इन्टरनेटका प्रयोगकर्ता बढेसँगै सेवा प्रदायक मालामाल, ३ कम्पनीले एकै वर्ष गरे साढे १६ अर्ब आम्दानी



काठमाडौं । विश्वव्यापीरुपमा प्रविधिको उच्च विकास भएसँगै अधिकांश कार्य छिटो, छरितो र सहज हुँदै गएको छ । प्रविधिको विकासले नै विश्वभर के कस्ता घटना भइरहेको छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । जसले गर्दा एउटा घरभित्र बसेर नै संसारका विभिन्न ठाउँबारे सहजै इन्टरनेटमार्फत् थाहा पाउन सकिन्छ ।

इन्टरनेटको प्रयोगले अहिलेका नयाँ पुस्ताले विभिन्न क्षेत्रमा फड्को मारिसकेको छ । साथै, इन्टरनेटबाटै अधिकांश काम तथा कार्य पेपरलेस, फेसलेस हुन थालेको छ । त्यस्तै, नेपालमा पनि इन्टरनेटको प्रयोगले गर्दा अधिकांश क्षेत्रमा फड्को मारिसकेको छ । अहिले विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगबाट नै काम कार्य भइरहेको पाइन्छ ।

पछिल्लो समय झनै इन्टरनेट तथा प्रविधिको प्रयोग उच्च हुन थालेको छ । देशव्यापीरुपमा प्रविधि अर्थात् इन्टरनेटको प्रयोगकर्ता बढेसँगै नेपालमा इन्टरनेट सेवा प्रदायक संस्थाहरूको व्यापार पनि उच्च हुन थालेको छ ।

अहिले अधिकांश कार्यालय, घर तथा हरेक सार्वजनिक स्थानमा समेत इन्टरनेट जडान हुन थालेको छ । जसले गर्दा उक्त क्षेत्रमा सेवा प्रदान गर्दै आएको कम्पनीहरूको व्यापारमा उछाल आएको छ ।

कोभिड अघिसम्म पनि इन्टरनेटको प्रयोगलाई मानिसहरुले अनिवार्य जडान गर्नुपर्छ भन्ने भान थिएन । तर, कोभिडपछि भने हरेक कार्यस्थल तथा घरघरमा अनिवार्य इन्टरनेट जडान गर्न आवश्यक रहेको अवस्था सिर्जना गरेको छ ।

कोभिडको समयमा अधिकांश कार्य तथा पठनपाठन पनि अनलाइनमार्फत् हुन थालेपछि नेपालमा इन्टरनेटको प्रयोगकर्ता उच्च बढेको कम्पनीहरुको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणअनुसार सन् २०२१ सम्ममा देशभर १६ लाख ५९ हजार ३०६ इन्टेरनेट प्रयोगकर्ता रहेको जनाएको छ । नेपालमा सन् २०२१ को जुलाइसम्ममा ४४ वटा इन्टरनेट प्रदायक संस्थाको १६ लाख ५८ हजार ग्राहक थिए । तर, सन् २०२२ को मेसम्ममा सो संख्या बढेर ५८ वटा पुगेको छ भने ग्राहकको संख्या पनि २१ लाख ३७ हजार ९६१ पुगेको छ ।

त्यस्तै, कोभिडकै समयमा नेपालमा उच्च इन्टरनेटको प्रयोगकर्ता बढ्दा इन्टरनेट सेवा प्रदायक तीन कम्पनीले मात्रै साढे १६ अर्बको व्यापार गरेका छन् ।

सन् २०२१ मा नेपालमा भएका इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी ग्राहक बनाउन सफल भएको वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेड, डिस मिडिया नेटवर्क लिमिटेड र सुविसु केबलनेट लिमिटेडले १६ अर्ब ३८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

पछिल्लो समय नेपालमा बढ्दो इन्टरनेट प्रयोगकर्ता बढेसँगै उच्च व्यापार गर्न सफल भएको कम्पनीहरुले जनाएका छन् ।

कुन कम्पनीले कति गरे व्यापार ?

