आधा घण्टाको दूरीमा विराटनगरमा हुँदाहुँदै धरानमा किन चाहियो विमानस्थल ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा नयाँ विमानस्थल बनाउन अध्ययन समिति गठन गरेर अर्को ‘स्टन्ट’ गरेका छन् । मन्त्री किराँतीले विमानस्थल बनाउन अध्ययन समिति गठन गर्न निर्देशन दिएलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको छ ।
बिहीबार नागरिक उड्डयन प्राधिकरणले प्रबन्धक इन्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा प्राधिकरणकै कर्मचारी अनिल बस्नेत र विमल खनाललाई सदस्य राखेर एक अध्ययन समिति बनाएको छ । प्राधिकरणले मन्त्रीको निर्देशनअनुसार तत्काल समिति गठन गरेर काम देखाउन अग्रसरतासमेत देखाइसकेको छ ।
दुई दिन अगाडि मात्रै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विमानस्थल निर्माणका लागि दशकौंदेखि जग्गा ओगटेर राखेकोले तत्काल निर्माण प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै पर्यटन मन्त्रीलाइ पत्र लेखेका थिए ।
धरानको डाँडाघोप्पामा निजी क्षेत्रको यती इन्कर्पोरेटले विमानस्थल निर्माणका लागि भन्दै स्थानीयसँग जग्गा खरिद गरेर राखेको छ । यतीले करीब ७ बिघा जग्गा खरिद गरेर राखेको छ । विमानस्थल निर्माण नहुने नहुने हो भने जग्गा फिर्ता दिलाइपाउँ भनेर धरान उपमहानरलाई स्थानीयले दबाब दिएपछि स्थानीय तहले चासो लिएको हो ।
धरानमा रहेको उक्ता जग्गामा यस अघि विमानस्थल निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययनबाट भौगोलिक रूपले अनपयुक्त हुने निष्कर्ष निस्किइसकेको थियो ।
आठ सय मिटरको मात्रै धावनमार्ग भएको साना जहाजको उडान तथा अवतरण गर्ने (एसटीओएल) विमानस्थल बन्ने निष्कर्ष प्राधिकरणले दिएको थियो ।
छोटो धावनमार्गको विमानस्थल सञ्चालन गरेर राज्यले लाभ लिन नसक्ने, नेपालमा साना विमान नभएको र निजी वायुसेवा ठूला विमानबाट एकैपटक धेरै यात्रुलाई सेवा दिन थाले पनि यो विमानस्थल उपयुक्त नभएको प्राधिकरणकै भनाइ छ ।
यो विमानस्थल विराटनगर विमानस्थलबाट ४० किलोमिटर भित्रै छ । अहिले विराटनरबाट आधा घण्टामा धरान पुग्न सकिन्छ । हवाई नीति २०६३ ले निकटस्थ विमानस्थबाट नयाँ विमानस्थल बनाउँदा तराईमा ४० नटिकल माइल हुनुपर्ने प्रावधान तोकेको छ । हिमाली र पहाडी क्षेत्रमा भने २० नटिकल माइलको दूरीमा अर्को विमानस्थल बनाउन सकिने उल्लेख छ ।
हवाई नीतिअनुसार नजिकको विमास्थलबाट तराई क्षेत्रमा अर्को विमानस्थल हुन कम्तिमा ४० नटिकल माइल अर्थात करिब ७२ किलोमिटर टाढा हुनुपर्छ । यो दूरीभन्दा छोटो भएकोले धरानमा विमानस्थल आवश्यक नभएको हवाई क्षेत्रका जानकारहरुको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम धरानमा विमानस्थल बनाएर मात्रै नहुने र त्यसलाई सञ्चालन गर्न लाग्ने खर्च व्यहोर्न सक्ने क्षमता पनि हुनुपर्ने तर्क गर्छन् ।
‘एक त विराटनरबाट आधा घण्टभित्रै सवारीको गन्तव्य भएकोले विमानस्थल आवश्यक नै पर्दैन,’ गौतमले भने, ‘धरानमा ८ सय मिटरको धावनमार्ग बन्ने प्रारम्भिक अध्ययन यस अघि नै भइसकेको छ । अहिले निजी वायुसेवा ठूला जहाज उडाएर नाफामुखि भइसकेको छ । साना जहाज कम हुँदै गएको र निगमभन्दा अरुले उडान नगर्ने भएकोले अब आवश्यक नै छैन ।’
