५ वर्षमा वर्ल्डलिंकको व्यापार दोब्बर, एकैवर्ष १० अर्ब ३३ करोडको कारोबार, कति छ ऋण ?



काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको व्यापार निरन्तर बढिरहेको पाइएको छ । कोरोना महामारीअघिको कम्पनीले वार्षिक ५ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्ने गरेका अहिले १० अर्ब रुपैयाँभन्दा बढी भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १० अर्ब ३३ करोड रुपैयाँको आम्दानी/व्यापार गरेको छ । आव २०७५/७६ मा कम्पनीको वार्षिक आम्दानी ५ अर्ब ४ करोड रुपैयाँमात्र थियो ।

५ वर्षमै व्यापार दोब्बर हुनुको कारण नेपालमा इन्टरनेट उपयोग बढ्नु हो। वर्ल्डलिंक देशमा सबैभन्दा बढी बजार हिस्सा ओगट्ने सेवा प्रदायक हो ।

वर्ल्डलिंकको आम्दानी वार्षिक १ अर्बभन्दा बढीको दरले बढिरहेको देखिन्छ । आव २०७६/७७ मा ६ अर्ब ५४ करोड रहेको कम्पनीको कुल आम्दानी आव २०७७/७८ मा ७ अर्ब ९५ करोड तथा आव २०७८/७९ मा ९ अर्ब ३९ करोड पुगेको थियो ।

वर्ल्डलिंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जा लिएकोे छ । जसमध्ये २ अर्ब २९ करोड रुपैयाँ चालुपुँजी कर्जा हो ।

वर्ल्डलिंक कम्युनिकेसन्स देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो । देशभरका ९ लाख घरपरिवारमा वर्ल्डलिंककै इन्टरनेट जडान छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वर्ल्डलिंकले हालैमात्र ग्राहक संख्यामा यो नयाँ उचाईं हासिल गरेको हो ।

२९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र इमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले वि.सं. २०७४ सालको जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो । त्यसको एक वर्षपछि अर्थात् २०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई लाख नाघेका थिए भने सोही वर्षको माघ महिनामा अर्को आँकडा पार गर्दै कम्पनीले ३ लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो ।

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले वि.सं २०८० भदौमा ग्राहक संख्या ८ लाख पुर्याएको थियो ।

कोरोना महामारीपछि नेपालमा इन्टरनेट सेवा विस्तारमा बहार छाएको थियो ।

वर्ल्डलिंकको बिजनेसमा यस किसिमको सुधार आउनु अरु कारण अनुभवी सञ्चालक तथा व्यवस्थापन टिम, बलियो संस्थागत सेयरधनीको सहयोग र नयाँ लगानी, इन्टरनेट सेवामा दरिलो इतिहास, प्रयोगकर्ताको संख्यामा क्रमिक रुपमा आएको वृद्धि, चित्तबुझ्दो वित्तीय प्रस्तुती, सहज पुँजी संरचना, विविधिकृत पोर्टफोलियो र अत्याधुनिक प्रविधि हुन् ।

वर्ल्डलिंकले घरायसी, साना तथा मझौला व्यवसाय तथा कर्पोरेट गरी विभिन्न प्याकेजमा ग्राहकको आवश्यक्ता अनुसार इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले दुई वर्ष अघिमात्रै ठूलो परिमाणको विदेशी लगानी भित्र्याएको थियो । वर्ल्डलिंक यस्तो लगानी भित्र्याउने पहिलो र एक मात्र इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको हो । विदेशी लगानी भित्रिएसँगै कम्पनीले देशव्यापी रूपमा गुणस्तरीय सेवा विस्तारका साथै कर्मचारीहरूको सीप अभिवृद्धिमा समेत ठूलो लगानी गरिरहेको छ ।

वल्र्डलिंक देशको सबैभन्दा ठुलो रोजगारदातामध्ये एक हो । वर्ल्डलिंकमा ५३ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । कूल १३० शाखामार्फत कम्पनीले देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । बाँकी रहेका ४ जिल्लामा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने योजना कम्पनी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हाल कम्पनीले नेपालको कूल इन्टरनेट बजारको ३५ प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ । हाल देशको कूल इन्टरनेट ट्राफिकमध्ये ४० प्रतिशत वर्ल्डलिंकमार्फत नै प्रवाह हुने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३८ लाख ७० हजारभन्दा बढी रहेको देखिन्छ । कम्पनीले एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्डलगायतका अवार्ड प्राप्त गरेको छ ।

वर्ल्डलिंकमा बीआईआई र डोल्मा फन्डबाट कुल २ अर्ब ९८ करोड रुपैयाँ लगानी छ । यो विदेशी लगानी कम्पनीको सञ्जाल पूर्वाधार विस्तारमा खर्च गरिएको छ ।

२०८० असारमा कम्पनीको बजार हिस्सा २९ प्रतिशत थियो जुन बढेर ३५ प्रतिशत पुगेको छ । यद्यपि प्रतिग्राहक आम्दानी भने घटिरहेको छ । आव २०७८/७९ मा प्रतिग्राहक आम्दानी ११२३ रुपैयाँ रहेका २०८० असारमा आइपुग्दा ९८७ रुपैयाँ कायम भएको छ ।

कम्पनीको वित्तीय प्रस्तुती चित्तबुझ्दो देखिन्छ । जसको कारण हो, ग्राहक आधारमा आएको सुधार । एक वर्षमै कम्पनीको आम्दानी १० प्रतिशतले बढेको छ । जसमध्ये ५० प्रतिशत व्यापार इन्टरनेट सेवा बिक्री गरेर प्राप्त भएको छ भने ४२ प्रतिशत आम्दानीको स्रोत निरीक्षण तथा प्राविधिक सपोर्ट हो । बाँकी ८ प्रतिशत नेटवर्क सेवा प्रदान, उपकरण विक्री आदिबाट आम्दानी हुन्छ ।

