तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात: घरै उज्यालो, सहरै उज्यालो



काठमाडौं । तिहार भन्नैबित्तिकै उज्यालोको पर्व भनेर बुझिन्छ । घर, पसल, कर्पोरेट हाउस, होटल तथा रेष्टुरा, आवासलगायत सफा बनाएर मनाइने यो पर्वलाई सरसफाइको पर्व पनि भनिन्छ ।

हिन्दु संस्कृतिअनुसार शनिबारदेखि देशभर उज्यालोको पर्व ‘तिहार’ मनाइँदै छ । घर र पसलमा लक्ष्मीको बास होस्, वर्षभरि आम्दानीको स्रोत राम्रो होस् भनेर मनाइने यो पर्व उज्यालोबिना खल्लो हुन्छ । उज्यालो र तिहार एक-अर्काका परिपुरक हुन् ।

ग्रामीण भेग जहाँ बत्ती पुगेको छैन, त्यहाँ अहिले पनि मटितेल, तोरीको तेल र डिजेलको प्रयोग गरी स-साना टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनबत्ती बालेर पनि घरआँगन उज्यालो बनाइन्छ ।

बत्ती पुगेका सहर बजारमा भने विभिन्न प्रकारका विद्युतीय बत्तीको महत्व हुन्छ । प्रत्येक घर, कार्यालय, महल, पसल, बगैंचा, होटल, रेष्टुँरालगायतमा विद्युतीय झिलिमिली बत्तीले उज्यालो बनाएर अँध्यारो रातलाई रंगीचंगी बनाइएको हुन्छ ।

त्यही भएर तिहारमा विभिन्न प्रकारले उज्यालो प्रदान गर्ने बत्तीको आयात, व्यापार र खपत अत्यधिक हुन्छ ।

झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झण्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । बाँकी छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

आयात साढे ४५ करोडको, व्यापार कम

कोभिडपछिका केही वर्षको तुलनामा यो वर्ष व्यापार उल्लेख्य हुने प्रक्षेपण गरेर व्यवसायीले विभिन्न मुलुकबाट साढे ४५ करोड रुपैयाँबराबरको झिलिमिली बत्ती आयात गरेका छन् । तर, त्यसअनुसार व्यापार नहुँदा उनीहरु खिन्न भएका छन् ।

महासंघका प्रथम उपाध्यक्ष रमेश देवकोटाका अनुसार आर्थिक मन्दी र सर्वसाधारणको क्रयशक्ति कमजोरका कारण यो वर्ष पनि व्यापार धेरै नहुने अवस्था देखापरेको छ ।

‘सामान भित्र्याएको तुलनामा यो वर्ष पनि व्यापार निक्कै कम भएको छ,’ उनले भने, ‘पाँच वर्षयता व्यापार निक्कै गुमेको छ । तुलनात्मक रुपमा यो वर्ष व्यापारमा सुधार होला भनेर सोचेका थियौं तर यो वर्ष पनि आर्थिक मन्दी र उपभोक्ताको क्रयशक्ति कमजोर भएर गत वर्षहरुकै अवस्थामा व्यापार हुने भएको छ ।’

तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अष्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछ ।

चीनबाट मात्रै पछिल्लो ३ महिनाको अवधिमा करिब ३९ करोड रुपैयाँबराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपैयाँबराबरको आयात भएको छ ।

महासंघका अनुसार गत वर्ष बैंकिङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निक्कै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् । त्यसअघि निरन्तर ३ वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो ।

गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको देवकोटाले बताए । गत वर्ष अन्तर्राष्ट्रिय बजारमै झिलिमिली बत्ती बनाउने कच्चा पदार्थ प्लास्टिक, कपर, पेट्रोलियम पदार्थलगायतको मूल्य अस्वाभाविक रुपमा बढेकाले लागत खर्च पनि अत्यधिक बढेर आएको थियो ।

महासंघका अनुसार २०७८ सालको तिहारका लागि ३५ करोडको झिलिमिली बत्ती आयात भएको थियो । यस्तै २०७७ सालको तिहारमा ५० करोड, २०७६ सालको तिहारताका करिब ७० करोड र २०७५ मा करिब १ अर्बको झिलिमिलि बत्ती आयात भएको थियो ।

‘यो वर्ष झण्डै ४५ करोडको झिलिमिली बत्ती आयात भए पनि बजारमा खासै माग बढेको छैन,’ देवकोटाले भने, ‘माग त्यति नबढ्दा तिहार आइपुग्दा पनि बजारमा चहलपहल बढेको छैन ।’

यो बेला खुद्रा व्यापारीसम्म करिब ८० प्रतिशत झिलिमिली बत्ती पुगिसक्नुपर्ने थियो । तर अहिलेसम्म खुद्रा व्यापारीले ५० प्रतिशतको हाराहारीमा मात्रै बत्ती उठाएको देवकोटाको भनाइ छ । खुद्रा विक्रेताले थोरै परिमाणमा बत्ती उठाएका कारण धेरै बत्ती बिक्री नभएर मौज्दात बस्ने उनले बताए ।

बजारमा कस्ता-कस्ता झिलिमिली

महासंघका अनुसार यो वर्ष बजारमा थोक मूल्य १७५ देखि २५ हजार रुपैयाँसम्मका झिलिमिली बत्ती उपलब्ध छन् । अधिकाँश उपभोक्ताले सबैभन्दा बढी लहरे झिलिमिली बत्ती नै खरिद गर्न रुचाउँछन् ।

