जुटको व्यापार मालामालः राजकुमार र गोल्छा अर्गनाइजेसनले गरे ९ महिनामै ५ अर्बको कारोबार



काठमाडौं । राजकुमार (आरके) गोल्छा ग्रुप र गोल्छा अर्गनाइजेसनको फाइबर र जुट बेच्ने कम्पनीले ९ महिनाको अवधिमा ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ५ अर्बको व्यापार गरेको हो ।

आरके ग्रुपको अरिहन्त मल्टी फाइबरले ९ महिनाको अवधिमा ३ अर्ब ८० लाख रुपैयाँको व्यापार गरेको छ भने श्री रघुपति जुट मिलले सोही अवधिमा १ अर्ब ९२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् १९९२ मा स्थापना भएको अरिहन्त कम्पनीले सन् २०२२ मा ३ अर्ब १ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ५ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ७८ करोड ७० लाख रुपौयाँ र सन् २०१९ मा ३ अर्ब ९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले हेसिन, स्याकिङ, ट्वाइन, क्यान्डीसलगायतका वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । वार्षिक २२ हजार ९८४ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले जुटजन्य वस्तु ठूलो मात्रामा भारतमा निर्यात गर्दै आएको छ । सरकारले उच्च निर्यात हुने वस्तुमा सन् २०१९ देखि अनुदानको व्यवस्था गर्दै आएको छ । जसले गर्दा निर्यात सकारात्मक रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विशेषगरी कच्चा पदर्था भारतबाट आयात गरी वस्तु तयार गर्दै आएको छ ।

त्यस्तै, ६५ प्रतिशत हिस्सा गोल्छा अर्गनाइजेशन, ३३ प्रतिशत अर्थ मन्त्रालय र २ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको श्री रघुपति जुट मिलले सन् २०२२ मा २ अर्ब ५८ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ३६ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब ३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले अल्पकालीन कर्जा गरी ६५ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।

रामलाल गोल्छाले शुरु गरेको जुट खेती, लिगेसी धानेका राजकुमार

१०१ वर्षभन्दा अघि रामलाल गोल्छा भारतबाट नेपाल छिर्दा बिराटनगरमा भर्खर वस्ती बस्दै थियो ।

त्यो बेला मोरङ, सुनसरीतिर जुटको खेती फस्टाएको थियो । रामलालले पनि आफ्नो जीविका चलाउन जुट खेती गर्नथाले ।

‘हजुरबुबाले जुट उत्पादन गरेर भारत निर्यात गर्नुहुन्थ्यो,’ २०४० सालमा बितेका आफ्ना हजुरबुका रामलालको व्यवसायबारे राजकुमारले भने, ‘उहाँले एकपटकमा ७५ हजार टनसम्म उत्पादन गर्नुभयो ।’

जुटको खेती लगाइरहेका रामलालले पछि ‘जुट प्रेस’ स्थापना गरे । जुट प्रेस भनेको एउटा मेसिन थियो, जसले ठूलो आकारमा रहेको जुटलाई प्रेसर थिएर सानो बन्डल बनाउने काम गर्थ्यो ।

अहिले हुलास मोटर्सको कारखाना रहेको रानीमा उक्त प्रेस राखिएको थियो ।

मुलुकमा राणा शासन थियो । कुनै पनि उद्योग व्यवसाय गर्न राणाको अनुमति लिनुपर्थ्यो । राणाको बोलीनै लाइसेन्स थियो ।

जुद्ध शमशेर विराटनगर घुम्न गएको बेला रामलालले बिराटनगरमा जुट मिल सञ्चालन गर्न भनेर अनुरोध गरे । रामलालको आइडियालाई उपयुक्त मान्दै जुद्ध शमशेरले ८६ वर्षअघि अनुमति दिए । र, जन्मियो ‘बिराटनगर जुट मिल’ ।

‘हजुरबुबासँग उद्योगमा हाल्ने पैसा थिएन,’ राजकुमार स्मरण गर्दै भन्छन्, ‘उहाँले अर्को एकजना पार्टनर ल्याउनु भएको थियो ।’

