ऊर्जा संकट टार्न प्राधिकरणको सोलार प्राथमिकता: २ महिनामै २१८ मेगावाटका आयोजनाले मागे अनुमति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सम्भावित ऊर्जा संकटलाई टार्न ऊर्जा सम्मिश्रणमा फेरबदल गर्दै सोलारलाई प्राथमिकता दिन थालेपछि प्रवर्द्धकहरुले लगानी बढाउन थालेका छन् ।
पछिल्लो समय सोलारका आयोजनाका अनुमति लिनेहरु बढेका हुन् । विद्युत विकास विभागको तथ्यांक अनुसार बैशाखयता २१८ मेगावाटका ९ वटा सोलारका परियोजनाले सर्वेका लागि अनुमति माग गर्दै आवेदन दिएका छन् । जसमा १०० मेगावाटको एउटै परियोजना छ । जिटी इनर्जी प्रालिले १०० मेगावाटको नेपालगञ्ज सोलार पीभी आयोजना बनाउन लागेको हो । अहिलेसम्म कुल ३१६ मेगावाटका १० परियोजनाले निर्माणका लाइसेन्स माग गर्दै आवेदन दिएका छन् ।
यो अवधिमा ७.५०० मेगावाटको तुलसी सौर्य विद्युत आयोजना दाङले अनुमति पाएको छ । सर्वेका लागि अनुमति पाएको हो । विनायक सोलार प्रालिले दाङमा परियोजना अध्ययन गर्ने गरी अनुमति पाएको हो ।
अहिलेसम्म कुल ५१.७ मेगावाटका ७ आयोजनाले सर्वेका लागि अनुमति दिएका छन् ।
सर्वेका लागि आवेदन दिएका कम्पनीहरु
क्रस | आयोजना | क्षमता (मेगावाट) | प्रवर्द्धक कम्पनी | जिल्ला |
१ | खरबाङ सोलार पीभी आयोजना | १० | ऊर्जा केन्द्र नेपाल प्रालि | बाग्लुङ |
२ | नेपालगञ्ज सोलार पीभी आयोजना | १०० | जिटी इनर्जी प्रालि | |
३ | खारबाङ सोलार पीभी-२ आयोजना | १० | धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लार्यस प्रालि | बाग्लुङ |
४ | दुहबी सोलार फार्म प्रोजेक्ट | ८ | ग्लोबल इनर्जी एण्ड कन्स्ट्रक्सन प्रालि | मोरङ |
५ | खुङग्री सोलार पीभी आयोजना | ५० | दुगर पावर प्रालि | रोल्पा |
६ | फरहादवा सोलार पीभी आयोजना | १० | तराई भिलेज प्रालि | सर्लाही |
७ | बेलबारी अन ग्रीड सोलार आयोजना | १० | श्रीयान्सी ऊर्जा प्रालि | मोरङ |
८ | उदयपुर अन ग्रीड सोलार पीभी प्रालि | १० | सनलाइट इनर्जी प्रालि | उदयपुर |
९ | भेरी सोलार पावर प्लान्ट | १० | ग्यालेक्सी बिजनेस हाउस एण्ड कन्स्ट्रक्सन नेपालगञ्ज प्रालि |
निर्माण सुरु लाइसेन्स (अनुमतिपत्र) माग गर्दै चार वटा प्रवर्द्धकले आवेदन दिएका छन् । जसको कुल क्षमता ३१.२०० मेगावाट रहेको छ । निर्माण सुरु गर्ने कन्स्ट्रक्सन लाइसेन्स माग गर्दै आवेदन दिएको छ ।
निर्माणको लाइसेन्स माग गर्दै आवेदन दिएका प्रवर्द्धकहरु
क्रस | आयोजना | क्षमता (मेगावाट) | प्रवर्द्धक कम्पनी | जिल्ला |
१ | ग्रीड कनेक्टेड सोलार पीभी आयोजना | १.२०० | जिसी सोलार इनर्जी ग्रुप | सुर्खेत |
२ | ग्रीड कनेक्टेड सोलार पीभी आयोजना | १० | पायोनियर इनर्जी प्रालि | दाङ |
३ | ग्रीड कनेक्टेड सोलार इलेक्ट्रिसिटी प्रोजेक्ट पार्ट-२ | १० | पोजेटिभ इनर्जी प्रालि | कपिलवस्तु |
