१०,८०० मेगावाटको कर्णाली चिसापानीको डिटेल डिजाइन हुँदै: बंगलादेश, रसिया, भारत लगानी गर्न इच्छुक



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०,८०० मेगावाटको कर्णाली चिसापानी बहुउदेश्यीय जलविद्युतको आयोजनाको विस्तृत डिजाइनको प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणले सार्वजनिक सूचनामार्फत आशयपत्र जारी गरेर विस्तृत डिजाइन र टेण्डर डकुमेन्ट तयार पर्न परामर्शदाता नियुक्त गर्न लागेको हो । यसअघि पनि कम्पनी परामर्शदाताका लागि सूचना निकालेको थियो । तर प्राविधिक कारण देखाउँदै प्राधिकरणले पुन:आशयपत्र  जारी गरेको हो । भदौ १२ गतेसम्म इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन् । 

परामर्शदाताका रुपमा ठेक्का पाउने कम्पनीले ४ वर्षमा विस्तृत अध्ययन , डिजाइन र टेण्डर डकुमेन्ट तयार पार्नुपर्नेछ ।  ४ वर्षमा अध्ययन सक्ने  र लगानी जुटाउने योजनामा प्राधिकरण छ ।

गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो जलविद्युत आयोजना अध्ययनको जिम्मा प्राधिकरणलाई दिने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो परियोजना प्राधिकरणलाइन दिन जोडबल गरेका थिए ।

यो आयोजनाको ६० वर्ष पहिले नै सम्भाव्यता अध्ययन भएको थियो । जडित क्षमताको हिसाबले अहिलेसम्मको ठूलो यो परियोजना चर्चामै सीमित छ । राजनीतिक नेतृत्वले सधैंभरी चर्चा  गरिरहने भएपनि ठोस काम अघि बढाउन सकिएको छैन ।सम्भाव्यता अध्ययन भएको ६० वर्षपछि प्राधिकरणलाई थप अध्ययनको जिम्मा दिइएको हो । प्राधिकरणले दातृ निकायको समेत सहयोग लिएर थप अध्ययन गर्न लागेको छ ।

२० खर्ब रुपैयाँ लाग्ने भनिएको यो परियोजना १२ खर्ब रुपैयाँमा बन्न सक्ने प्राधिकरणका अधिकारीहरुको अनुमान छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १२ खर्ब रुपैयाँमा परियोजना बनाउन सकिए सञ्चालनमा आएको ६ वर्षमा लगानी उठाउन सकिने दाबी गरेका छन् । यो परियोजनाले वार्षिक २० खर्ब युनिट उत्पादन गर्छ । प्रतिफलका हिसाबले यो उत्कृष्ट आयोजना हो ।

यो परियोजनामा  लगानीका लागि बंगलादेश, भारत, रसियालगायतका देशहरु इच्छुक छन् । फ्रान्सेली कम्पनीहरु समेत इच्छुक छन् ।

प्राधिकरणले यो परियोजनालाई सम्भव बनाउन आफैंले लगानी गर्न लागेको छ । ‘प्राधिकरणलाई ४/५ ‍अर्ब रुपैयाँ खर्च गर्नु ठूलो कुरा होइन । दातृ निकायसँग पनि छलफल गर्छौं, सहयोग लिन्छौं,’ घिसिङले भने, ‘प्राधिकरणले यो परियोजना अघिबढाउन कुनै कसर बाँकी राख्दैन ।’


क्लिकमान्डु