रविलाई रामहरिको प्रश्न: मापसेमा लरबर हुँदै ट्राफिकको ज्याकेट लाएर सडकमा खटाएर हुन्छ ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले देश हुकुमी शासनले नभइ कानुनी शासनले चल्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले गृहमन्त्री रवि लामिछानेले हुकुमी शासनमा देश चलाउन खोजेको आरोप लगाए ।

कुनै पनि काम आदेशका भरमा नभइ कानुन बनाएर गर्नुपर्ने भन्दै खतिवडाले ट्राफिक कारबाही परेलाई बिहान सडकमा ज्याकेट लगाएर उभ्याउने कानुन नभएको भन्दै हुकुमका आधारमा देश चलाउन नमिल्ने बताएका हुन् ।

‘मुलुक हुकुमी शासनमा चल्ने होइन, कानुन निर्माण गरेर चल्नुपर्छ,’ उनले भने, ‘ मापसे गरेका मान्छेलाई बिहान सडकमा ल्याएर उभ्याउने रे यो कुन कानुनअनुसार हो । फेरि हुकुमी शासन चलाउने कुरालाई स्वीकार गरिँदैन ।’

सडकमा स्वेच्छिक रुपमा श्रमदान गर्न मिल्ने भए पनि कारबाही परेकालाई सडकमा उभ्याउन नमिल्ने उनले बताए ।

‘मापसेमा लरबर हुँदै ट्राफिकको पहेलो ज्याकेट लगाउने सबै मान्छे मापसे गर्ने हुन् भन्ने भान भयो भने तिनिहरुको इज्जत के हुन्छ ?,’ खतिवडाले भने, ‘ त्यैले यो काम तुरुन्त बन्द गरेर कानुन अनुसार शासन चलोस् ।’

मिडियाका भरमा मन्त्रालय चलाउने नभइ उनले बोलेर, ट्वीट गरेर देश चलाउने होइन कानुनअनुसार चलाउनु पर्ने बताए ।


क्लिकमान्डु