पाथीभरामा झण्डै ७० लाख भेटी संकलन



ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एकै महिनामा ६९ लाख ३२ हजार चार सय रुपैयाँ भेटी संकलन भएको छ । वैशाख महिनाभर दर्शनार्थीहरुबाट संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले संकलित भेटी बैंकमा दाखिला गरिएको बताएका छन् । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा २ लाख २० हजार २ सय ७२ जना दर्शनार्थीहरु पाथीभरा आएको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना संकलन भएको भेटीको रकम सार्वजनिक गरिरहँदा देशभर रहेका अधिकांश मन्दिर तथा शक्तिपीठले दर्शनार्थीको दान रकम सार्वजनिक गर्ने गरेका छैनन् ।


क्लिकमान्डु