सीआईबीसँगको बयानमा विनोद चौधरीले के भने ?



काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा आफ्नो परिवारको नाममा ल्याएको भनिएको प्रकरणमा कांग्रेस संसद्समेत रहेका व्यवसायी विनोद चौधरीले आफू निर्दोष रहेको बताएका छन् ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसन्धान अधिकृत र सरकारी वकिलको रोहबरमा लिइएको बयानमा चौधरीले बाँसबारी जुत्ता कारखानाको जग्गा लिने प्रक्रियामा आफू नभई आफ्नो बुवा संलग्न भएको भन्दै त्यसबारे आफूलाई कुनै पनि जानकारी नभएको पनि दाबी गरे ।

चौधरीले आज बिहान सरकारी वकिलको कार्यालय माइतीघर मण्डला पुगेर बयान दिएका थिए ।

बयान लिने अधिकारीका अनुसार उनले बाँसबारी जुत्ता कारखानाको जग्गा तत्कालीन च्याम्पियन फुटवेयरले लिने प्रक्रियामा आफू संलग्न नभएको भन्दै उक्त समयमा व्यापार व्यवसायको नेतृत्व आफना बुबाले गरेको र बाँसबारी जुत्ता कारखानासँग सहकार्य बुबाकै कारण भएको दाबी गरेका छन् । ‘बुवाले हात हालेको सबै काम मलाई जानकारी हुने कुरा भएन,’ उनको भनाइ उदृत गर्दै स्रोतले क्लिकमान्डुलाई भन्यो ।

तर, सीआईबीका अनुसार विनोद चौधरीले नै कारखानाको नाममा रहेको १८ रोपनी सरकारी जग्गा प्रस्तावित कम्पनी फुटवेयरलाई दिने सम्बन्धमा गरिएको प्रवर्द्धन सम्झौताबाट कार्यान्वयनको सर्वाधिकार पाएका थिए । चौधरी उक्त कम्पनीको सेयरधनी पनि थिए ।

‘त्यो बेला हामीसँग सहकार्य गर्ने निर्णय सरकारी अधिकारीहरूले नै गरेका थिए,’ कारखानाको नाममा रहेको सरकारी जग्गा फुटवेयर कम्पनीको नाममा रजिस्ट्रेसन पास गर्दा सरकारको अनुमति किन नलिएको भन्ने प्रश्नमा विनोद चौधरीले भने, “उहाँहरूले गरेको निर्णयलाई हामीले अविश्वास गर्ने कुरा हुँदैन थियो।”

उद्योग मन्त्रालय, उद्योग विभाग र अर्थ मन्त्रालयसमेतको प्रतिनिधि रहने सञ्चालक समितिले निर्णय गरेर जग्गा फुटवेयर कमपनीका नाममा आएका कारण त्यसमा चौधरी समूहको कुनै भूमिका नरहेको पनि उनले बयान दिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय स्रोतले बतायो ।

यसअघि बुधबार विनोद चौधरीका भाइ वसन्त चौधरीसँग बयान लिएको थियो । वसन्त चौधरीसँग भने घटना विवरण कागज मात्र गरिएको सीआईबीले जनाएको छ ।

२०४४ सालमा च्याम्पियन फुटवेयर चौधरी समूह र बाँसबारी छाला तथा जुत्ता उद्योगको पब्लिक प्राइभेट पार्टनरसिपमा सुरु भएको थियो ।

बाँसबारी छाला उद्योगले ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई उपलब्ध गराएको थियो । च्याम्पियन फुटवेयरको सञ्चालक समितिमा त्यति बेला बाँसबारी छाला उद्योगका तर्फबाट अजित नारायण थापा र चौधरी समूहका तर्फबाट विनोद र अरुण तथा उनीहरूका बुबा लुनकरणदास थिए ।

चौधरीले विहीबार विहान बयानपछि संचारकर्मीसँग कुरा गर्दै ४२ वर्षअगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाई त्यो बेलामा पब्लिक प्राइभेट पार्टरसिपको उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई हाल आएर जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःख लाग्दो रहेका बताएका थिए ।

माघ १८ गते सीआईबीले विनोद चौधरीका कान्छा भाइ अरुण चौधरीलाई बाँसबारी जुत्ता कारखानाको जग्गा कब्जा गरेको आरोपमा उनकै निवासबाट पक्राउ गरको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले हाजिरी जमानीमा छोडेको थियो ।

सीआईबीका अनुसार अनुसन्धान गर्नु पर्ने धेरै मान्छेहरू भएका कारण अनुसन्धानमा समय लाग्ने देखिएको छ ।


क्लिकमान्डु