बजेट व्यवस्था नै नगरी १३ वटा सभाहल बनाइदैँ, निर्माणाधीन सभाहलको दायित्व ५ अर्ब नाघ्यो



काठमाडौं । बजेटको व्यवस्था नै नगरी १३ वटा सभाहल निर्माण प्रक्रिया अगाडि बढाएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

बजेट व्यवस्था नगरी अगाडि बढाएका यस्ता सभाहलको दायित्व नै ५ अर्ब नाघेकोले आवश्यक बजेट व्यवस्था गरेर मात्रै नयाँ सभाहल बनाउने प्रक्रिया अगाडि बढानुपर्ने महालेखाले औंल्याएको छ ।

सभाहल निर्माण सघन शहरी तथा भवन निर्माण आयोजनाबाट प्राप्त विवरणअनुसार सात प्रदेशमा ४४ सभाहल निर्माण गर्ने योजना रहेकोमा १७ सभाहल निर्माण कार्य सम्पन्न भएको छ । १४ निर्माणाधीन रहेको छन् भने १३ सभाहलको लागि जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन तयारीलगायत प्रारम्भिक चरणको कार्य भैरहेको छ ।

उल्लिखित ४४ सभाहलमध्ये ३१ सभाहलको निर्माणको लागि २६ अर्ब ३४ करोड २४ लाख रुपैयाँको लागत अनुमान रहेकोमा २० अर्ब ६४ करोड ४७ लाखको सम्झौता भएको छ ।

यसबाट यो वर्षसम्म १५ अर्ब ५ करोड १९ लाख रुपैयाँ खर्च भएको देखिन्छ । निर्माणाधीन सभाहलहरू सम्पन्न गर्न ५ अर्ब २० करोड ६६ लाख रुपौयाँ दायित्व सिर्जना भएको अवस्थामा बजेट व्यवस्था नगरी थप १३ नयाँ सभाहलको विस्तृत परियोजना प्रतिवेदन तयार गरी खरिद प्रक्रियामा रहेका छन् । आवश्यक बजेट व्यवस्था गरेर मात्रै यी नयाँ सभाहल निर्माण कार्य अगाडि बढाउन महालेखोको सुझाव छ ।


क्लिकमान्डु