वाणिज्य बैंकको बिजनेसमा आर्थिक सुस्तताको झल्को, ७ खर्बको निक्षेप बढ्दा अढाई खर्बको कर्जा



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुले गरेको बिजनेसले अर्थतन्त्रको सिथिलताको झल्को दिएको छ । बैंकहरुको निक्षेप र कर्जाको प्रवाहको स्थिति हिन्दी कहावत ‘आम्दानी अठनी, खर्च रुपैयाँ’ भन्दा पनि भयावह देखिएको हो ।

बैंकहरु पैसाका व्यवसाय गर्ने इजाजतप्राप्त संस्था हुन् । उनीहरुले सर्वसाधारणबाट निक्षेप संकलन गरी व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्छन् । निक्षेपमा तिरेको भन्दा केही बढी ब्याज कर्जा दिँदा लिन्छन् । निक्षेप र कर्जा प्रवाहबीचको ब्याजअन्तर उनीहरुको कमाइ हुन्छ ।

तर, गत आर्थिक वर्षमा बैंकहरुले संकलन गरेको निक्षेप र विस्तार गरेको कर्जाको स्थितिले उनीहरुमात्रै पुरै अर्थतन्त्रमा व्याप्त सिथिलताको संकेत दिन्छ । सर्वसाधारणले गर्न उपाभोगमा आएको कमीले बैंकबाट ऋण लिएर लगानी गरी व्यवसाय गर्ने क्रम ह्वात्तै घटेको छ । वाणिज्य बैंकबाट कर्जाको माग ठप्प भएको संकेत निक्षेप र कर्जा वृद्धिको अनुपातले दिन्छ ।

गत आवमा वाणिज्य बैंकहरुले विस्तार गरेको निक्षेपको एक तिहाइमात्र कर्जा प्रवाह भएको हो । १ वर्षमा बैंकहरुले करिब ७ खर्र्ब रुपैयाँको निक्षेप संकलन हुँदा मात्रै साढे २ खर्बको कर्जा प्रवाह भएको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ५० खर्ब ८५ अर्ब ९५ करोडबाट विस्तार भएर ५७ खर्ब ५४ अर्ब ७७ करोड पुगेको छ । निक्षेप ६ खर्ब ६९ अर्बले बढ्दा कर्जा भने ४३ खर्ब १७ अर्ब ९५ करोडबाट ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ ।

अर्थात् कर्जाको विस्तार ५.८६ प्रतिशतले तथा निक्षेपको वृद्धि १३.१५ प्रतिशतले भएको हो ।

सबैभन्दा बढी निक्षेप बढाउने बैंक राष्ट्रिय वाणिज्य
एक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब रुपैयाँ भन्दा बढीले निक्षेप विस्तार गरेको छ । निक्षेप विस्तार करिब १ तिहाइले बढाउने राष्ट्रिय वाणिज्य एक आवमा खर्ब रुपैयाँ बढीको निक्षेप वद्धि गर्ने एकमात्र बैंक हो ।

बैंकको कुल निक्षेप ३ खर्ब २३ अर्ब रुपैयाँबाट ४ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा नबिल बैंकले ६६ अर्ब रुपैयाँ बराबरको निक्षेप बढाउँदा ग्लोबल आईएमईले साढे ६५ अर्ब, एनआईसी एशियाले ४८ अर्ब, एनआईसी एशियाले ४६ अर्ब र कृषि विकासले निक्षेप ४४ अर्बले विस्तार गरेको छ ।

निक्षेप विस्तार दरका आधारमा राष्ट्रिय वाणिज्यपछि कृषि विकास र प्राइम कमर्सियल बैंक छन् । कृषि विकासको निक्षेप विस्तार दर २२.०९ प्रतिशत हुँदा प्राइमको २०.६८ प्रतिशत छ ।

१५ प्रतिशतभन्दा बढी निक्षेप बढाउने ६ बैंक
१ वर्षमा १५ प्रतिशतभन्दा बढीले निक्षेप विस्तार गर्ने बैंकहरु कृषि विकास, एभरेस्ट, नबिल, नेपाल, नेपाल एसबीआई, प्राइम र राष्ट्रिय वाणिज्य बैंक हुन् । राष्ट्रिय वाणिज्य बैंकले निक्षेप ३२.८७ प्रतिशतले बढाउँदा, एभरेस्टले १७.१५ प्रतिशत, नबिलले १६.४२ प्रतिशत, नेपालले १५.३५ प्रतिशत र नेपाल एनबीआई बैंकले निक्षेप १६.३९ प्रतिशतले विस्तार गरेको छ ।

