डेटा सेन्टर, इनोभेसन रिसर्च तथा क्रिएटिभ डिजाइन क्षेत्र बन्न सक्छ ।
जसको लागि उत्कृष्ठ नीति नियम र सदगजले काम गर्ने कर प्रशासन हुनु जरुरी छ । जलवायु परिवर्तनका कारण भारत, श्रीलंका, बगंलादेश लगायतका देशमा ४५ देखि ५० डिग्री सम्मको गर्मीले कार्य क्षमतामा ह्रास आइरहेको छ । यस्तो अवस्थामा नेपाल उत्कृष्ट कार्यालय सञ्चालन आईटी व्यापार प्रशोधन आउटसोर्सिङ हव बन्न सक्ने अवसर रही आएको छ ।
समग्रमा माथि उल्लेखित विषयहरु सहजै लागू गर्न सकिने र तुरुन्तै लागू गरी युवा पलायन रोक्न मद्दत गर्ने खालका छन् । राजनीतिक नेतृत्व तथा सरकारी कर्मचारी प्रशासनको सुजबुझपूर्ण निर्णय तथा पहलबाट देशले ठूलो लाभ लिन सक्नेछ ।
कमिसनको लोभमा डिजाइन भई समयमै नसकिने निजगढ विमानस्थल, रेल परियोजना भ्युटावर जस्ता महँगा परियोजनालाई केही समय थाँती राखेर सान छरिता कार्यहरुलाई अभियानको रुपमा सञ्चालन गर्न सके देशले काचुली फेर्न समय लाग्ने छैन । हामी देशमा बाँकी रहेका युवाहरुलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण गर्नेमा आशावादी हुनुको विकपल्प छैन ।
(लेखक मुकुन्द भुसाल केएफए हस्पिटालिटी प्रालिका महाप्रबन्धक हुन् ।)