डिस मिडिया नेटवर्क लिमिटेडः डाइरेक्ट टु होम अर्थात् डिसहोम सर्भिस प्रोभाइडर कम्पनी डिस मिडिया नेटवर्कको आम्दानी भने ४.१४ प्रतिशतले घटेको छ । कम्पनीको आम्दानी सन् २०२० को तुलनामा सन् २०२१ मा ४.१४ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, सन् २०२१ मा ४ अर्ब ९२ करोडमात्रै आम्दानी भएको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०१९ मा ४ अर्ब २५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

देशभर ८५ वटा डिलर, ३५ सयभन्दा बढी सब-डिलर र १३ सयभन्दा बढी फ्रेन्चाइजका सेवा दिँदै आएको कम्पनीमा हङकङको स्यान्ड मार्टिन इन्टरनेशनल होल्डिङ प्रालिको ४७ प्रतिशत शेयर रहेको छ ।

सन् २०१० देखि डिसहोमको सुविधा दिँदै आएको कम्पनीले सन् २०२२ को अप्रिलसम्ममा ९ लाख ७० ग्राहक बनाएका छन् । २०७ च्यानलमध्ये ६१ वटा एचडी र १४६ वटा एसडी कन्टेन्टको सुविधा दिँदै आएको कम्पनीको मात्रै २१ वटा आफ्नै च्यानल छन्। जुन अन्य अपरेटर कम्पनीसँग उपलब्ध छैनन् ।

साथै, कम्पनीले ओभर टु टप (ओटीटी) सर्भिसमार्फत् ‘डिसहोम गो’ एप सार्वजनिक गरेका छन् । जसमा १ सय लाइभ नेटवर्कसहित प्रिमियम लिनर च्यानल छन् ।

हेमराज ढकाल अध्यक्ष रहेको सय कम्पनीमा ६ जना निर्देशक छन् । ढकाल आइएमई ग्रुप अफ कम्पनी, आइमएमई जनरल इन्स्योरेन्सको अध्यक्ष र चन्द्रागिरि हिल्स्को निर्देशक रहेको हुन् । साथै, कामना विकास बैंकको अध्यक्ष रहेको सुदिप आचार्य पनि यस कम्नीको सञ्चालक हुन् ।

कम्पनीअनुसार सन् २०२१ आम्दानी घट्नुको मुख्य कारण इन्टरनेट रहेको छ । पछिल्लो समय डिजिटल इन्टरनेटको प्रयोगकर्ता बढेकाले डिसहोमको आम्दानीमा कम भएको उल्लेख छ ।

कम्पनीले सन् २०२० को फेब्रअरीमा इन्टरनेट सर्भिस प्रोभाइडरअन्तर्गत डिस होम फाइबरनेट ब्रान्ड सार्वजनिक गरेका थिए । उक्त सेवाको आम्दानी पनि निरन्तर बढ्दो क्रममा रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले काठमाडौं, हेटौंडा र डल्केबरमा फाइबर इन्टरनेटको ब्यान्डविथ बढाउनका लागि २० लाख र विराटनगर र बुटवलमा १० लाख खर्च गरी डेन्स वेभ लेन्थ–डिभिजन मल्टीप्लेक्सिङ निर्माण गरेको छ ।

कम्पनीले १३० वटा पोइन्ट अफ डिस्ट्रिब्यूसन निर्माण गरिसकेका छन् । साथै, कम्पनीले प्राधिकरणसँग अन्डरग्राउन्ड तार जडानका लागि समेत अनुमति लिएको जनाएको छ ।

कम्पनीले सन् २०१४ मा १०८ मेगाहर्जको ३ वटा ट्रान्स्पोन्डर र सन् २०२२ मा ४८६ मेगाहर्ज क्षमताको ४.५ ट्रान्स्पोन्डर सञ्चालन गर्दै आएको छ ।