बिराटनगरका अरु केही व्यक्तिले सानो सानो रकम पनि त्यसमा लगाएका थिए ।

यो नेपालको पहिलो उद्योग थियो । बिराटनगर जुट मिल सञ्चालनमा आएपछि त्यस क्षेत्रमा अन्य उद्योग थपिए । जस्तो कि जुद्ध म्याच फ्याक्ट्री, केही कपडा उद्योग पनि आए ।

राजनीतिक कारणले बिराटनगर जुटमिल बन्द हुने, चल्ने भइरह्यो । पछिल्लो २० वर्षदेखि यो उद्योग बन्द छ । बिराटनगर जुटमिलमा गोल्छा परिवारको पनि २ प्रतिशतभन्दा कम सेयर थियो ।

‘त्यो बेला एलसी खोल्ने व्यवस्था थिएन,’ राजकुमार भन्छन्, ‘भारतबाट सामान ल्याउने काम हजुरबुबाले नै गर्नुहुन्थ्यो ।’

समान तेस्रो मुलुकसम्म निर्यात हुन्थ्यो ।

त्यसपछि विराटनगरमा नयाँ-नयाँ उद्योग सञ्चलनमा आउन थाले । जस्तो कि, जुद्ध म्याच उद्योग, अशोक टेक्सटाइल, केही वर्कशप पनि थपिए । बिराटनगरमा बाटो बनिसकेको थिएन । एक ठाउँबाट अर्को ठाउँमा पुन्न गाह्रो थियो । काठमाडौं पनि हिँडेर जानुपर्थ्यो ।

विराटनगर जुट मिल स्थापना भएको १० वर्षपछि रामलालकै आग्रहमा अर्को जुट मिल स्थापना भयो, श्री रघुपति जुट मिल्स । रघुपति जुट मिल्स बिराटनगरको १०औं उद्योग थियो ।

बिराटनगरमा १० वर्षमा १० वटा उद्योग स्थापना भएको राजकुमार बताउँछन् ।

यो उद्योग पहिला गोल्छा परिवारले नै चलाइरहेको थियो । पछि सरकारले जिम्मा लियो । सरकारले लिएपछि राम्रोसँग चल्न सकेन । बन्द नै भयो ।

सरकारी संस्थानहरु राम्रोसँग नचलेपछि २०४८ पछि राज्यले निजीकरणको नीति थियो । त्यसैक्रममा रघुपति जुट मिल्सलाई पनि निजीकरण गर्ने निर्णय सरकारले गर्यो ।

रघुपति मिलमा रामलाल गोल्छाको पसिना र लगानी थियो । त्यो त्यही नाताले पनि गोल्छा परिवारले आफूले पाउनु पर्ने भन्दै निजीकरण प्रक्रियामा भाग लियो ।

‘हजुरबुबाको लगानी छ भनेर हामीले बिड गरेका थियौं,’ राजकुमार भन्छन्, ‘त्योबेला ९ करोडमा सरकारको ६० प्रतिशत सेयर लिएका थियौं ।’

राजकुमार गोल्छा आज पनि यो उद्योग चलाइरहेका छन् । नेपालमा ७६ वर्षदेखि निरन्तर चलिरहेको उद्योग हो यो ।

हजुरबुबाले शुरु गरेको जुट उद्योगमा उनका बुबाले पनि निरन्तरता दिए । तेस्रो पुस्तामा आउँदा गोल्छा परिवारमा धेरै सदस्या ट्रेडिङदेखि विभिन्न व्यवसायमा लागिरहेको बेला राजकुमार भने जुट उद्योगमै रमाइरहेका छन् ।

‘हजुरबुबा र बुबाले लगाएको उद्योगलाई निरन्तरता दिनुपर्छ भन्ने मलाई लागेको थियो,’ राजकुमार भन्छन् ।

बिराटनगर जुट मिल र रघुपति जुट उद्योगको अनुभवबाट खारिएको गोल्छा परिवारले पछि अरिहन्त मल्टिफाइवर्स उद्योग स्थापना गर्यो । जुन उद्योग नेपालमा सबैभन्दा धेरै रोजगारी दिने भनेर चिनिन्छ ।

आज राजकुमारले रघुपति र अरिहन्त उद्योग चलाइरहेका छन् ।


क्लिकमान्डु