निक्षेप घटाउने एकमात्र वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्ड
सबै वाणिज्य बैंकको निक्षेप संकलन बढिरहँदा विदेशी लगानी रहेको स्ट्यान्डर्ड चार्टड बैंकले भने गत आवको तुलनामा निक्षेप परिचालन घटाएको छ । बैंकको निक्षेप १ खर्ब २२ अर्ब ४९ करोडबाट घटेर १ खर्ब १४ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।

निक्षेप गिरावट ७ अर्ब ६६ करोड अर्थात् गिरावट दर ६.२५ प्रतिशत रहेको छ ।

५ खर्ब बढी निक्षेप हुने ग्लोबल एक्लो बैंक, ३ बैंकको ४ खर्ब बढी
असार मसान्तको तथ्यांकअनुसार ग्लोबल आईएमई ५ खर्बभन्दा निक्षेप रहेको एकमात्र बैंक हो । बैंकले आव २०७९/८० को अन्त्यसम्म ४ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेकामा १ वर्षमा १४.९२ प्रतिशतले बढाएर ५ खर्ब ४ अर्ब ८९ करोड कायम गरेको हो ।

२०८१ असार मसान्तसम्म ४ खर्बभन्दा बढी निक्षेप हुने अरु बैंकहरु नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य हुन् ।

कर्जातर्फ सबैभन्दा आक्रामक प्राइम, रकममा नबिल पहिलो
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी दरले कर्जा विस्तार गर्ने बैंक प्राइम कमर्सियल बैंक हो । प्राइमले एक वर्षमा १८.९ प्रतिशतले कर्जा बढाएको हो ।

बैंकले प्रवाह गरेको कर्जा १ खर्ब ६२ अर्बबाट ३१ अर्बले बढेर १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

एक वर्षमा सबैभन्दा बढी कर्जा दिने बैंक नबिल हो । नबिलले १ वर्षमा ४७ अर्ब रुपैयाँबराबरको निक्षेप थप गरेको छ ।

नबिलले प्रवाह गरेको कर्जा ३ खर्ब ४१ अर्ब रुपैयाँबाट ३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहका आधारमा नबिल दोस्रो स्थानमा छ ।

सबैभन्दा बढी कर्जा दिने बैंक ग्लोबल आईएमई, पुच्छरमा स्ट्यान्डर्ड चार्टर्ड
३ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेपसहित ग्लोबल आईएमइ सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक हो । ग्लोबलले १ वर्षमा कर्जा ३ खर्ब ७४ अर्बबाट १६ अर्बले बढाएको हो । बैंकको कर्जा विस्तारदर ४.३८ प्रतिशत छ जुन वाणिज्य बैंकको औसतभन्दा निकै कम हो ।

३ खर्बभन्दा बढी कर्जा दिने बैंकहरु ग्लोबल र नबिलसँगै नेपाल इन्भेटमेन्ट मेगा पनि हो । बैंकले १ वर्षमा कर्जा ३ खर्ब २१ अर्बबाट ८ अर्ब (२.५७ प्रतिशत)ले बढाएर ३ खर्ब २९ अर्ब पुर्‍याएको छ ।

सबैभन्दा कम कर्जा दिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक हो । बैंकले मात्रै ९० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आवको तुलनामा कर्जा प्रवाह ९५ अर्बबाट ५.६३ प्रतिशत (५ अर्ब) ले घटाएको हो ।

कर्जा घटाउने २ बैंक
गत आव दुईवटा बैंकले बिजनेस डाउनसाइज गरेका (घटाएका) छन् । प्रवाह गरेको कर्जा घटाउने बैंकको सूचीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग प्रभु बैंक पनि हो । स्ट्यान्डर्ड चार्टर्डले कर्जा ५.६३ प्रतिशतले घटाउँदा प्रभुले २.५६ प्रतिशतले कम गरेको छ ।

एक वर्षको अवधिमा प्रभुको कर्जाको आकार २ खर्ब ४२ अर्बबाट ६ अर्बले घटेर २ खर्ब ३६ अर्ब रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु