भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि



काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबारदेखि लागु हुने गरी चैत दोस्रो साता (३१ मार्च २०२४) सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

महानिर्देशनालयले घरेलु बजारमा प्याजको नियमित र सहज उपलब्धता बनाइराख्न र बढ्दो मूल्यलाई नियन्त्रणमा राख्न प्रतिबन्ध लगाएको जनाएको छ । प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि भारतले कूटनीतिक माध्यमबाट प्याज लैजान पाउने विशेष व्यवस्था भने गरेको छ ।

अन्य मुलुकको विशेष अनुरोधमा केन्द्र सरकारको अनुमतिमा प्याजको निर्यात गर्न सकिने व्यवस्था भारतले गरेको छ । यस्तै यो प्रतिबन्धको अवधि लागु हुनुअघि प्रक्रियामा गइसकेको प्याज भने निर्यात गर्न पाउने व्यवस्था गरिएको छ । भारतीय बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो ८० (१२८ नेपाली रुपैयाँ) भारतीय रुपैयाँ पुगेको छ ।

भारत सरकारले गत अक्टुबरमा खुद्रा बजारमा प्रतिकिलो २५ भारतीय रुपैयाँका दरले प्याज बिक्री गर्ने निर्णय गरेको थियो । यस्तै २८ अक्टुबरदेखि ३१ डिसेम्बरसम्म प्याजको निर्यातमा ८ सय अमेरिकी डलर प्रतिटनको न्यूनतम् समर्थन मूल्य पनि कायम गरेको थियो ।

गत अगस्टमा भने प्याजको निर्यात शुल्कमा ४० प्रतिशत कर लगाएको थियो । वृद्धि भएको शुल्क ३१ डिसेम्बर (पुस १५ सम्म) कार्यान्वनयमा रहनेछ ।

भारतले प्रतिबन्ध लगाएको भन्दै अहिले नेपालका व्यापारीले प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गरेका छन् । एक साताअघिसम्म प्रतिकिलो ९७ रुपैयाँ रहेको प्याजको मूल्य अहिले १७० देखि २ सय रुपैयाँसम्म पुगेको छ ।

गत मंगलबारदेखि कालिमाटी तरकारी बजारसहित अन्य बजारमा व्यापारीले स्वदेशमा उत्पादन भएको आलु र प्याजमा समेत सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै आपूर्ति ठप्प पारेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएको आलु प्याजको कारोबारमा भने मूल्य अभिवृद्धि कर नलगाएको स्पष्ट पारिसकेको छ ।


क्लिकमान्डु