क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्योः राजेन्द्र लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, काँग्रेस लगायतका पार्टी र नेताहरु भन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गरे । उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए ।

उनले धर्मबिहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे । अध्यक्ष लिङदेनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सिमित हुने बताए । उनले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताए ।

उनले भने, ‘धर्म राजनीति अलग कुराहरु हुन् भनेर हामीलाई गाली गर्ने मानिसहरु पनि छन् । तर हामी सधैँ भन्छौँ, धर्मबिहीन राष्ट्रियता पनि हुन सक्दैन र राजनीति पनि हुन सक्दैन । धर्म र राजनीति वा राष्ट्रियता र धर्मलाई अलग राख्यो भने के हुन्छ भन्नेकुरा अहिले देखिरहनुभएको छ । धर्मलाई राजनीतिसँग अलग गर्दा, धर्मलाई राजनीतिसँग अलग ढंगले बुझ्दा मानिसहरुलाई आफ्नै नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाइ पैसा कमाउने बुद्धि आउँछ । धर्मसहितको राजनीति गर्नुपर्छ, धर्म बिनाको राजनीति हुँदैन भनेर हिँड्ने थोरै मान्छे छन् । हिन्दु धर्म, राष्ट्र वा हिन्दु अधिराज्य त्यो चिज माला जपेर नारा लगाएर मात्रै आउँदैन । त्यसका केही पद्धति र प्रक्रियाहरु छन् । त्यसको लागि तपाईहरुले दिलदेखि मत परिवर्तन गर्नुपर्छ । मैले चुनाव जितेँ भने नेपालमा हिन्दु अधिराज्य कामय गर्छु भनेर आएको व्यक्तिलाई जिताउनुपर्छ । पार्टी र नेताहरुलाई दोष दिएर हुँदैन । नेताहरुको बाध्यता थियो होला, बिके होलान्, सत्ता मोहमा परे होलान् । तर तपाईले ति पार्टीहरुलाई, ति धर्मनिरपेक्ष बनाउनेहरुलाई भोट नदिएको थियो भने कसरी बनाउँथे । नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौँ भनेर ति पार्टीहरुलाई भोट दिने तपाईहरुको हात कम दोषी छैन । जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ । वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा काँग्रेस, कम्युनिष्ट, यी अरु पार्टी कसैलाई दोष दिनु भन्दा पनि क्षेत्री बाहुको हात दोषी छ । आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ । मलाई यो भन्नुमा कुनै आपत्ति छैन ।’

अध्यक्ष लिङदेनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चहेर मात्रै धर्म निरपेक्षता नआएको बताए । उनले धर्म निरपेक्ष बनाउन दाहाल भन्दा बढी दोषी नेपाली काँग्रेस रहेको बताए । उनले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताए ।


क्लिकमान्डु