अर्थले सहमति नलिँदा अप्ठारोमा परेको निगमले जहाज किन्नै सकेन, प्राविधिकरुपमै फेल जहाज किन्न मरिहत्ते



फाइल तस्बिर

काठमाडौं । अर्थ मन्त्रालयको सहमतिबिना निर्णय गरेको वायुसेवा निगमले जहाज किन्न सकेको छैन । करिब ५ महिना अगाडि तीनवटा ट्वीनअटर जहाज किन्न सार्वजनिक प्रस्ताव मागेको वायुसेवा निगम अहिलेसम्म प्रक्रियामै अल्झिएको छ ।

निगमले आन्तरिक उडानमा तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने प्रक्रिया गत कात्तिक ५ गते सार्वजनिक प्रस्ताव माग गरेको थियो । निगमले मागेको उक्त प्रस्तावमा तीनवटा कम्पनीको आवेदन पर्‍यो । ती कम्पनीको आवेदनमाथि प्राविधिक मूल्यांकन हुँदा तीनवटै कम्पनी फेल भएपछिको तनावका कारण निगमले जहाज किन्न नसकेको हो ।

अर्थ मन्त्रालयबाट सहमति नलिइ आफ्नै स्रोतबाट जहाज खरिद गर्ने भन्दै निर्णय गरेको निगमले अहिलेसम्म पनि त्यहीँ प्रक्रियाबाट जहाज खरिद गर्ने प्रयासमै छ । भएकै जहाजको किस्ता तिर्न नसक्ने, जहाज किन्न सक्ने कम्पनीले किस्ता तिर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय उडानका जहाज खरिदमा लिएको ऋण तिर्नुपर्ने माग पनि ऋणदाताको छ ।

निगमले संचयकोष र नागरिक लगानी कोषबाट ३४ अर्ब रुपैयाँ ऋण लिएर २ वटा न्यारोबडी र २ वटा वाइडबडी खरिद गरेको छ । ती जहाज किन्दा लिएको ऋण करिब ४७ अर्ब रुपैयाँ पुगिसकेको छ भने पछिल्लो समय निगमले तिर्ने किस्तासमेत कम भएको भन्दै ऋणदाताले गुनासो गरिरेहका छन् ।

निगमले आन्तरिक उडानको लागि ट्वीनअटर किन्न मागेको प्रस्तावमा प्राविधिक मूल्यांकनपछि थप अध्ययन गर्न उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदन नै नदिएको, जहाज खरिदका विषयमा कानुनी परामर्श गर्न भन्दै अर्को उपाय खोजी गरिहेको छ । निगम स्रोतका अनुसार प्राविधिक रुपमा असफल भएकपनि त्यो प्रक्रिया रद्द गरेर नयाँ टेण्डर आह्वान गर्नुपर्ने थियो । निगम स्रोतका अनुसार अब पुनः प्रस्ताव आह्वान गर्नु बाहेकको विकल्प छैन ।

तर, निगमले भने नयाँ टेण्डर नमागि यसैबाट क्यानडाको डे ह्याभिल्याण्डमार्फत क्यानेडियन ट्वीनअटर नै किन्ने प्रयास गरिरहेको छ । यही प्रयासका कारण निगमले समयमा नै जहाज खरिद गर्न नसकेको हो ।

पछिल्लो समय निगम सञ्चालक समितिलाई ट्वीअटर किन्ने र क्यानेडियन जहाज नै भनेर स्पष्ट उल्लेख भएकोले अहिले आएकै प्रस्तावलाई नयाँ ढंगबाट मूल्यांकन गरेर स्वीकृत गर्नुपर्ने दबाब परिरिहेको निगम स्रोतको भनाइ छ ।

निगमले ट्वीनअटर आफ्नै स्रोतले किन्ने भनेर निर्णय गरेपछि जहाज खरिदको कुनै पनि एजेण्डामा अर्थ मन्त्रालयको सहभागिता छैन । अर्थ मन्त्रालयका प्रतिनिधि धनीराम शर्माले गत असोजमै जहाज किन्ने निर्णयमा असहमति राखेपछि उनी त्यसपछिका बैठकमै गएका छैनन् । अर्थका प्रतिनिधि नगएपछि निगमलाई सरकारसँग थप जहाज खरिदको प्रस्ताव अगाडि बढाउन असहज भएको छ ।

निगमले भाडामा ४ वटा एटीआर र २ वटा न्यारोबडी ल्याउने तयारी गरिरहेको छ । २ वटा न्यारोबडी ल्याउने विषयमा सार्वजनिक प्रस्ताव पनि मागिसकेको छ भने एटीआरकोको प्रस्ताव तयार पारिरहेको निगम स्रोतको भनाइ छ ।

निगमले ट्वीअटर खरिद गर्न मागेको कम्पनीको प्रस्तावमा भारतको हिस्दूस्थान एरोनोटिकल, क्यानडाको डे ह्याभिल्याण्ड र चेक रिपब्लिकको एयरक्राफ्ट इन्ड्रस्ट्रिडले प्रस्ताव पेस परेको छ । यी तीनवटै कम्पनीको प्रस्ताव मूल्यांकन गरेर उपयुक्त कम्पनीका विषयमा निर्णय गर्ने अडानमा अझै निगम व्यवस्थापन रहेको छ ।


राजु बास्कोटा