कम्पनीअनुसार इन्टरनेटको सेवा सार्वजनिक गरेपनि सन् २०२१ मा १.०२ प्रतिशतले नाफा घटेको जनाएको छ । साथै, कम्पनीले सन् २०२१ मा इन्टरनेट सेवा आइएसपीबाट ८० लाख आम्दानी गरेको उल्लेख छ ।

सन् २०२२ को मार्चसम्ममा देशभर २० लाख इन्टरनेट प्रयोगकर्ता रहेकाले कम्पनीले इजाजतप्राप्त ५७ वटा इन्टरनेट प्रदायक संस्थासँग प्रतिस्पर्धा गर्नुपर्छ ।

सुबिसु केबलनेट लिमिटेडः सुबिसु केबलनेटले कोरोनाकै समयमा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोगकर्ता बढेसँगै कम्पनीले सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब बढी आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब ९० करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । जसमा कम्पनीले सन् २०२१ मा २१ प्रतिशतले आम्दानी बढेको जनाएको छ ।

देशभर करिब २ करोड इन्टरनेट प्रयोगकर्ता छन् । बढ्दो प्रतिस्पर्धा बजारमा कम्पनीले इन्टरनेटको सुविधासँगै राम्रो आम्दानी गरेको छ । कम्पनीको आम्दानी सन् २०१८ देखि २०२१ सम्ममा १४ प्रतिशतले वृद्धि हुँदै गएको जनाएको छ ।

कम्पनीले सन् २०२१ को आम्दानी गरेकोमध्ये ५८ प्रतिशत सर्वसाधारबाट गरेको जनाएको छ । सन् २०२० मा आम्दानी गरेकोमध्ये सर्वसाधारणको ५३ प्रतिशत थियो ।

त्यस्तै, कम्पनीले कर्पोरेट क्षेत्रबाट २७ प्रतिशत र २८ प्रतिशत अन्य विभिन्न आयोजनाबाट आम्दानी गरेको छ । सन् २०२० मा कर्पोरेटबाट २७ प्रतिशत र विभिन्न आयोजनाबाट २० प्रतिशत आम्दानी गरेको थियो ।

सन् २०२१ मा सम्पूर्ण नेपालीहरू घरबाटै काम तथा अनलाइन पढाई गर्नुपर्ने बाध्यताले गर्दा इन्टरनेटको आम्दानी बढेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न देशबाट आवश्यक सामग्री आयात गरी सेवा प्रवाह गर्दै आएको छ ।

सन् १९९९ अगस्ट १६ बाट सेवा दिन शुरु गरेको सुबिसुको नेपालमा बजार हिस्सा १३ प्रतिशत रहेको जनाएको छ । कम्पनीको डिसेम्बर २०२१ सम्ममा २ लाख ५० हजार प्रयोगकर्ता रहेको जनाएको छ । उक्त संख्यामा प्रयोगकर्ता भएको सुबिसु नेपालकै ठूलो इन्टरनेट प्रदायक संस्था भएको दाबी गरेको छ ।

कम्पनीको हालसम्ममा ७७ वटै जिल्लामा इन्टरनेट पुगिसकेको छ । जसमा काठमाडौंमा मात्रै १० वटा इन्टरनेट स्टेशन रहेको छ भने ३० वटा देशभर शाखा विस्तार गरेको छ । साथै, कम्पनीले अक्टोबर २०२१ सम्ममा देशभर इन्टरनेटसहित १९३ वटा सेवाको फ्रेन्चाइज पस्किसकेको छ ।

सुरेन्द्र श्रेष्ठ अध्यक्ष रहेको सुबिसु कम्पनीसँग २० वर्षको इन्टरनेटसम्बन्धी अनुभव रहेको छ । ५ बोर्ड सदस्य रहेको कम्पनीको ४ जना इन्जिनियरिङ क्षेत्रको अनुभवी रहेका छन् ।

वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडः वर्ल्डलिङ्क कम्यूनिकेशन लिमिटेडले एकै वर्ष करिब ८ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२१ मा २१.५३ प्रतिशतले व्यापार बढेको छ भने २९.९१ प्रतिशतले ग्राहक बढेको छ । त्यस्तै, कम्पनीले करिब ८ अर्बको व्यापार गर्दा ६१.०९ प्रतिशतले नाफा कमाएको छ । जसमा कम्पनीले ९१ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ६ अर्ब ७२ करोड ४० लाख (अपरिष्कृत)को व्यापार गरेको छ ।

