यूएन मिसनमा पठाउने भन्दै १२४ जनाबाट साढे ४ करोड ठग्‍ने श्रेष्ठ पक्राउ



काठमाडौं । टर्कीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको कार्यालयमा कामदारको रुपमा पठाउने भन्दै ४ करोड ३५ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्कीका विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

मासिक १४५० अमेरिकी डलर आम्दानी हुने प्रलोभन दिएर श्रेष्ठले १ सय २४ जनाबाट ४ करोड ३५ लाख संकलन गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । जिल्ला प्रहरी कार्यालय टेकुबाट खटिएको टोलीले श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरी ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाएको छ ।

पीडित युवाहरुले श्रेष्ठबाट आफ्नो काम नभएपछि काठमाडौंमा पत्रकार सम्मेलन गरी कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए । आरोपित श्रेष्ठले भने पीडित युवाहरुलाई काम नभए पैसा फिर्ता दिने भन्दै प्रत्येकलाई चेक दिने गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनले चुच्चेपाटीस्थित जमघट रेस्टुरेन्टमा प्रत्येकलाई भेटेर रकम संकलन गर्दै आएको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । हाल श्रेष्ठमाथि ठगी मुद्दामा अनुसन्धान भइ पुर्पक्षका लागि थुनामा पठाइएको छ ।


क्लिकमान्डु