नेदरल्याण्डसँग धेरै खेल खेलेका छौं, प्रेसर ह्याण्डल गर्न सक्नेले जित्छ, हामी बेस्ट दिनेछौं: कप्तान पौडेल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० विश्वकपको पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् ।

नेपालले आज आफ्नो पहिलो खेल नेदरल्याण्डसँग खेल्दै विश्वकप-२०२४ को सुरुआत गर्दैछ । खेल नेपालीसमय अनुसार राति साढे ९ बजे हुँदैछ ।

खेल सुरु हुनुअघिको प्रिम्याच कन्फ्रेन्सका क्रममा कप्तान पौडेलले विश्वकप खेल्ने सपना पूरा भएकोमा खुसी रहेको बताए ।

‘हामी सबैजना उत्साहित छौं । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौं । १० वर्षपछि हामी विश्वकप खेल्दैछौं । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौं’ उनले भने ।

कप्तान पौडेलले सबै टिम सन्तुलित र प्रतिस्पर्धी भएको भन्दै पहिलो खेल जित्नु निकै महत्वपूर्ण हुने भएकोले जितका लागि खेल्ने बताए ।

आफूहरुले नेदरल्याण्डसँग धेरै खेल खेलेको र प्रेसर ह्याण्डल गर्न सक्ने टीमले जित्ने उनले बताए ।

‘नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौं । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौं । टुर्नामेन्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ,’ उनले थपे ।


क्लिकमान्डु