निक्षेप खोसाखोस बढेपछि ब्याजदर बढाउने तयारी, केही बैंकले कर्जाको ब्याज पनि बढाउँदै



काठमाडौं । वाणिज्य बैंकहरुले भदौमा कर्जा र निक्षेपको ब्याज बढाउने भएका छन् । विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले साउनमा निक्षेपको ब्याज बढाउने निर्णय गरेका बैंकहरुले निक्षेप खोसाखोस गर्न थालेपछि आफूहरुले पनि निक्षेपमा ब्याजदर बढाउनुपरेको बताएका हुन् ।

साउनमा एनएमबि, एनआइसी एशिया, प्राइम, नविल र कुमारी बैंकले ब्याजदर बढाएका थिए । साउनमा ब्याजदर बढाएका ५ वटा बैंकको आधार दर बढ्ने हुँदा ती बैंकले कर्जाको ब्याजसमेत बढाउने तयारी गरेका छन् ।

असार २८ गते नेपाल बैंकर्स संघले ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेपछि वाणिज्य बैंकहरुले आफूखुसी ब्याजदर तोक्ने निर्णय गरेका थिए । साउनमा ५ वटा बैंकले निक्षेपको ब्याजदर बढाउँदा ६ वटाले स्थिर राखेका थिए । यस्तै, ११ वटा बैंकले भने निक्षेपको ब्याज घटाएका थिए ।

साउनमा सबै बैंकको कर्जाको ब्याजदर भने घटेको थियो । वैशाखदेखि निक्षेपको ब्याजदर घट्दै गएकाले साउनमा सबै बैंकको आधार दर घट्दा कर्जाको ब्याजदर घटेको थियो । भदौमा केही बैंकको आधार दर बढ्ने भएकाले ती बैंकले कर्जाको ब्याज बढाउने तयारी गरेका हुन् ।

‘साउनमा निक्षेपको ब्याज बढाएका सबै बैंकले कर्जाको ब्याज बढाउने निश्चित छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘स्थानीय तहको धेरै निक्षेप राखेका राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसियालगायतका बैंकको पनि आधार दर बढ्ने हुँदा ब्याजदर बढ्न सक्छ ।’

असार मसान्तसम्म वाणिज्य बैंकहरुले स्थानीय तहको करिब १ खर्ब रुपैयाँ बिनाब्याजमा निक्षेप राखेका थिए । बजारमा लगानीयोग्य पुँजी पर्याप्त हुँदा रिभर्स रिपो जारी गर्दै वाणिज्य बैंकहरुलाई ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै अर्थ मन्त्रालयले साउनदेखि स्थानीय तहको निक्षेप गणना गर्न दिएको छैन ।

राष्ट्र बैंकले पनि अहिले बजारमा पर्याप्त तरलता भएको भन्दै स्थानीय तहको निक्षेप गणना गर्न दिन आवश्यक नरहेको लबिङ गरेको थियो । वाणिज्य बैंकहरुले भने स्थानीय तहको १०० प्रतिशत निक्षेप गणना गर्न पाउनुपर्ने माग गर्दै अर्थ मन्त्रालयमा निवेदन दिएका थिए ।

ब्याज तिर्नु नपर्ने पैसालाई निक्षेपमा गणना गर्न नमिल्ने हुँदा समग्रमा वाणिज्य बैंकको औसतमा ०.१५ देखि ०.२० प्रतिशतले आधार दर बढ्ने वाणिज्य बैंकका उच्च अधिकारीहरु बताउँछन् ।

अधिकांश बैंकले निक्षेपको ब्याज बढाउँदै

विगतमा वाणिज्य बैंकबीच भद्र सहमति हुँदा सबै बैंकले निक्षेपमा समान ब्याज दिने गरेका थिए । तर, बैंकर्स संघले भद्र सहमति तोड्ने निर्णय गरेसँगै बढी ब्याज दिने बैंकहरुले कम ब्याजदर रहेको बैंकबाट निक्षेप खोस्न थालेका छन् । साउनमा ब्याजदर घटाउँदा निक्षेप गुमाएका प्राय: बैंकले भदौमा ब्याजदर बढाउने तयारी गरेका छन् ।

निक्षेप खोसाखोस हुँदा बैंकहरुलाई कर्जा र निक्षेप अनुपात सीमाभित्र राख्न समस्या हुन थालेपछि साउनमा ब्याजदर घटाउने र स्थिर राख्ने निर्णय गरेका बैंकहरुले निक्षेपको ब्याज बढाउने तयारी गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

भदौमा निक्षेपको ब्याजदर बढाउँदा असोजमा कर्जाको ब्याजदर बढ्नेछ । हाल राष्ट्र बैंकले प्रत्येक महिना कर्जा र निक्षेपको ब्याजदर संशोधन गर्न सकिने व्यवस्था गरेको छ । जसले गर्दा बैंकहरुले लागत बढ्दा कर्जाको ब्याज बढाउने र लागत घट्दा कर्जाको ब्याज घटाउने गर्छन् ।


रवि धिताल