आपूर्तिकर्ता र खरिदकर्तालाई जोड्ने ‘विस्तार ट्रेड’



काठमाडौं । केही दशकअघि र अहिलेमा उत्सव गोयलको जीवनमा थुप्रै कुराहरु परिवर्तित छन् । तर, त्यो समय र अहिलेको समयमा उनमा एउटा समानता भने यथावत् छ, जुन फेरिएको छैन । उनलाई बाल्यकालबाटै व्यवसायमा रुचि थियो ।

पारिवारिक पृष्ठभूमि पनि व्यापारिक नै भएकाले त्यसको प्रभावमा हुर्किए उत्सव । अध्ययन पनि त्यही क्षेत्रसँग सम्बन्धित भएर गरे। व्यवसाय नै गर्छु भन्ने लक्ष्य लिएर आएका उनले अहिले ‘विस्तार ट्रेड (www.vistaartrade.com)’ लाई बृहत बनाउन काम गरिरहेका छन् ।

उत्सवकै शब्दमा भन्दा ‘विस्तार ट्रेड’ व्यवसायलाई व्यवसायसँग जोड्ने प्लेटफर्म हो । नेपाली बजारमा देखिरहेको समस्या र त्यसको समाधान गर्ने सोचसहित यसको सुरुवात गरेको बताउँछन् । उनी भन्छन्, ‘यो नेपालका लागि एकदमै महत्वपूर्ण प्रोडक्ट डिस्कभरिलिटी प्लेटफर्म हो ।’

समाधान गर्ने समस्याको पहिचान भएपछि नै नयाँ सोचको सुरुवात हुन्छ भन्ने कुरा उत्सवमा पनि लागू हुन्छ । अध्ययनका लागि भारतमा हुँदा विस्तार ट्रेडको सोच आएको थियो उनलाई । उत्सवलाई उनीभन्दा सिनियरले आफूसँग रहेर रिसर्चकाे काम गर्न प्रस्ताव गरेपछि उनी त्यसमा आवद्ध भएका थिए ।

‘त्यसबेला उहाँको एउटा उत्पादन गर्ने कम्पनी थियो र उहाँले सप्लायर्स र खरिदकर्ता खोज्नुपर्ने थियो,’ उनी भन्छन्, ‘हामीले त्यसबेला रिसर्च गर्दा धेरै बि टु बि (व्यवसायदेखि व्यवसायसम्म)का प्लेटफर्महरु पायौं । अलिबाबा, उडानजस्ता थुप्रै यस्ता अनलाइन प्लेटफर्म थिए ।’

भारत र विश्वमा नै यस्ता किसिमका प्लेटफर्मको उपस्थिति देख्दा नेपालमा किन यो छैन भन्ने लागेको बताउँछन् उनी । नेपालका लागि पनि यस्तो प्लेटफर्मको आवश्यकता महसुस गरे उनले । त्यसलाई थप साथ उनकै अनुभवले पनि दिएको थियो । नेपालमा लोडसेडिङ हुँदाको समयमा उत्सवका एक जना आफन्तले केही कन्टेनर सोलर प्यानल आयात गरेका थिए । तर, सामान ल्याउनु र नेपालमा लोडसेडिङको अन्त्य हुनु लगभग उस्तै-उस्तै समयमा भयो ।

‘विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउनुभयो र लोडसेडिङ ६ महिनाभित्रमै सफाचट भयो,’ उनी सम्झिन्छन्, ‘सोलर प्यानलको माग पनि घट्यो । उहाँहरुले खरिद गर्ने मान्छे नै पाउनुभएन । अरु आयातकर्ताहरुले बेचिरहेका थिए तर उहाँहरुले बेच्न सक्नुभएन । कनेक्सनहरु चाहिन्छ भन्ने देखिएको थियो ।’

उत्सवलाई यो अनुभवले पनि नेपालमा सप्लायर्स (आपूर्तिकर्ता) र बायर्स (खरिदकर्ता)बीच सम्बन्ध स्थापित गर्ने प्लेटफर्म चाहिन्छ भन्ने थप पुष्टि गरेको थियो । नेपालभरिका सप्लायर्स र खरिदकर्ता दुवैलाई एउटै ठाउँमा ल्याउन सकेमा त्यहाँबाट एक-अर्कालाई सम्पर्क गर्न सक्ने, आफूलाई आवश्यक भएको सामानबारे बुझ्न सक्ने सहजता हुन्छ भन्ने उनले महशुस गरे ।

समस्या थियो । समस्यालाई समाधान गर्ने सोच थियो । र, समाधान गर्ने उपाय पनि । उत्सवलाई लाग्यो, अहिल्यै गर्नुपर्छ र मैले नै गर्नुपर्छ । उनी भन्छन्, ‘आज मैले सुरु नगरेमा भोलि कसै न कसैले ल्याउने नै हो भन्ने लाग्यो । त्यसैले किन यही नगर्ने भन्ने लाग्यो। सकेसम्म चाँडो र अहिले नै सुरु गरौं भन्ने मेरो योजना थियो ।’

सन् २०२० मा जन्म भएको विस्तार ट्रेडको सोचले मुर्त रुप लिन सुरु गरेको थियो । बीचमा केही समय भने प्रोजेक्टलाई ‘होल्ड’ पनि गर्नुपरेको सुनाउँछन् उनी ।

‘२०२० बाट सोच्न थालेका थियौं । विस्तारै हामीले वेबसाइट बनाउन थाल्यौँ,’ उत्सव भन्छन्, ‘बीचमा केही समय प्रोजेक्ट रोक्नुपरेको थियो । अहिले २०२३ मार्चबाट पुनः सुरु गर्‍यौं । अप्रिलबाट आक्रामक रुपमा काम गरिरहेका छौं ।’

‘विस्तार ट्रेड’मा उत्सव एक्लै छैनन् । उनका सहसंस्थापक आशुतोष आचार्यले उनलाई साथ दिइरहेका छन् ।

उत्सव सक्रिय क्षेत्र कमर्स थियो । अध्ययन पनि त्यही, साथीभाइ पनि त्यही क्षेत्रकै । आईटी वा प्रविधिको क्षेत्रमा उनको खास सम्बन्ध पनि थिएन । कोभिड महामारी व्याप्त थियो । लकडाउनका बीच उनी पनि घरमा नै थिए । व्यवसाय गर्नु नै थियो उनलाई। ‘विस्तार ट्रेड’को सुरुवात गर्न ठीक समय ठाने उनले । तर, आफू कमर्स क्षेत्रको भएकाले उनलाई प्रविधि बुझ्ने र त्यो क्षेत्रकै मान्छेको साथ चाहिएको थियो ।

उत्सवले त्यो साथका लागि आफूले जीवनभरमा चिनेका, जाने सबैलाई विभिन्न सामाजिक सञ्जालबाट म्यासेज गरे । फेसबुक, लिंक्ड इन सबै तिरबाट साथीभाइलाई आफूलाई आईटी क्षेत्रको सहसंस्थापक चाहिएको भन्दै म्यासेज पठाए । म्यासेज पठाइएका कयौं इनबक्समध्येमा एक इनबक्सबाट उनलाई केही दिनमा आफूले खोजेकै किसिमको मान्छेबाट रिप्लाई आयो ।

‘मैले सोच्दै नसोचेको मान्छेबाट यो रिप्लाई आएको थियो,’ उनी भन्छन्, ‘त्यसपछि मैले आशुतोष आचार्यलाई भेटें । हामीले फोनमा नै कुरा गर्‍यौं । एक-अर्कालाई विश्वास गरेर जे हुन्छ गर्दै जाऊँ भनेर सुरु गर्‍यौं ।’

व्यावसायिक पाटोहरुबारे उत्सव सोच्छन्, प्राविधिक पाटोबारे आशुतोष । उत्सव नेपालमै रहेर गरिरहेका छन् भने आशुतोष अध्ययनका लागि अहिले अमेरिकामा छन् । त्यहीँबाटै उनले प्राविधिक पाटोलाई सम्हालिरहेका छन् ।

सामान होइन, सेवाको व्यापार

विस्तार ट्रेडको वेबसाइटमा लगइन गर्ने हो भने थुप्रै सामग्री त्यहाँ देख्न सकिन्छ । तर, ती सामान खरिद गर्न भने वेबसाइटबाट मिल्दैन । विस्तार ट्रेडले सामान बिक्री होइन, सम्बन्ध स्थापित गर्ने काम गरिरहेको बताउँछन् उत्सव ।

