कित्ताकाट र सहज नीतिको प्रभाव देखिएन: मंसिरमा घरजग्गा कारोबार बढेन



काठमाडौं । सरकारले घरजग्गा कारोबार सहज नीति अपनाउँदा पनि कारोबारमा झनै निराशा देखिएको छ । सरकारले घरजग्गा कारोबारमा कित्ताकाटका कारण समस्या देखिएको भन्दै गत साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । कित्ताकाटमा सहज नीति अपनाउँदा पनि कारोबार भने उल्लेख्य बढ्न सकेको छैन ।

घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जाको सीमा बढाएको थियो । राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँसम्म पाउने कर्जाको सीमा बढाएर २ करोड पुर्‍याएको थियो । यस्तो व्यवस्था गरे पनि कारोबारमा खासै प्रभाव नपरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

विभागअनुसार मंसिर महिनामा कारोबारमा सामान्य वृद्धि भएको देखाएको छ । तर, व्यवसायीहरुले अपेक्षा गरेअनुसार भने हुन सकेको छैन ।

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । त्यसैगरी, भदौमा ३५ हजार ६८६ वटा, असोजमा ४७ हजार ३९८ वटा घरजग्गा किनबेच भएको थियो । साथै, कात्तिक महिनामा दसैं तिहारको माहोलले सरकारी कार्यालयहरु बन्द हुँदा २६ हजार मात्रै घरजग्गा किनबेच भएको थियो ।

सरकारले विभिन्न चरणमा घरजग्गा कारोबारमा केही सहज नीति अपनाएसँगै व्यवसायीहरुले दसैं तिहारपश्चात कारोबार बढ्ने बताउँदै आएका थिए । तर, व्यवसायीहरुले अपेक्षा गरेअनुसार कारोबार बढ्न नसकेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् । बजारमा अझै मानिसरुमा लगानी गर्ने विश्वासको वातावरण सिर्जना हुन नसक्दा कारोबार बढ्न नसकेको उनी बताउँछन् ।

मंसिर महिनामा ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएको छ । कात्तिकको तुलनामा मंसिरमा उच्च कारोबार भएको देखिए पनि अपेक्षाकृत हुन नसकेको व्यवसायीहरुको भनाइ छ ।

मंसिरमा सरकारले अपनाएको नीतिले अपेक्षाकृत घरजग्गा कारोबार नभएपछि राष्ट्र बैंकले घरजग्गा कारोबारमा अझै लचकता अपनाएको छ । राष्ट्र बैंकले पहिलो त्रैमासिकको मौद्रिक नीति समीक्षा गर्दै रियल स्टेट कर्जाको जोखिम भार घटाएको छ भने आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत बनाएको छ । उक्त व्यवस्थाले केही कारोबारमा सहज हुने व्यवसायीहरुको भनाइ छ ।

मंसिर महिनामा करिब ४२ हजार घरजग्गा किनबेच हुँदा २९ हजार ६२६ वटा घरजग्गा रोक्का र २५ हजार ४५४ वटा घरजग्गा फुकुवा भएको छ । त्यस्तै, सो अवधिमा २२ वटा अपार्टमेन्ट युनिट बिक्री भएको छ ।

मंसिर महिनामा सरकारले देशभरका मालपोत कार्यालयबाट ३ अर्ब बढी राजस्व संकलन गरेको छ । विभागको तथ्यांकअनुसार मंसिर महिनामा ३ अर्ब १७ करोड ६० लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले मंसिर महिनामा सेवाकरवापत २२ करोड ३१ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कर उठाएको छ ।

देशभरका मालपोत कार्यालयहरुले मंसिरमा पुँजीगत लाभरवापत ९६ करोड ४४ लाख ८४ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कवापत २ करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

मंसिर महिनामा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयबाट राजस्व संकलन भएको छ । लगनखेल मालपोत कार्यालयले मंसिर महिनामा ३० करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, डिल्लीबजार मालपोत कार्यालयबाट १९ करोड ८९ लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १९ करोड ६३ लाख रुपैयाँ, कलंकीबाट १८ करोड ४६ लाख रुपैयाँ र चावहिलबाट १८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु