साइबर ठगीको निशानामा अर्बपतिहरु, छिमेकी भारत कसरी बन्दैछ साइबर अपराधको केन्द्र ?



एजेन्सी । भारतमा साइबर ठगी आम रुपमा चल्दैआएको छ । तर एक अर्बपति व्यापारी नै ठगिएको घटना भने नयाँ हो । ओसवाल समूहका प्रमुखबाट साइबर अपराधको माध्यमबाट करिब ७ करोड भारु ठगी भएको घटना खुलासा भएको छ ।

भारतीय प्रहरी ठगीको एक घटनामाथि अनुसन्धान गरिरहेको छ । जसमा भारतका एक धनाढ्य कपडा व्यापारीबाट लगभग ९.९ करोड भारु ठगी भएको थियो। समाचारहरुमा आए अनुसार ठगहरुले अदालतको नक्कली अनलाइन सुनुवाइमा बोलाएर जेल सजाय दिने धम्की देखाउँदै ती व्यापारीबाट उक्त रकम ट्रान्सफर गराएका थिए ।

जवकि भारतमा डिजिटल तथा अनलाइन ठगी तीब्र रुपमा बढिरहेको छ । तर पन्जाब राज्यका एक प्रहरी अधिकारीले भने अनुसार सर्वोच्च अदालतको नक्कली सुनुवाइको नाटक रचेर यस्तो ठगी गरिएको थियो । प्रहरीले गत बिहीबार भारतको वर्धमान ग्रुपका ८२ वर्षीय अध्यक्ष एसपी ओसवालको मुद्दामा दुई जनालाई पक्राउ गरेपछि यो घटना बाहिरिएको हो ।

कसरी फसे ओसवाल ?

ओसवालले भने अनुसार ठगहरुले आफूलाई केन्द्रीय अनुसन्धान अधिकारी बताउँदै उनलाई सम्पर्क गरेका थिए । र उनीहरुले ओसवाललाई सम्पत्ति सुद्धिकरणमा संलग्न संदिग्ध बताएका थिए ।

त्यसपछि उनीहरुले एक अनलाइन अदालतको सुनुवाइको पनि आयोजना गरे । जसमा एक व्यक्ति भारतका मुख्य न्यायाधीश डी वाई चन्द्रचुडको रुपमा पेस भएका थिए । त्यसपछि उनीहरुले उनीसँग भएको सबै रकम एक बैंक खातामा राख्न भने ।

ओसवालले प्रहरीलाई अदालतको सुनुवाइबारे स्काइप कलमार्पत् बताए । सर्वोच्च अदालतको आदेश अनुसार आफूलाई सबै रकम एक गोप्य रुपमा निगरानी गरिएको खातामा जम्मा गर्न निर्देशन दिइएको उनले प्रहरीलाई भने ।

सर्वोच्च अदालतका रजिस्टार तथा चन्द्रचुडको कार्यालयले भने यसबारे केही बोलेको छैन । ओसवालले पनि केही प्रतिक्रिया दिएका छैनन् । प्रहरीले सोमबार आरोपितहरुसँग ६ लाख डलर अर्थात् ५ करोड भारु बरामद गरेको जनाएको छ । र यसलाई भारतमा यस किसिमको अपराधमा सबैभन्दा ठूलो बरामद भनिएको छ ।

ओसवालको घटनाका दस्तावेजहरुमा उनलाई डिजिटल गिरफ्तारीको धम्की दिइएको बताइएको छ । जुन भारतमा पछिल्लो समय एक बढ्दो समस्याको रुपमा देखिएको बताइन्छ । जहाँ ठगहरुले भिडियो कल गरेर मानिसहरुलाई सोधपुछ गरेर ब्ल्याकमेल गर्ने गर्छन् । र उनीहरुबाट अपराधका लागि रकम भुक्तानी पनि गराउँछन् ।

सरकारलाई पनि चुनौती

भारत सरकारले गत मे महिनामा पनि यस्ता डिजिटल गिरफ्तारीका घटना बढिरहेको चेतावनी दिएको थियो । यस्ता घटनामा साइबर अपराधीहरु कहिलेकाहीँ प्रहरीको पोशाक लगाएर वा प्रहरी कार्यालय वा सरकारी अड्डा जस्तो देखिने स्टुडियोको प्रयोग गर्छन् । तर यस्ता १ हजारभन्दा धेरै स्काइप आइडी ब्लकसमेत गरिएको छ ।

गृह मन्त्रालयले दिएको सूचना अनुसार सीमा पार वा विदेशमा रहेका आपराधिक गिरोहबाट यस्ता ठगी भइरहेको बताइएको थियो ।

गृह मन्त्रालयका अनुसार यस्ता ठगहरु आम रुपमा सम्भावित पीडितसँग फोन गर्छन् र उ कुनै अवैध गतिविधिमा संलग्न रहेको भन्दै ब्ल्याकमेल सुरु गर्छन् । उनीहरुले कुनै पार्सल पठाएको वा पाएको, जसमा अवैध सामान, ड्रग्स, नक्कली पासपोर्ट वा कुनै अन्य प्रतिबन्धित सामान रहेको भन्दै अनुसन्धान गर्नुपर्ने भन्दै धम्की दिन्छन् । कतिपय अवस्थामा सम्पत्ति सुद्धिकरणका मुद्दामा कारबाहीको धम्की दिने गर्छन् ।

यस्ता बनावटी मुद्दामा सम्झौता गर्ने बहानामा उनीहरु पैसा माग्ने गर्छन् । कतिपय घटनामा पीडितहरुले डिजिटल एरेस्टको सामना पनि गर्नुपर्ने बताइएको छ । कैयौं घटनामा माग पूरा नभएसम्म पीडितलाई स्काइप वा अन्य भिडियो कलमा अनलाइन बसिराख्न बाध्य पार्ने गर्छन् ।

ओसवाल यस किसिमको ठगीमा फसेका सबैभन्दा ठूला व्यापारी तथा धेरै रकम ठगिने व्यक्तिमध्ये एक हुन् । उनी ५ दशक पुरानो कपडा कम्पनीका मालिक हुन् । जसको कारोबार १ अर्ब १० करोड अमेरिकी डलर छ । र ७५ भन्दा धेरै देशमा उनको कम्पनी विस्तार भएको छ । राष्ट्रिय अपराध तथ्यांकका अनुसार २०२१ मा भारतमा ५२ हजार ९७४ वटा साइबर अपराधका घटना दर्ता भएका थिए । जवकि २०२२ मा यो तथ्यांक २४ प्रतिशत बढेर ६५ हजार ८९३ घटना दर्ता भए ।

साइबर अपराधको केन्द्र भारत

अक्सफोर्ड विश्वविद्यालयका समाजशास्त्र विभागका सोधकर्ताहरुले यसै वर्ष विश्वको पहिलो साइबर क्राइम इन्डेक्स जारी गरेका थिए । जसमा भारतको भूमिका प्रमुख रुपमा देखिएको थियो ।

‘म्यापिङ ग्लोबल जियोग्राफी अफ साइबर क्राइम विद द वर्ल्ड साइबर क्राइम इन्डेक्स’ शीर्षकमा जारी भएको उक्त अनुसन्धानमा विशेषज्ञहरुले कहाँ कहाँ साइबर अपराधका घटना धेरै भएका छन् भनेर नाम सार्वजनिक गरेका छन् । उक्त सूचीमा १५ देशहरुको नाम छ ।

इन्डेक्समा रुसलाई साइबर क्राइमका सबैभन्दा धेरै घटना हुने देशको रुपमा देखाइएको छ । रुसलाई साइबर क्राइमको गढ नै मानिएको छ । यस्तै युक्रेन इन्डेक्सको दोस्रो स्थानमा छ । चीन भने तेस्रो स्थानमा । रुससँग मिलेर यी दुई देशहरुलाई सबैभन्दा ठूल अड्डा मानिएको छ ।

यस्तै अनुसन्धानकर्मीहरुले तयार पारेको सूचीमा रहेका रुस, युक्रेन, चीन, अमेरिका, रोमानिया र नाइजेरिया यस्ता देश हुन् जुन हरेक किसिमका साइबर क्राइमको सूचीमा टप १० मा पर्छन् । साथै भारत भने सूचीको १०औं स्थानमा रहेको छ ।

विशेषज्ञहरुका अनुसार भारत प्रविधि साइबर अपराधको रुपमा धेरै खतरा नभए पनि स्क्याम र ठगीको रुपमा भने यसलाई केन्द्र मानिएको छ ।

२०२२ मा अमेरिकाले भनेको थियो कि भारतीय ठगले अमेरिकी नागरिकहरुबाट ८ खर्ब रुपैयाँ भारु ठगेका छन् । र उक्त सूचीले देखाए अनुसार विश्वका १५ देशहरुमध्ये साइबर अपराध हुने खतरा रहेका बाँकी देशमा पनि यस्ता धेरै प्रयास भएका छन् । र ती पनि सुद्ध भने छैनन् ।

अक्सफोर्ड विश्वविद्यालयको उक्त सूचीले नेपालसहित भारतकै छिमेकी देशहरुबारे भने खतराको कुनै संकेत देखाएको छैन । र यी देशहरुमा यस्ता साइबर अपराधका घटनाहरुको त्रासदी पनि देखाएको छैन ।

तर विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको देश भारत यति ठूलो समस्यामा फसिरहँदा यसको असर उसका साना छिमेकी देशहरुमा कति र कसरी पर्छ वा पर्दैन भन्नेबारे पनि रिपोर्टमा व्याख्या गरिएको छैन ।


क्लिकमान्डु