तिहारको समयमा सबैभन्दा बढी झालर र लहरे बत्तीको प्रयोग हुने गरेको छ । ‘घरको अगाडिको भागलाई माथिदेखि तलसम्म छोप्ने गरी झालर बत्ती र लहरे बत्ती तथा रोप लाइट अत्यधिक बिक्री हुन्छ,’ देवकोटाले भने ।

यस्ता बत्तीलाई घर, पसल, कर्पोरेट हाउस, होटल, रेष्टुरा र सडकलगायतका स्थानमा झुण्ड्याएर र ओछ्याएर बालिने हुनाले बजारमा सबैभन्दा बढी यसैको कारोबार हुन्छ । लहरे झिलिमिली बत्ती विभिन्न डिजाइन, रंग र साइजमा बजारमा उपलब्ध छन् ।

डिजाइनअनुसार सयवटा लिड बत्ती भएको १० मिटरको लहरे झिलिमिली बत्तीलाई थोकमा १२० देखि १५० रुपैयाँसम्म मूल्य तोकिएको छ । यस्तै दुई सयवटा लिड बत्ती भएको २० मिटरलाई २५० देखि २७० रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।

लहरे झिलिमिली मुख्यगरी घर, पसल, कर्पोरेट हाउस, सडकमा झुण्डयाएर बाल्ने गरिन्छ । साढे २ तल्लाको घरमा १० मिटर र ३ देखि ५ तल्लाको घरलाई २० देखि ३० मिटरको लहरे झिलिमिली बत्तीले सजाएर बाल्न सकिने महासंघले जनाएको छ । लहरे झिलिमिली बत्तीको सरदर आयु २ देखि ३ वर्षको हुन्छ ।

यसबाहेक बजारमा अत्यधिक बिक्री हुने बत्तीमध्ये रोप लाइट पनि हो । अलि बढी खर्च गर्नेहरुले रोप लाइट प्रयोग गर्न रुचाउँछन् । प्लास्टिकको सेतो ट्युबभित्र लिड बत्ती भएको भिलिमिली बत्ती नै रोप लाइट हो । ट्युबको मोटाइ, लिड बत्तीको आकार र डिजाइनअनुसार प्रतिमिटर ६० देखि १५० रुपैयाँमा बजारमा रोप लाइट उपलब्ध छ । यो बत्तीको आयु सरदर ५ देखि ६ वर्षको हुन्छ ।

यसबाहेक बजारमा देवीदेवताको फोटोमा जडित झिलिमिली बत्तीको व्यापार पनि उत्तिकै हुन्छ । अहिले बजारमा इलेक्ट्रिक दियो पनि आएको छ । यो दियो पनि निक्कै चर्चामा छ । दियो बाल्न तेल नचाहिने भएपछि यसतर्फ आकर्षण बढेको हो ।

यो दियो बत्तीलाई १ हजार मूल्य तोकिएको छ । १ हजारमा १२ वटा दियो बजारमा किन्न पाइन्छ । यसबाहेक बजारमा सयौं डिजाइन र आकारका लिड बत्ती जडान भएको आकर्षक झिलिमिली बत्ती आयातकर्ता भएका छन् ।

अन्य समयभन्दा तिहारको समयमा लिड (एलईडी) बत्ती, डिस्को बत्ती, ६० लिड, १०० लिड, माला बत्ती, घुम्ने बत्ती र झिलिमिली झालर, लहरे, रोप लाइट, पाइप लाइटको व्यापार झण्डै ८० प्रतिशतले वृद्धि हुने महासंघले जनाएको छ ।

महासंघका अनुसार नेपालमा करिब ५ हजार व्यवसायीले विद्युतीय झिलिमिली बत्तीको व्यापार गर्छन् । राजधानीमा भने कोटेश्वर, बानेश्वर, महावौद्ध, असन, न्युरोडलगायतका स्थानमा यसको अत्यधिक व्यापार छ ।

प्रत्येक झिलिमिली बत्तीमा यो वर्ष ५० देखि ७५ रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । बत्ती तयार पार्न आवश्यक पर्ने कच्चा पदार्थको मूल्यवृद्धि र ढुवानी खर्च वृद्धि भएकाले बत्तीको मूल्य बढेको देवकोटाले बताए ।

बजारमा छैन खपत

महासंघका अनुसार यो वर्ष झिलिमिली बत्तीको खपत दर निक्कै घटेको छ । यो वर्ष खपत घट्दा झण्डै ४० प्रतिशतले बजार कम भएको छ । प्रथम उपाध्यक्ष देवकोटाका अनुसार देशभरमध्ये सबैभन्दा बढी खपत उपत्यकामा हुन्छ । आयात हुने झिलिमिली बत्तीमध्ये करिब ४० प्रतिशत उपत्यकाका जिल्लामा र बाँकी देशभरको जिल्लामा हुने गरेको उनको भनाइ छ ।

उपत्यकामा पनि नयाँ घर बनाउनेले सबैभन्दा बढी झिलिमिली बत्ती खरिद गरी घर सजाएर तिहार मनाएका कारण खपत बढी हुन्थ्यो ।

‘तर यो वर्ष निर्माण क्षेत्रमा पनि आर्थिक सुस्तताका कारण नयाँ घरहरु नबन्दा भिलिमिली बत्तीको खपत दर घटेको हो । यसबाहेक सर्वसाधारणको क्रयशक्ति निक्कै कमजोर हुँदा पनि खरिद गर्न आउनेको संख्या निक्कै घटेको छ,’ उनले भने ।


राजेश बर्मा