गोदाममा १८ हजार टन चिनी भण्डारण, कोक र पेप्सीले पैसा तिरिसकेको उद्योगीको दाबी



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी उद्योगले भण्डारण गरी राखेको १८ हजार ८ सय ५१ टन (१ लाख ८८ हजार ५ सय १३ क्वीन्टल) चिनी भण्डारण गरि राखिएको पाइएको छ । एभरेष्ट, इन्दुशंकर र हिमालय सुगर उद्योगको गोदाममा उक्त परिमाणमा चिनी भण्डारण गरी राखिएको फेला परेको विभागले जनाएको छ ।

सरकार र प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलले चिनीको विषयमा कडाइका साथ स्वदेशी उद्योग, आयातकर्ताको भण्डारण गृह, थोक बिक्रेताको गोदामलगायतमा विशेष अनुगमन गर्न निर्देशन दिएको अवस्थामा यो परिमाणमा चिनी भण्डारण गरिएको फेला परेको हो ।

विभाग उच्च स्रोतका अनुसार युरोपियन मापदण्डको सल्फर फ्रि भएको उच्च गुणस्तरको चिनी भण्डारण गरिएको फेला परेको हो ।

‘यो चिनी सर्वसाधारणले भान्छामा प्रयोगभन्दा कोक र पेप्सी बनाउन कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ,’ विभाग उच्च स्रोतले भन्यो,‘तैपनि बजारमा चिनीको चर्को अभाव भइरहेको बेला सर्वसाधारणलाई उपलब्ध गराउँदा राम्रै हुन्थ्यो भनेर कोक, पेप्सी लगायतका कम्पनीसँग छलफल गरेका थियौं । ती दुवै कम्पनीले उक्त चिनी आफ्नै उद्योगलाई आवश्यक रहेको भन्दै उपलब्ध गराउन मानेनन् ।’

विभागकाअनुसार छलफलको क्रममा सुरुमा ती दुवै कम्पनीले सर्वसाधारणको लागि उपलब्ध गराउन सकिने आशयका साथ साकारात्मक देखिएका थिए । तर पछि उक्त चिनी आफ्नै कम्पनीबाट उत्पादित उत्पादनका लागि आवश्यक रहेको भन्दै सर्वसाधारणका लागि उपलब्ध गराउन नमानेको विभागले जनाएको छ ।

कोक र पेप्सी कम्पनीले उक्त चिनी खरिद गर्न तीनवटै स्वदेशी चिनी उद्योगलाई रकमसमेत तिरिसकेको विभागले जनाएको छ।
‘पेप्सी, कोक लगायका कम्पनीले एडभान्स रकमसमेत उपलब्ध गराइसकेको अवस्थामा उक्त चिनी नियन्त्रणमा लिएर सर्वसाधारणको लागि बजारमा ल्याउन व्यवहारिक रुपमा नमिल्ने भएकाले यो विषयमा थप छलफल गरिरहेका छौं,’ विभागका उच्च अधिकारीले भने,‘त्यो चिनी भारतबाट आयात भएको होइन । हाम्रै स्वदेशी उद्योगबाट उत्पादन भएको हो । कोक र पेप्सीजस्ता पेयजन्य पदार्थ तयार पार्न सल्फर फ्रि युरोपियन मापदण्डअनुसारको चिनी आवश्यक पर्ने भएकाले स्वदेशकै केही उद्योगले त्यस्ता पेयजन्य पदार्थ उत्पादन गर्ने उद्योगको खपतका लागि उच्च गुणस्तरको चिनी उत्पादन गर्दैआएको हो ।’

कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल र पेप्सी उत्पादन गर्दैआएको बरुण बेभरेजले उक्त चिनी खरिद गर्न एडभान्स दिएको विभागले जनाएको छ । चिनी लुकाएर कृत्रिम अभाव सिर्जना गरि कालोबजारी भइरहेको गुनासोको आधारमा विभागले छुट्टै २ वटा टोली गठन गरि स्वदेशी उद्योग, आयातकर्ता, थोक विक्रेतालगायतलाई निगरानीको क्रममा यो परिमाणमा चिनी फेला परेको हो ।

बरामद ७० हजार किलो चिनी बजारमा पठाउने तयारी

सरकारले कालोबजारी गरेको अभियोगमा कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकको गोदामबाट असोज ८ गते बरामद गरेको १४ सय बोरा (७० हजार किलो) चिनी बजारमा पठाउने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत बजारमा पठाउने आन्तरिक तयारी गरेको हो ।

विभागको एक अधिकारीका अनुसार उक्त चिनी खान योग्य रहेकाले बजारमा बिक्री गर्ने उद्देश्यले कर्पोरेशनलाई उपलब्ध गराउने बिषयमा गृहकार्य भइरहेको छ । विभागले गृहेश्वरी ट्रेड लिंकमा छापा मारेर असोज ४ गते उक्त चिनी बरामद गरेको थियो । बरामद गरिएको चिनीको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा सुक्षम विश्लेष्णको लागि पठाइएको थियो ।

‘विभागले उक्त चिनी खान योग्य रहेको प्रतिवेदन दिएको छ,’ विभागका महानिर्देशक तीर्थराज चिलुवालले भने,‘खान योग्य भएको चिनीलाई बरामद भएकै प्रतिष्ठानलाई उपलब्ध गराउँदा उसले फेरी बढी मूल्यमा बिक्री गर्न सक्ने भएकाले लागत मूल्यमै साल्टलाई उपलब्ध गराउने बिषयमा छलफल भइरहेको छ ।’

विभागकाअनुसार लागत मूल्यमा ढुवानी खर्च र १–२ रुपैयाँ नाफा जोडेर कर्पोरेशनलाई बिक्री गर्न दिने बिषयमा तयारी भएको छ । दसैंमा बजारमा चिनीको अभाव नहुने भन्दै चिलुवालले कर्पोरेशनले छोटो प्रक्रियामा दसैंअघि नै १० हजार टन चिनी आयात गर्न लागेकाले उक्त चिनीले दसैंको बजार धान्ने दावी गरे ।

ठूलो परिमाणमा चिनी लुकाएर राखेको र अत्यधिक मूल्यवृद्धि गरी थोक तथा खुद्रा विक्रेतालाई बिक्री गर्दै आएको पाइएपछि गृहेश्वरी ट्रेड लिंकको गोदामसमेत सिलबन्दी गरिएको थियो । विभागका अनुसार व्यवसायी सन्तोष खेतानको नाममा रहेको उक्त व्यापारिक फर्मले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरी खुद्रा व्यापारीलाई बिक्री बिलविजकबिना नै महँगो मूल्यमा बिक्री गर्दै आएका थिए ।

खुद्रा व्यापार संघका अनुसार १२७ रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री गर्ने उक्त फर्मले विक्रेतालाई भने प्रतिकिलो १०५ रुपैयाँको बिक्री बिल उपलब्ध गराउँदै आएको थियो । उक्त फर्मले उखु क्रसिङ गरेको समयमा सस्तो मूल्यमा स्वदेशी उद्योगबाट चिनी खरिद गरी अहिले उच्च मूल्यमा बिक्री गर्दै आएको विभागले जनाएको छ ।


राजेश बर्मा