जिल्ला सहकारी संघको नाममा मानव तस्करी, ९ जना जापानबाटै फिर्ता, विमानस्थलबाट पक्राउ परे तामाङ



काठमाडौं । केही सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता नगर्दा सहकारी भन्नासाथ ‘ठग’को उपमा पाइरहेको समयमा जिल्ला सहकारी संघ काठमाडौंको लेटर हेड र छाप ‘मानव तस्करी’मा प्रयोग भएको पाइएको छ ।

जिल्ला संघ काठमाडौंको लेटर हेड र छाप किर्ते गरेर २१ जनाको तस्करी भएको पाइएको हो । सन् २०२४ जुलाई १३ मा जापानमा ‘नेपालको सहकारीको वर्तमान समस्याका बारेका छलफल र गैरआवासीय संघ जापानसँग नेपालमा लगानी गर्न कसरी सहयोग लिने?’ भन्ने कार्यक्रम आयोजना भएको थियो

उक्त कार्यक्रममा जानका लागि भन्दै विभिन्न २१ वटा सहकारीका व्यक्ति लगिएको छ । गैरआवासीय नेपाली संघ जापान र जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा गरिएको उक्त कार्यक्रमको नाममा मानव तस्करी भएको हो ।

कार्यक्रममा सहभागिताका लागि काठमाडौं जिल्ला सहकारी संघको लेटरहेड र छापको किर्ते गरी सन् २०२४ जुलाई ११ मा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र जापानको नारिता विमानस्थललाई २१ जनाको नामसहितको पत्र पठाएको थियो । स्पोन्सरसिपपत्र पनि जिल्ला सहकारी संघ काठमाडौंको पत्रमा रहेको छ ।

२१ जना जुलाई १२ मा जापान पुग्ने र जुलाई १८ मा नेपाल फर्कने यात्रा तालिका रहेको थियो ।

कार्यक्रममा सहभागी हुन गएका मध्ये ९ जनालाई जापानको नारिता विमास्थलबाट नेपाल फर्काइएको छ भने अन्य जापान प्रवेश गरेका छन् ।

‘जापान गएका मध्ये ९ जनालाई नारिताको विमानस्थलबाट नेपाल नै फिर्ता पठाइएको छ भने अरु जापान प्रवेश गरेका छन्’ स्रोतले भन्यो ।

सहकारीको कार्यक्रमका नाममा नेपालीलाई जापान लैजाने काममा मुख्य भूमिका समिर लामा तामाङको रहेको प्रहरीको भनाइ छ । उनी जापानको ओसाकामा बस्दै आएका थिए । मानव तस्करी प्रकरणमा लामालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सोमबार मध्याह्न ३ बजे नेपाल एयरलाइन्सको फ्लाइटमार्फत जापानबाट नेपाल आएका लामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गौतम मिश्रले तामाङलाई पक्राउ गरिएको क्लिकमान्डुसँग बताए ।

‘मानव बेचबिखनको आरोपमा जापानबाट काठमाडौं आउँदै गरेका समिर लामालाई ब्युरोले विमानस्थलबाट नियन्त्रणमा लिएको छ,’ प्रवक्ता मिश्रले भने, ‘उहाँमाथि लागेको आरोपमा थप अनुसन्धान भइरहेको छ।’

२१ जनाको नामको सूचीमा पहिलो नम्बरमा रहेका लामा इभेन्ट डाइरेक्टरको रुपमा रहेका थिए ।

जिल्ला सहकारी संघ काठमाडौंको पत्रमा प्रोग्राम डाइरेक्टर भनेर प्रेम कुमार आलेको हस्ताक्षर रहेको छ । उनी यूएम बचत तथा ऋण सहकारीका उपाध्यक्ष रहेको पत्रमा उल्लेख छ । आलेलाई पनि जापानबाट नेपाल डिपोट गरिएको स्रोतको भनाइ छ ।

जिल्ला सहकारी संघको लेटरहेड र छाप दुरुपयोग भएको भन्दै संघले आज तीन बजेका लागि सञ्चालकको बैठक बोलाएको अध्यक्ष सुमन केसीले क्लिकमान्डुलाई बताए ।

जापानको कार्यक्रममा जान भनेर कोही कसैलाई पनि संघले सिफारिस नगरेको उनको दाबी छ ।

‘यसमा हाम्रो लेटरहेड र छाप दुरुपयोग भएको छ’ उनले भने, ‘आज हाम्रो सञ्चालक समितिको बैठक बस्दै छ । हामी थप अनुसन्धान र कारबाहीका लागि प्रहरीमा जाँदै छौं ।’

‘मानव तस्करी’ मा जिल्ला सहकारी संघ काठमाडौंको कुनै पनि संलग्नता नरहेको र त्यहाँ उल्लेख भएका कसैलाई पनि आफूले नचिन्ने अध्यक्ष केसीले बताए ।

संघको लेटरहेडमा भएका सहकारी पनि अस्तित्वमा छन्/ छैनन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ । लेटरमा उल्लेख गरिएका कुनै पनि संस्था जिल्ला संघको सदस्य नरहेको केसीको भनाइ छ ।


क्लिकमान्डु