धरानबासी उत्सव आफ्नै उदाहरणसहित कम्पनीको बिजनेस मोडल सम्झाउँछन् । काठमाडौंमा कसैलाई कुनै पनि क्षेत्रको सामान चाहियो भने बजारमा जाने र छानेर सहजै किन्न सकिन्छ । केही किलोमिटरको दूरी मात्रै टाढा हुन्छ यस्तो ठाउँ । तर, धरानबासी भएको नाताले आफूले कुनै उद्योग लगाउन चाहेमा र त्यसका लागि आवश्यक मेसिनहरु खरिद गर्न चाहेमा उत्सव आफू नै काठमाडौं आउनुपर्ने बाध्यता हुने बताउँछन् । उनी भन्छन्, ‘कता जाने, कहाँ खोज्ने भन्ने झझन्ट हुन्छ ।’

विस्तार ट्रेडले यही समस्याको समाधान गर्छ । सप्लायर्सहरु पाउन गाह्रो हुने अवस्थामा विस्तार ट्रेडको वेबसाइटमा गएर खरिदकर्ताले आफूलाई चाहिएको सामान हेर्न सक्छन् । कसले बेचिरहेको छ भनेर बुझ्न सक्छन् । र, बिक्री गर्ने सप्लायर्ससँग आफैंले सम्पर्क गरेर आफूलाई आवश्यक रहेको सामानमा ‘डिल’ गर्न सक्छन् । विस्तार ट्रेडले दुई बीचको सम्बन्धलाई स्थापित गराउने काम गर्ने गरेको बताउँछन् उत्सव ।

‘विस्तार ट्रेड भनेको यस्तो ई-कमर्स मार्केटप्लेस हो, जहाँ कुनै पनि भेन्डर, प्रायः आयातकर्ता, उत्पादक वा सप्लायर्सले आफ्नो कुनै पनि सामानलाई लिस्ट गर्न सक्नुहुन्छ,’ उनी भन्छन्, ‘यहाँबाट नेपालमा भएका धेरै संख्यामा सामान किन्ने व्यावसाय पाउन सक्नुहुन्छ वा आफ्नो प्रचार गर्न सक्नुहुन्छ । सेल्स रिचहरु पाउन सक्नुहुन्छ थुप्रै । यो नेपालका लागि एकदमै महत्वपूर्ण ‘प्रोडक्ट डिस्कभरिलिटी’ प्लेटफर्म हो ।’

विस्तार ट्रेडले प्रिमियम बिजनेस मोडलमा काम गरिरहेको बताउँछन् उत्सव । वेबसाइटमा आएर जोसुकै सप्लायर्सहरु पनि रजिस्टर हुन सक्छन् । सामान्य कानुनी कुरा उपलब्ध गराउँदैमा विस्तार ट्रेडमा रजिस्टर हुन सकिन्छ । यसको कुनै शुल्क लाग्दैन ।

प्रिमियम सुविधाको हकमा भने केही शुल्क लाग्ने गर्छ । विस्तार ट्रेडले सब्सक्रिप्सन मोडलमा काम गरेर यस्ता सुविधा उपलब्ध गराउने बताउँछन् उत्सव । भन्छन्, ‘यससँगै हाम्रोमा एउटा सेलर पेज भन्ने छ । सप्लायर्सले आफ्नो सामान अपलोड गरेपछि उहाँहरुकै क्याटलग बनेर आउने एउटा सुविधा हामी दिन्छौं ।’

यस्तो क्याटलगमा निश्चित सप्लायर्सको मात्रै सामान रहने गर्छ । त्यस्तै, विस्तार ट्रेडमा अर्को सुविधा ‘प्रिमियम लिड्स’ भन्ने पनि विशेषता छ । कुनै खरिदकर्ताले आफूलाई आवश्यक परेको सामानको माग गर्दै पोस्ट गर्न सक्छन् वेबसाइटबाट नै । उत्सव भन्छन्, ‘यस्तो माग गरिएका कुरा प्रिमियम सप्लायर्सहरुलाई मात्रै जान्छ ।’

नि:शुल्क सेवा लिने सप्लायर्सहरुले वेबसाइटमा आफूले बिक्री गर्ने सामान राख्न सकिने तथा वेबसाइट प्रयोग गर्ने खरिदकर्ताले देख्न सक्ने सेवा उपलब्ध हुने उत्सव बताउँछन् ।

