सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङबाट सेयर निष्कासन गर्न सेबोनको अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले सोमबार कम्पनीलाई प्रतिकित्ता ४०१ रुपैयाँका दरले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँसम्म निष्कासन गर्न प्रस्ताव गरेको थियो ।
सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो ।
बोर्डले भने ४०१ रुपैयाँ सेयर निष्कासन गर्न दिने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्ने छ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
बुक बिल्डिङ सम्बन्धि यो पहिलो र ऐतिहासिक निर्णय भएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।
बुक विल्डिङ विधिमार्फत धितोपत्र जारी गर्ने संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकले संस्थाको आधारभूत पक्ष तथा बजारको अवस्थाको विश्लेषण गरी निष्काशन मूल्य वा मूल्य सीमा तय गर्ने गरिन्छ ।
लगानीकर्ताले तोकिएको मूल्य सीमा भित्र वा न्यूनतम मूल्यभन्दा माथि धितोपत्र खरिदका लागि बोलकबोल गर्ने गरिन्छ । सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्यलाई ‘कट अफ प्राइस’ मानी उक्त मूल्य र सो भन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिन्छ ।
योग्य संस्थागत लगानीकर्तामा सूचिकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी, न्यूनतम १० करोड रुपैयाँ नेटवर्थ भएको कम्पनी हुनुपर्छ ।
योग्य संस्थागत लगानीकर्ताको कार्य गर्न चाहनेले बोर्डबाट स्वीकृती लिनुपर्ने छ । बुक विल्डिङ्ग विधिबाट धितोपत्र निष्काशन गर्दा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारण लगानीकर्ता छुट्याउनुपर्ने व्यवस्था छ ।
कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गरेको हुनुपर्छ । धितोपत्रको बिक्री मुल्य सिमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा र तल्लो सिमाको आधार मूल्य २० प्रतिशत घटाउँदा हुने हुने मूल्य कायम गर्नुपर्ने हुन्छ ।
आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य निर्धारित मूल्य सीमा भित्र परेमा वा सोभन्दा बढी भएमा बोलकबोल प्रक्रियामा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने छ ।
विवरणपत्र स्वीकृत भएको १० कार्य दिनभित्र योग्य संस्थागत लगानीकर्ताहरुलाई बिक्री मूल्य सीमाभित्र बोलकबोल गर्न आव्हानपत्र प्रकाशन गर्नुपर्ने छ ।
आव्हानपत्र प्रकाशन भएको सात कार्य दिन पछि बोलकबोलमा भाग लिन सक्ने व्यवस्था गर्नुपर्ने छ । बोलकबोल चार कार्य दिन संचालन गर्नुपर्ने छ भने कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशन हुने धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि प्रस्ताव पेश गर्न पाइने छैन् ।
निष्काशन कम्पनीसँग कुनै स्वार्थ बाझिने भएमा योग्य संस्थागत लगानीकर्ता बोलकबोल प्रक्रियामा सहभागी हुन पाउँने छैनन् । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको शत प्रतिशत रकम तोकिएको बैंक खातामा जम्मा गनुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ ।
बोलकबोल स्वचालित विद्युतीय प्रणालीमार्फत् गर्न सकिने छ । धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तालाई स्वचालित विद्युतीय बोल कबोल प्रणालीको युजर आइडि र पासवर्ड उपलब्ध गराउनुपर्ने छ । युजर आईडि र पासवर्डका लागि निवेदन दस्तुर १० हजार, वार्षिक नविकरण शुल्क ५ हजार रुपैयाँ तिर्नुपर्छ ।
योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको धितोपत्रको अंकित मूल्यको ०.१ प्रतिशत वा न्यूनतम २ लाख रुपैयाँ लाग्ने छ । स्वचालित विद्युतीय प्रणाली संचालनमा नआउन्जेल सिलबन्दीमार्फत् समेत बोलकबोल गर्न सकिने छ ।
निष्काशित सम्पूर्ण धितोपत्र बिक्री हुँदा कायम हुन आउने बोलकबोल मूल्य निर्धारण गर्नुपर्छ । कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा धितोपत्र बाँडफाँड गर्नुपर्ने हुन्छ । कट अफ मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने हुन्छ ।
कट अफ मूल्य भन्दा कम मूल्यमा बोलकबोल गर्ने बोलकबोलकर्तालाई धितोपत्र बाँडफाँट नगरिने र बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।
कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने छ । निष्काशन गरिने शत प्रतिशत धितोपत्र प्रत्याभूति गराउनुपर्ने छ ।
योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाडफाँट गरेको सात कार्य दिनभित्र संशोधित विवरणपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नुपर्ने छ । संशोधित विवरणपत्रमा कट अफ मूल्य, धितोपत्र बाडफाँट भएका योग्य संस्थागत लगानीकर्ताको नामावली, धितोपत्रको संख्या उल्लेख गर्नुपर्छ ।
योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र जारी गर्दा स्वीकृत भएको विवरणपत्रमा उल्लेखित संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय पनि उल्लेख गर्नुपर्छ । प्राप्त निवेदनको जाचबुझ गर्दा उपयुक्त देखेमा बोर्डले सात कार्य दिनभित्र विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने छ ।
बोर्डबाट विवरणपत्र स्वीकृत भएको सात कार्य दिनभित्र आव्हानपत्र प्रकाशन गरिसक्नुपर्ने र आव्हानपत्र प्रकाशन गरेको सात कार्य दिन भित्र धितोपत्रको बिक्री खुला गर्नुपर्ने छ ।
सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्नेछ । संगठित संस्थाले धितोपत्र बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाडफाँट गर्नुपर्ने व्यवस्था बुक विल्डिङ निर्देशिका २०७७ मा उल्लेख छ ।
सर्वसाधारणमा धितोपत्र निष्काशन, आवेदन तथा बाँडफाँट सम्बन्धी अन्य व्यवस्था धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ र धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा संचालन निर्देशिका, २०७४ बमोजिम हुनेछ ।
बुक विल्डिङ्ग विधि अनुसार धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थाले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिने धितोपत्र बाहेक सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिने धितोपत्रको प्रत्याभूति (अण्डरराइटिङ्ग) गराउनुपर्नेछ ।
योग्य संस्थागत लगानीकर्ताको रुपमा आवेदन दिई धितोपत्र बाँडफाँटमा परेका प्रत्याभूतिकर्ताले समेत प्रत्याभूति गर्न सक्नेछन् ।