४ | ग्रीड कनेक्टेड सोलार पीभी प्रोजेक्ट, लमही १ | १० | प्रोगेसिभ इनर्जी प्रालि | दाङ |
गएको हिउँदमा भारतले सोलार आवरमा मात्रै बिजुली दिने निर्णय गर्यो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली आयात भएपछि उद्योगमा १२ घण्टासम्मको लोडसेडिङ भयो ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशभन्दा तल झर्छ । सोही कारण ३१४० मेगावाट जडित क्षमता पुगेपनि १७ मेगावाटको पीक डिमाण्ड पूरा गर्न हिउँदमा ६०० मेगावाटसम्म आयात गर्नुपर्छ । बर्खामा भने सरप्लस भएर खेर जाने अवस्था छ ।
नेपाल सुक्खायाम (हिउँद) मा बिजुली आत्मनिर्भर हुन अझै ५ वर्षभन्दा बढी समय लाग्छ । १००० मेगावाटभन्दा ठूलो परियोजना बनेपछि मात्रै आत्मनिर्भर हुन सक्छ । अहिले नै सुरु गर्ने हो भने जलाशययुक्त परियोना निर्माण गर्न ८/१० वर्ष लाग्ने अवस्था छ । सोही कारण प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एक/दुई वर्षमा प्रणालीमा आइसक्ने गरी १००० सोलारका परियोजनाको बिजुली किन्ने निर्णय गरेका हुन् । कम्तीमा दिउँसो लोडसेडिङ गर्न नपरोस भनेर अल्पकालका लागि यो निर्णय भएको हो । दिर्घकालमा जलाशययुक्त जलविद्युत् आयोजनाको विकल्प छैन् ।
उनका अनुसार जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नका लागि ७/८ वर्ष लाग्ने अवस्था छ । तर बिजुलीको माग अहिले नै पूरा गर्नुपर्ने अवस्था छ । सोलारका आयोजना निर्माण थाले १ देखि २ वर्षमा प्रणालीमा बिजुली आइपुग्छ । ‘दिउँसो हुने माग हामी सोलाबाट पुरा गर्छौ । बिहान साँझ हामी अर्ध जलाशय र जलाशययुक्त जलविद्युत आयोजना चलाउन सक्छौं,’ उनले भने ‘भारतबाट ल्याउनुभन्दा यहि बनाउने हो ।’
नेपालमा १०० मेगावाटको कुलेखानी बाहेक जलाशययुक्त जलविद्युत् आयोजना छैन । १४० मेगावाटको तनहु जलाशययुक्त जलविद्युत् आयोजना निर्माणाधीन अवस्था छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध-जलाशयुक्त जलविद्युत् आयोजनामा समेत पानी सतह घटेर १५ मेगावाट उत्पादन भइरहेको छ । ऊर्जा सुरक्षाका लागि सम्झिश्रणमा परिवर्तन गरेर प्राधिकरणले सोलारको हिस्सा बढाउन लागेको हो ।
प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासंग सम्झौता गर्ने तयारी छ । यसमा नेपाली कम्पनीहरु मात्रै सहभागी हुन पाउछन् । १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले पीपीए भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ ।
प्राधिकरणले २२० केभी,१३२ केभी र ३३ केभी प्रसारणलाइन वरिपरिबाट सोलारका आयोजनाको बिजुली खरिद गर्न लागेको हो।
प्राधिकरणले अहिले सोलारका आयोजनाका लागि ५.९४ रुपैयाँ प्रतियुनिट दर तोकेको छ । यो दरमा प्रतिस्पर्धा गरेर खरिद गरिरहेको छ । १७५ आयोजनाबाट १०६ मेगावाट बिजुली किनिरहेको छ ।