ओलीलाई अर्थमन्त्रीको जवाफः बजेट माओवादीतिर नभई जनतातिर ढल्केको छ



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।

बुधबार संसदभवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिए ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेका थिए । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए ।

उनले नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे ।

उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी गरे ।

उनले हरेक तीन वर्षमा कर्मचारीहरुको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताए ।मजदुरहरुको तलव निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको उनको भनाइ छ ।


क्लिकमान्डु