दसैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु, कति पर्छ ?



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ ।

व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमबार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्यभन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न सुरु गरेको बताए ।

यो वर्ष ढुवानी भाडा महँगो भए पनि मूल्य वृद्धि नगरिएको उनले बताए । विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याँग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको उनले बताए ।

कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताए । उनले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको बताए ।

उनले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताए । प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटौंडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए ।

उनले सरकारले बजारको मागलाई पूरा गर्न भन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनको लागि आफैँ खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको बताए । उनले दशैंमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताए ।


क्लिकमान्डु