यसो त आम्दानीसँगै कम्पनीको नाफा पनि वृद्धि भएको छ । ब्याज, डिप्रिसिएसन र करअघि कम्पनीको नाफा आम्दानीको एकतिहाइ छ । यस्तो नाफा गत वर्ष ३३ प्रतिशत पुगेको छ । जबकि अघिल्लो आवमा ३१ प्रतिशतमात्र थियो । यस अवधिमा स्थायी लगात खर्च, कर्मचारी लाभ खर्च र प्रबद्र्धनको काम वृद्धि हुँदा नाफामा सामान्य दरमा असर परेको देखिन्छ ।

सेवा सञ्जाल विस्तार गर्दैगर्दा कर्मचारी र व्यवसाय प्रबद्र्धन खर्च निकै बढेको छ । यसो त अधिक डिप्रिसिएसन र ब्याजखर्चका वृद्धिले कुल व्यापारको ५ प्रतिशत खुद मुनाफा हुने गरेको छ । जुन अघिल्लो आवको ३.८ प्रतिशतभन्दा बढी हो । यद्यपि, ब्याजखर्च र डिप्रिसियसन कम हुने त्यसअघिका वर्षमा ११ प्रतिशतसम्म खुद मुनाफा हुने गरेको थियो ।

१० अर्बभन्दा बढी आम्दानीमध्ये कम्पनीको क्यास एक्रुअल २ अर्ब ५० करोड रुपैयाँ छ ।

यसो त कम्पनीको पोर्टफोलियो निकै नै विविधिकृत छ । कम्पनीको ४२ प्रतिशत आम्दानी खुद्रा ग्राहकबाट हुन्छन् भने ७ प्रतिशत कर्पोटरेट ग्राहकबाट हुने गरेको छ । वर्ल्डलिंकले बजार हिस्सामा आफ्नो नेतृत्व जमाउन सक्दा सब्सक्रिप्सन आम्दानी पनि बढिरहेको छ । साथै एकपल्ट कम्पनीको सेवा लिएका ग्राहकलाई अन्य कम्पनीमा जान नदिने अनेकौं उपाय अबलम्बन गरिरहेको छ ।

वल्र्डलिंक अप्टिलक फाइबर सञ्जालमा देशकै पायोनियर कम्पनी हो भने स्याटेलाइटबाट सम्पर्क गराउने पहिलो निजी कम्पनी हो । यसैगरी आफ्नो वायरलेस ट्रंक नेटवर्क हुने पहिलो कम्पनी पनि हो ।

वल्र्डलिंकले फाइबर टु द होम प्रविधि सन् २०१२ लै लाइको थियो । सन् २०१८ मा फिनल्यान्डको कम्पनी नोकियासँगको सहकार्यमा फाइबर टु द होम सञ्जाललाई १० लाख ग्राहकसमक्ष पुर्याएको थियो ।

हाल वर्ल्डलिंकको कुल फाइबर नेटवर्क सञ्जाल १५ हजार किलोमिटर रहेको छ ।

यति धेरै सकारात्मक पक्ष हुँदाहुँदै कम्पनीलाई केही चुनौती पनि छन् । सूचना प्रविधि उद्योग उच्च पुँजी र प्रविधि आवश्यक उद्योग हुनु, प्रतिस्पर्धा बढ्नु, विनियमदरमा उतारचढाव हुनु, नियामकीय हेरफेर र प्राविधिक जोखिम कम्पनीसामू चुनौतीका पहाड हुन् ।

४ वर्ष अघि इन्टरनेटमा भ्याट र दुरसञ्चार सेवा दस्तुर लगाउँदा वल्र्डलिंकले मूल्य नबढाएर आफ्नो लागतमा समायोजन गरेको थियो । त्यसपछि नेपाल विद्युत प्राधिकरणले पोलको भाडादर बढायो ।

साथै पछिल्लो समयको विवादित महसुलले कम्पनीको दायित्व २ अर्ब थपिएको छ ।

नेपाल दूरसञ्चार ऐन २०५३ तथा नियमावली २०५४ र ग्रामीण दूरसञ्चार कोष सञ्चालन विनियमावली २०६८ अनुसार दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गर्नेले कम्पनीले कूल आम्दानीको ४ प्रतिशत रोयल्टीवापत नेपाल सरकारलाई बुझाउनपुर्छ भने २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्छ ।

तर, इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवा र मर्मत सम्भारको छुट्टाछुट्टै बिल पठाएर इन्टरनेट सेवाबाटमात्र रोयल्टी तिर्नुपर्ने बताउँदै आएकामा सर्वोच्च अदालतले गत वैशाख ३० गते मर्मत सम्भारको पनि रोयल्टी तिनुपर्ने गरी मुद्दा खारेज गरेपछि वल्र्डलिंकमाथि १ अर्ब ९६ करोड रुपैयाँ दायित्व थपिएको छ ।

यद्यपि यो दायित्व बहन गर्न कम्पनी सक्षम देखिएको छ ।

कम्पनीले अहिले चालु पुँजी कर्जा वृद्धि गरेको छ । यसअघि २ अर्ब १८ करोड १५ लाख रुपैयाँबराबरको यस्तो कर्जा लिएकामा बढाएर २ अर्ब २९ करोड ५ लाख पु¥याएको छ । यस्तै अरु अल्पकालीन कर्जा भने ३ अर्ब १ करोडबाट घटाएर १ अर्ब २१ करोड कायम गरेको छ ।

यी कर्जाका लागि कम्पनीले क्रमशः केयर एनपी ए र केयर एनपी एटुप्लस रेटिङ पाएको छ ।


क्लिकमान्डु