धरानमा विमानस्थल नभइ पहिलो प्राथमिकता पानी रहेको उनले बताए । ‘धरानले अहिले पानी मागिरहेको छ विमानस्थल होइन । विमानस्थल बनाउने एक अर्ब रुपैयाँ खर्चले धरानमा दीर्घकालीन समयको लागि पानी खुवाउन सकिन्छ’ गौतमले भने ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल पनि विमानस्थल बनाएर कसले जहाज उडाउने ? विमानस्थल किन बनाउने ? आवश्यकता कति भन्ने पाटोबाट हेर्नुपर्ने बताउँछन् ।
‘भएकै विमानस्थल सञ्चालन गर्न नसकेको सरकारले आवश्यकता नै नदेखिएको स्थानमा बनाउन फेरि जोड गर्नुको औचित्य छैन’ उनले भने ।
बाटो नपुगेको, नजिक अर्को विमानस्थल थिएन भने धरानमा विमानस्थल आवश्यक हुने भए पनि अहिले त्यस्तो अवस्था नभएको उनको भनाइ छ ।
धरानमा कुनै पनि दृष्ट्रिले विमानस्थल आवश्यक नभएकोले अगाडि बढ्नुपर्ने आवश्यकता नै नभएको पनि कँडेलको भनाइ छ । ‘यदि विमानस्थल बन्यो भने त्यहाँ उडान गर्ने वायुसेवा पनि छैन । निजी नाफामुखि हुने भएकोले घाटामा सेवा दिन सक्दैनन् भने सरकारी वायुसेवा जहाज अभावले भएकै विमानस्थलमा पनि सेवा दिन सकिरहेको छैन’ उनले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भने स्थानीय सरकारबाट माग आएकोले सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले समिति गठन गरेको बनाउँछन् । निरौलाले भने ‘विमानस्थल निर्माण कुन स्थानमा गर्ने, हवाई नियम कानूनमा भएको व्यवस्था, नजिकको विमानस्थलसँगको साइनो, विमानस्थल निर्माण गर्न माग भएको ठाउँको अवस्थासहितका विषयमा अध्ययन हुने छ । अध्ययन हुँदैमा विमानस्थल बनिहाल्छ भन्ने छैन ।’
विमानस्थल चाहिने वा नचाहिने विषय अध्ययन समितिको प्रतिवदेनले नै स्पष्ट पार्ने पनि निरौलाले बताए ।
१८ विमानस्थल बन्द, पक्कि धावनमार्गमै उड्दैन जहाज
नेपालमा हाल ५७ वटा विमानस्थल छन् । ती विमानस्थलध्ये ३ वटा अन्तर्राष्ट्रिय र ५४ वटा आन्तरिक विमानस्थल रहेका छन् । यी विमानस्थल मध्ये धावनमार्ग कालोपत्रे भएका विमानस्थलको संख्या मात्रै ३७ वटा रहेको छ ।
प्राधिकरणले नयाँ विमानस्थल बनाउन अध्ययन समिति बनाइरहँदा भएकै विमानस्थल सञ्चालन हुन सकेका छैनन् । नागरिक उड्डयन प्राधिकरणकै तथ्यांकअनुसार अहिले १८ वटा विमानस्थल बन्द छन् । धावनमार्ग कालोपत्रे भएकादेखि कच्ची धावनमार्गका ती विमानस्थलमा जहाज नै देख्न नपाएको जुगौं भइसकेको छ । उडानयोग्य विमानस्थलमा पनि जहाज पुग्न सकिरहेको छैन ।
प्राधिकरणको तथ्यांकअनुसार हाल बाग्लुङ (बलेवा) विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मनिसेचौर विमानस्थल, जिरी विमानस्थल, काङ्गेलडाँडा विमानस्थल सञ्चालनमा छैन । गुल्मीको विमानस्थलमा भने केही समय अघिबाट वायुसेवा निगमले नियमित उडान थालेको छ ।
लाङटाङ विमानस्थल, मनाङ (हुम्डे) विमानस्थल, मेघौली विमानस्थल, महेन्द्रनगर विमानस्थल, पालुङटार विमानस्थल, रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल, टिकापुर विमानस्थल पनि बन्द अवस्थामा छन् । इलाम सुकिलुम्बा विमानस्थल, खिचि चण्डेश्वरी विमानस्थल, कालिकोट विमानस्थल र कमलबजार विमानस्थल अहिले पूर्ण रुपमा बन्द छन् ।