सन् १९९६ मा स्थापना भएको वर्ल्डलिङ्क नेपालकै सबैभन्दा ठूलो इन्टरनेट प्रादयक संस्था हो । साथै, देशको टेलिकम सेवा प्रदायक संस्थामध्ये तेस्रो ठूलो टेलिकम कम्पनी संस्था पनि हो ।

सन् १९९६ मा स्थापना भएको कम्पनी सन् २०१९ मा मात्रै लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले ‘वर्ल्डलिङ्क’ ब्रान्डमा देशभर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

दिलिप अग्रवाल अध्यक्ष रहेको कम्पनीमा सन् २०१९ देखि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट अर्थात् सीडीसी ग्रुपको स्वामित्व छ । सीडीसी ग्रुपले वल्डलिङ्कमा १ अर्ब रुपैयाँ प्रत्यक्ष लगानी गरेको छ । जसमा वल्डलिङ्क कम्पनीमा सीडीसी नेपाल अपरच्युनिटिज लिमिटेडको १० प्रतिशत हिस्सा छ ।

विगत २६ वर्षदेखि निरन्तर इन्टरनेट सेवाको सुविधा प्रदान गर्दै आएको कम्पनीले देशभरको इन्टरनेट सेवा प्रवाहमा ३० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीअनुसार सन् २०२२ को मेसम्ममा देशभर ६ लाख २५ हजार ग्राहक रहेको जनाएको छ ।

देशभर ६ लाख बढी ग्राहक बनाएको कम्पनी एक्लैको ४० प्रतिशत ब्यान्डविथ हिस्सा र ७० भन्दा बढी जिल्लामा सेवा प्रदान गरेको कम्पनीको भनाइ छ । त्यसैगरी, १० हजारभन्दा बढी कार्यालयहरूमा इन्टरनेट जडान भएको कम्पनीले जनाएको छ ।

कम्पनीको देशभर १४० वटा नेटवर्क पूर्वाधार स्थापना गरेको छ । त्यस्तै, सन् २०२२ सम्ममा थप १२० वटा नेटवर्क पूर्वाधार स्थापना गर्ने कम्पनीको तयारी छ । कम्पनीको हिस्सा ३१ प्रतिशत अर्थात् ५ लाख १० हजार ७४२ जना ग्राहक रहेको जनाएको छ ।

कम्पनीको फाइबर सेग्मेन्टमा ३६ प्रतिशत बजार ओगटेको छ । देशभर इन्टरनेट प्रदायक संस्थाको बढ्दो प्रतिस्पर्धा छ । जसले गर्दा कम्पनीले २०२१ मा ग्राहकलाई आकर्षण गर्न ल्याइएको विभिन्न अफर तथा प्याकेजबाट प्रति यूनिटका दरले १ अर्ब २० करोड ६० लाख रुपैयाँ छुट दिएको उल्लेख छ ।

कम्पनीले सन् २०२१ मा ४१ प्रतिशत आम्दानी खुद्रा ग्राहकले इन्टरनेट जडानबाट, कर्पोरेट ग्राहकबाट ७ प्रतिशत आम्दानी गरेको छ ।

साढे १२ अर्बको रेटिङ

तीन वटा इन्टरनेट प्रदायक कम्पनीले सन् २०२१ मा साढे १६ अर्बको व्यापार गर्दा साढे १२ अर्ब बढीको रेटिङ गराएको छ । कम्पनीहरुले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १२ अर्ब ६९ करोड ८८ लाख रुपैयाँको रेटिङ गराएको छ ।

जसमा सुबिसु कम्पनीले ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ, वर्ल्डलिङ्कले ५ अर्ब १९ करोड १५ लाख रुपैयाँ र डिस नेटवर्कले ३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान