यात्री र सिप्रदीको सहकार्यमा दुईपाङ्ग्रे ईभी, ६ महिनाभित्र डिजाइन: ‘नेपालको सबै उकालो चढ्छ’



काठमाडौं । करिब एक साता पहिले यात्री र सिप्रदी ट्रेडिङबीच सहकार्य गर्ने सम्झौता भयो ।

नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल उत्पादन गरिरहेको यात्रीसँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ दुईपाङ्ग्रे सवारीसाधनको बजारमा प्रवेश गर्न लागेको हो ।  टाटाका सवारीसाधन आयात गरेर बिक्री गरिरहेको सिप्रदीले नेपालमै दुईपाङ्ग्रे इलेक्ट्रिक बाईक र स्कुटर उत्पादन गर्न लागेको हो । यो कम्पनी नेपालको अटोमोबाइल क्षेत्रमा चार दशकदेखि काम गरिरहेको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार ६ महिनामा डिजाइन तयार पार्ने गरी अहिले अध्ययनको काम सुरु भएको छ ।  ‘यात्रीसँग टेक्निकल एक्सपर्टिज छ । उनीहरुको इन्टेलीजेन्ट्स टिम छ । हामीले अहिले उनीहरुले गरेकोभन्दा फरक डिजाइन गर्न लागेका छौं,’ उनले भने, ‘कस्तो मोडलको दुईपाङ्ग्रे बनाउने भनेर ६ महिनामा डिजाइन तयार हुन्छ ।’

उनका अनुसार अहिले बजारमा पाइने दुईपाङ्ग्रे इलेक्ट्रिक मोटरसाईकल र स्कुटर ४ लाख रुपैयाँभन्दा कम मूल्यका नेपालको भूगोल अनुकुल छैनन् । त्यसभन्दा मुनिका कतिपय घरमा जाँदा धकेलेर लैजानुपर्ने खालको छ ।  

‘भारत र चीनमा बनेका दुईपाङ्ग्रे ९ डिग्री ग्रेडियन्टसम्म चढ्ने हुन्छन् । त्यहाँ पहाडहरु फोडेर सडक बनाइएको छ । त्यहाँ त्यत्तिको क्षमताको राम्रो मानिन्छ,’ उनले भने,’ नेपालमा १७/१८ डिग्री ग्रेडियन्ट छ । हामीले नेपाल सुहाउँदो बनाउन लागेका हौं।’

उनका अनुसार अब बन्ने बाइक नेपालीहरुले किन्न सक्ने किफायति मूल्यको हुनेछ । ८० देखि १०० किलोमिटर रेन्ज दिन सक्ने हुनेछ । ‘सिप्रदीले देशमा केहि गरौ भन्ने सोचमा काम गरिरहेका छौं । देशमै भएको जनशक्ति र प्रविधिबाट अफडोर्यवल प्राइसमा हामी दुई पाङग्रे ईभी तयार पार्छौं,’ उनले भने,’ टेक्नोलोजीवाइज राम्रो छ । उनीहरुको मास मार्केटमा फोकस प्रोडक्ट छैन् । हामीले मास मार्केटमा फोकस प्रोडक्ट ल्याउन लागेका हौं । स्क्राचदेखि नै टिम थपेर काम गरिरहेका छौं ।’

उनले ९७ प्रतिशत नेपाली र ३ प्रतिशत विदेशी समेत मिलेर यसमा काम गरिरहेको बताए । उनले नेपालमा नै त्यस्तो सक्षम जनशक्ति भएकोमा खुसी लागेको बताए ।

सस्तो मूल्यमा राम्रो उत्पादन गर्न सकिए बाहिर निर्यातको समेत सम्भावना रहेको बताए । ‘देशभित्र दुईपाङ्ग्रे साढे दुई लाख युनिटसम्म बिक्री भए हो । अहिले युवापुस्ता विदेश जाने बढेर केहि घटेको छ । १ लाख युनिट मात्रै पुग्ला जस्तो छ,’ उनले भने, ‘दिनभरि बाईक २० रुपैयाँ बिजुलीको मूल्यमा चढ्न पाए को नचढ्ला ?’ कार्यालय जान/आउनका लागि पेट्रोलको बाइक चढ्दा एक/डेढ सय रुपैयाँ खर्च हुने अवस्था छ रहेकोमा विद्युतीय सवारी भए त्यो बचत हुने उनी बताउँछन् ।

उनले कम्पनीले नैपालमै चार्जिङ प्रविधि र नेटवर्कमा समेत काम गर्न लागेको बताए । ‘हामी ब्याट्री स्वापिङ हेरिरहेका छैनौं । ब्याट्रीको इफिसियन्सी बढाउने हो,’ उनले भने, ‘चार्जिङ सिस्टम सबै हामीले यहि बनाउन खोजेको हो । चार्जिङ प्रविधिको तिव्र विकास भइरहेको छ ।  दुई वर्षमा मोटरसाइकल १५ मिनेट फूल चार्ज हुने प्रविधि आउन सक्छ ।’ उनले दुईपाङग्रे ईभी ‘मेड इन नेपाल’ हुने बताए ।

उनले नेपालीहरुको क्रय शक्ति कमजोर रहेका कारण सवारीसाधनको बजार समेत खुम्चिएको बताए । ‘ एउटा समान्य मान्छेको इच्छाएउटा घर, गाडी  होस् भन्ने हुन्छ । सरकारले हेर्नुपर्ने कुरा जनताको जीवनस्तर हो । जीवनस्तर माथि उठाउन काम गर्नुपर्छ,’ उनले भने,’सरकारले खाली राजस्व हेरेर हुदैन । १२ हजार गाडी अहिले बिक्री भइरहेको छ । २४ हजार बेच्ने वातावरण बनाएर आधा र राजस्व लिएर पनि बराबरी उठ्छ । उनले ३ करोड नागरिक भएको देशमा ४५/५० हजार वार्षिक गाडी बिक्री हुनुपर्ने बताए ।

कति लगानी गर्दैछ सिप्रदीले दुईपाङ्ग्रेमा ?

कम्पनीले अहिलेसम्म कति लगानी गर्दैछ भन्ने खुलाएको छैन । डिजाइन तयार भएपछि कति लगानी गर्न लागेको एकिन हुने छ।

‘मिलेर काम गर्ने भनेर सम्झौता भएको छ । फाइनान्सियल विषयहरु बाँकी छ,’ उनले भने,’ हामी यात्रीको नयाँ जेभी कम्पनी हुनेछ । उक्त कम्पनीले काम गर्छ । इनोभेसन उहाँहरुको, लगानी हाम्रो हुन्छ । अध्ययनमा नै ठूलो लगानी छ ।’ उनले बजारको माग अनुसार दुईपाङग्रे सवारीसाधन उत्पादन गर्दै जाने बताए ।


दिनेश खड्का