महानगरमा १९ हजार बढी विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाए, विवरण नबुझाउने विद्यालयलाई कारबाही: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन) ले यस वर्ष १९ हजारभन्दा धेरैले छात्रवृत्तिमा अध्ययन गर्न पाएको बताएका छन् ।

मेयर शाहले एउटा कानुन कार्यान्वयनले यो वर्ष १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाएको जनाएका छन् ।

गत शैक्षिक सत्र २०८० मा काठमाडौं महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको शाहले जनाएका छन् । यस शैक्षिक सत्र २०८१ मा बुधबारसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको उनले जानकारी दिए ।

जसअनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएको उनले जनाए ।

‘हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीहरुलाई करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध गराउन सफल भयौँ,’ शाहले भनेका छन्, ‘ प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौं , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।’

हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचनाप्रकाशन गरिएको उनले बताए ।
‘तीन दिनभित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ शाहले भनेका छन्, ‘ विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस बर्ष करिब १९००० विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् ।’

कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै शाहले आफूहरु कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको उल्लेख गरेका छन् ।


क्लिकमान्डु