गाँजा खेतीबारे छलफल गर्न आरजुले बोलाइन् रविसहितका ४ मन्त्री



काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहसहित चार मन्त्रीलाई बोलाएको छ ।

कांग्रेस सांसद आरजु राणा देउवा सभापति रहेको समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ । समितिले बजेटको २९ बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा छलफल चलाउन लागेको हो।

संसद सचिवालयका उपसचिव शिवदत्त बरालकाअनुसार बैठकमा गाँजा खेतीको औषधी प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्रीवितरणसँग सम्बन्धित विषयमा कानुनी वातावरण तयार गरी वैद्यानिकता प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ। छलफलका लागि ८ वटा मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ। चार जना मन्त्रीलाई पनि बोलाइएको छ ।

समितिकाअनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई बैठकमा बोलाइएको हो । त्यस्तै यी मन्त्रालयका सचिव पनि बैठकमा डाकिएका छन् ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला व्यक्तित्व समेतको सहभागितामा छलफल हुने उपसचिव बरालले जानकारी दिए।


क्लिकमान्डु