मादल बन्छन्, बिक्दैनन्, तिहारमा पनि ग्राहक कुर्दै व्यवसायी



बागलुङ । नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत संगीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत संगीत अपुरो हुन्छन् ।

नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन् । जब मादलको ताल बज्छ, तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ । मादलको बिक्री घट्दै गएकामा संगीतका पारखीमात्र होइन, मादल बनाउने व्यवसायी पनि चिन्तितमा छन् ।

यतिबेला गाउँ सहर जताततै तिहारको रौनक छ । पहिला-पहिला देउसी भैलो खेल्नेले बजाएको मादलको धुन परपरसम्म सुनिने गर्थ्यो तर हिजोआज मादल कम बज्ने गरेका छन् । तिहारमा देउसीभैलो खेल्ने टोलीहरुले एक महिनाअगाडि नै मादल किनिसकेका हुन्थे ।

दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्थे । तर, यस वर्ष भने तिहार भित्रिसके पनि मादल बिक्री नहुँदा बागलुङका मादल व्यवसायी चिन्तित बनेका छन् । नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो ।

विगतका वर्षहरुमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यतिबेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन् । तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय सकटमा पर्न थालेको हो ।

देउसी भैलो होस् या कुनै कार्यक्रम युवा पुस्ताहरु मोबाइल, डेक र ठूला-ठूला स्पिकरमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने नाचहरु पनि लोप भइसकेका छन् । आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ ।

एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरुको गुनासो छ ।

बागलुङका विभिन्न ठाउँहरुमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरु हिजोआज निकै चिन्तित बनेका छन् । पहिले-पहिले दसैँतिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल पनि विक्री नभएको स्थानीय पिरताम्बर दर्जी बताउँछन् ।

आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नको साथै परम्परागत बाजा लोप हुन थालेको दर्जीले बताए ।

विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ । बागलुङमा विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन् । हरेक चाडबाडका बेला उनीहरुले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ ।

युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन् । सत्ताइस वर्षदेखि मादल व्यवसाय गर्दै आएका दिलबहादुर नेपालीले सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो गरे ।

विगतमा तिहारका लागि वर्षभरि मादल बनाउने गर्ने र एक महिनामा बच्ने गरेको स्मरण गर्दै उनले पहिले बनाएका मादल बिक्री नहुँदा आजसम्म पनि गोदाममै थन्किएको सुनाए । मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ-गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नुपर्ने बताउँछन् ।

जिल्लाका १० वटै पालिकाले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने उनको भनाइ छ ।

विगतमा बागलुङका विभिन्न स्थानसँगै गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, पर्वत, म्याग्दी र बुटवल सम्मबाट मादलको माग आउँथ्यो । अचेल कतैबाट पनि माग नआउने उनले बताए । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने गरेको छ ।

मादलको माग घटेसँगै कच्चा पदार्थ पनि पाउन छोडेको नेपालीले बताए । अन्य समयमा भन्दा तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९५ प्रतिशतले कमी आएको छ । पहिले विदेश जानेहरुले पनि आफू कहाँबाट मादल किनेर लैजाने गरेको उनी सम्झिन्छन् ।

सूचना र प्रविधिको विकासका कारण मादल विक्रीमा कमी आएको धेरैको बुझाइ छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेपछि व्यवसायीहरु पनि पलायन हुने अवस्था आएको छ ।

अचेल देउसी भैलो खेल्नेले इलेक्ट्रोनिकक्स साउण्ड सिस्टम किन्ने गर्छन् । साउण्ड सिस्टमलाई न्यूनतम पनि पाँच हजार पर्छ । तर मादल दुई हजार पाँच सय रुपैयाँमै पाइन्छ ।

मादल सस्तो हुँदाहुँदै पनि देउसीभैलो खेल्नेहरुले स्पिकर र माइक्रोफोन किन्ने गरेका छन् । भैलो खेल्नेले पहिलेको जस्तो मौलिक गीत र नाच नदेखाउने स्थानीय ६७ वर्षीय दलबहादुर घर्ती मगरले बताए ।

उनले तिहारमा पुराना मौलिक गीत गाउने, मादल, झ्याली, बजाएर देउसी भैलो खेल्ने गरे पनि अचेल त्यो सबै हराउँदै गएको स्मरण गरे । आफ्ना पालामा तिहारका बेला सोरठी, मारुनीलगायतका नाचहरु देखाउने गरे पनि अहिलेका युवा पुस्ताले चासो नदिँदा त्यस्ता नाँचहरु हराउँदै गएको उनको भनाइ छ ।

सोरठी र मारुनी नाच गीत र मादलकै तालमा नाचिने घर्तीमगर बताउँछन् । आफूहरुको पुस्ताले नाच्न, गाउन र बजाउन नसक्ने भएपछि त्यस्ता मौलिक संस्कृति लोप हुँदै गएको घर्ती मगरको गुनासो छ । स्थानीय सरकारले पुराना कला संस्कृतिलाई संरक्षण गर्न चाहे बुढापाका मिलेर निःशुल्क सिकाउन सक्ने उनले बताए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नयाँ पुस्तालाई मौलिक संस्कृतिको संरक्षणमा आकर्षित गर्न पाठ्यपुस्तकमै स्थानीय स्तरमा रहेका कला, संस्कृति, परम्परालगायतका विषयवस्तु समावेश गरेर पठनपाठन सुरु गरेको बताए ।

‘कला संस्कृति लोप हुनबाट जोगाउनका लागि अहिलेदेखि नै युवा पुस्तालाई आकर्षण गर्ने खालका कामको थालनी गर्दै छौँ,’ उनले भने । पहिले यस क्षेत्रमा रहेका यानीमाया, सुनियाया, झ्याउरेलगायत मादलको तालमा गाइने गीतहरु लोप भएको अध्यक्ष बुढा मगरले बताए ।

युवा पुस्तालाई मौलिक संस्कृति संरक्षणमा अग्रसर गराउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको र कामसमेत भइराखेको उनको भनाइ छ ।


क्लिकमान्डु