कम्पनीको आम्दानी यही ‘प्रिमियम’ सेवा लिनका लागि तिरिले सब्सक्रिप्सन शुल्क हो । उत्सव भन्छन्, ‘अहिले हामीले कम्पनी पनि सस्टेन हुनका लागि वार्षिक ५ हजार रुपैयाँ शुल्क लिइरहेका छौं ।’

अनलाइन भन्नासाथ व्यवसायहरुमा झन्झटिलो होला भन्ने सोच रहन्छ नेपाली बजारमा । त्यसका लागि पनि विस्तार ट्रेडले सब्सक्रिप्सन लिने सप्लायर्सका लागि २ सयवटा प्रोडक्ट्सलाई आफैंले वेबसाइटमा राखिदिने सुविधा पनि दिएको बताउँछन् उत्सव ।

विस्तार ट्रेडलाई ‘विस्तार’ गर्ने लक्ष्य

विस्तार ट्रेड अहिले हुर्कंदै छ । नेपाली बजारमा सप्लायर्स र खरिदकर्तालाई साथमा ल्याएपछि विस्तारलाई थप विस्तार गर्दै लैजाने सोच छ उत्सवको ।

हाल विस्तार ट्रेड १५० जना सब्सक्रिप्सन लिएका सप्लायर्स छन् । दैनिक २ हजार प्रयोगकर्ताले वेबसाइटको प्रयोग गर्ने गरेको बताउँछन् उत्सव । मार्केटप्लेस मोडलको व्यवसाय भएकाले सप्लायर्स नभएमा खरिदकर्ता नआउने र खरिदकर्ता नभएमा सप्लायर्स नआउने समस्या नहोस् भनेर काम गरिरहेको बताउँछन् उत्सव ।

आफूहरु नै बाहिर निस्किर सप्लायर्सहरुसँग कुराकानी गरेर रजिस्टर गराउँदै आएको उनले बताए । उनी भन्छन्, ‘अफलाइनबाट हामीले अहिले विस्तार गरिरहेका छौं । अनलाइनबाट आफैं देखेर आउनुहुनेहरु पनि केही हुनुहुन्छ । तर, उहाँहरु फ्रि सर्भिस युज गर्दै हुनुहुन्छ ।’

सुरु गरेपश्चात विस्तार ट्रेडमा करिब २० लाख लगानी गरिएको बताउँछन् उत्सव । ९ जनाको टिमले काम गरिरहेको छ ।

व्यवसाय र प्रविधिलाई एकसाथ लिएर काम गरिरहेका उत्सवले लक्ष्य ठूलो राखेका छन् । भोलि त्यो होला-नहोला आफ्नै कुरा, तर गन्तव्य भने पूर्वनिधारित गरेर हिँडेका छन् उनी । विस्तार ट्रेडलाई नेपालमा बृहत बनाएपश्चात् अन्य देशमा पनि लैजाने उनको सोच छ ।

‘म टेक बिजनेस गर्नेहरुको जीवनी पढेर धेरै इन्सपायर भएको छु,’ उनी भन्छन्, ‘टेक बिजनेसमा एक पटक सफ्टवेयर बनाउने र नेटवर्क बनायो भने भोलि स्केलअप गर्न समस्या हुँदैन । आवश्यक पूर्वाधार सुरुवात गर्न कठिन छ । धेरै समय लाग्छ । तर, एक पटक भएपछि यसलाई जति पनि ठूलो बनाउन सकिन्छ ।’

आफ्नो योजना विस्तार ट्रेडलाई नेपालमा मात्रै सीमित नराखेर विभिन्न देशमा लैजाने बताउँछन् । यी देशमा पनि यस्तो प्लेटफर्म आवश्यक रहेको उनले पाएका छन् ।

उनी भन्छन्, ‘मैले यो मोडल नेपालमा बनाएर काम गरेपछि यसलाई नै अरू देशमा पनि यसलाई रेप्लिकेट गर्न सहजै सकिन्छ । सुरु गर्न केही गाह्रो होला । तर, एकपटक सफ्टवेयर बनिसकेपछि जति नै व्यवसायलाई जोड्दा पनि मेरो लागत धेरै हुँदैन । मैले बाल्यकालबाट देखेको सपना र मोटिभेसन पनि यही नै हो ।’


युवराज भट्टराई